सिरिया आक्रमणबारे हालसम्म प्राप्त जानकारी
- अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियामा संयुक्त रूपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन्। यो कारबाही गत शनिवार सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरी गरेको भनिएको आक्रमणको प्रत्युत्तर भएको बताइएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले साझेदार राष्ट्रहरूले "बर्बरता र क्रूरताविरुद्ध उचित शक्ति प्रयोग" गरेको बताएका छन्।
- अमेरिकाका अनुसार दमास्कसमा रहेको एउटा अनुसन्धान केन्द्र र होम्सनजिकै रहेका दुई भण्डारण केन्द्र गरी तीन स्थानलाई लक्ष्य गरेर आक्रमण गरिएको थियो।
- रुसले अरू स्थानलाई पनि लक्षित गरी क्षेप्यास्त्र प्रहार भएकाेमा अधिकांश क्षेप्यास्त्रहरू सिरियाली हवाई प्रतिरक्षा प्रणालीले छेकिदिएको बताएकाे छ।
- भ्लादिमिर पुटिनले हवाई आक्रमणलाई "हस्तक्षेपकारी कार्य" भन्दै तत्कालै संयुक्त राष्ट्रसङ्घको बैठक बोलाउनु पर्ने माग गरेका छन्। अमेरिकाका लागि रुसका राजदूत आनाटोली आन्टोनोभले आक्रमणको दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
- सिरियाको सरकारी सञ्चारमाध्यमले हवाई आक्रमण "अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलंघन" भएको बताएको छ।
- ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले हवाई आक्रमणलाई "उचित र वैधानिक" भन्दै त्यसो गर्नुको विकल्प नभएको बताएकी छन्।
- मेले सिरियाको डुमामा भएको भनिएको रासायनिक आक्रमणलाई ब्रिटेनको साेल्जबरीमा रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि स्नायुप्रणालीलाई असर पार्ने रसायन प्रयोग गरी भएको आक्रमणसँग जोड्दै भनिन् - "तिनले (आक्रमणहरूले) रासायनिक अस्त्र प्रयाेगकाे मापदण्डकाे अनादर गरेका छन्।"

तस्बिर स्रोत, AFP

















