भारतमा रगतको अनौठो प्रयोगः प्रेमदेखि विरोध प्रदर्शनसम्म

तस्बिर स्रोत, Getty Images
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
भारतमा एक दशकभन्दा बढी समयदेखि एउटा गैरनाफामुखी संस्थाले आफ्ना सदस्यहरूले दान गरेको रगतबाट चित्रहरू बनाउँदै आएको छ।
दिल्लीमा रहेको शहीद स्मृति चेतना समितिले क्रान्तिकारी र शहीदहरूप्रति सम्मान जनाउन त्यस्ता २५० भन्दा बढी चित्रकला बनाइसकेको छ।
त्यस्ता कलाकृतिहरू धेरैजसो आश्रम, साना संग्रहालयहरूलाई दिइने गरिन्छ र प्रदर्शनीहरूमा राखिन्छ।
"रगतसँग विभिन्न प्रतीकहरू जोडिएका छन्। मानिसमाझ राष्ट्रभक्ति जगाउन हामी चित्रहरूमा रगतको प्रयोग गर्छौँ। बालबालिकामाझ देश प्रेमको भावना घट्दै गएको छ," शहीद स्मृति चेतना समितिका प्रमुख प्रेमकुमार शुक्लले भने।
उक्त समितिका संस्थापक रविचन्द्र गुप्ताले आफ्नो स्वास्थ्यमा समस्या नआउँदासम्म १०० वटा चित्रहरू बनाउनका लागि रक्तदान गरेका थिए।
"मानिसहरूलाई आकर्षित गर्न र उनीहरूको ध्यान तान्न मैले यो सुरु गरेँ। मानिसहरू रगतबाट बनाइएका व्यक्तिचित्रहरू बारे निश्चय नै चासो राख्छन्। रगतले संवेदनाहरूलाई जगाउँछ," सन् २०१७ मा निधन हुनुअघि गुप्ताले एउटा अन्तर्वार्तामा भनेका थिए।
उनका उत्तराधिकारी प्रेम कुमार शुक्ल ५० वर्षीय विद्यालय शिक्षक र कवि हुन्।
उनी एक्लैले अहिलेसम्म १०० वटा चित्रकलाका लागि रक्त दान गरेको दाबी गरे।
उनीजस्ता दाताहरू स्थानीय प्रयोगशालामा जान्छन् जहाँ उनीहरूको रगत लिइन्छ। रगत जम्न वा बाक्लो हुन नदिन एक पदार्थ मिसाइन्छ र ५० मिलिलिटरको बोटलमा राखिन्छ अनि चित्रकारहरूलाई दिइन्छ।
सामान्यतया १०० मिलिलिटर रगतले दुईदेखि तीन वटा चित्र बनाउन पुग्ने शुक्ल बताउँछन्। "हाम्रो चित्रकलाका लागि म वर्षमा चार पटकसम्म रक्तदान गर्छु।"
शुक्लका अनुसार रगतबाट बन्ने चित्रकला भारतको स्वतन्त्रता संग्रामका एक नायक तथा नेताजीका नामले प्रख्यात सुवासचन्द्र बोसको “मलाई रगत देउ म तिमीलाई स्वतन्त्रता दिन्छु” भन्ने अभिव्यक्तिबाट प्रेरित भएको हो।
बोसले ब्रिटिश शासन विरुद्ध लड्नका लागि 'भारती सेना' खडा गरेका थिए।
भारतमा रगतको राजनीति गहिरो रूपमा रहेको छ।
रगत र राजनीतिको सम्बन्धबारे लेखिएको 'हेमाटोलोलिज' भनिने पुस्तकमा लेखक जेकब कोपम्यान र द्वैपायन बेनर्जीले महात्मा गान्धीले पनि निरन्तर रूपमा आफ्नो रक्तचाप अनुगमन गरिरहने गरेको र उनले रगतका बारेमा धेरै नै चासो राखिरहने गरेको लेखेका छन्।

तस्बिर स्रोत, Getty Images
रगत उपनिवेश विरोधी बिम्ब पनि हो। विश्वकै चर्चित अहिंसावादी नेता गान्धीले भारतीयहरूसँग “औपनिवेशिक हिंसाको द्वेष र भ्रष्टाचारलाई प्रतिवाद गर्ने रगत” हुने विश्वास गरेका थिए।
सन् १९४८ मा हत्या भएको दिन गान्धीले लगाएको र उनको रगतको दाग लत्पतिएको लुगा दक्षिण भारतस्थित मदुरइमा एउटा सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ। "रगतको विम्ब – त्यसलाई निकाल्ने र बलिदान दिने – विषय भारतीय राजनीतिक बहसमा व्याप्त छ," कोपम्यान र बेनर्जीले लेखेका छन्।
बफादारी र बलिदानीको विम्ब रगत हुनु अचम्मलाग्दो कुरा होइन।
प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर समर्थकले उनको चित्र आफ्नो रगतमा बनाएका छन्।
रगत विरोध प्रदर्शनमा पनि प्रयोग हुँदै आएको छ। सन् २०१३ मा गुजरातस्थित एक गाउँका १०० भन्दा बढी महिलाले नरेन्द्र मोदीलाई रगतले चिठ्ठी लेखेर पठाएका थिए। नयाँ सडक बनाउने योजनाका लागि आफ्नो जग्गा अधिग्रहण गरिने भएपछि त्यसको विरोधमा उनीहरूले त्यस्तो चिठ्ठी लेखेका थिए। तर उक्त पत्रको जवाफ प्रधानमन्त्रीले नदिएको उनीहरूले बताए।
उत्तर प्रदेशमा पनि एक किशोरीले आफ्नी आमालाई जिउँदै जलाइएको भन्दै न्याय माग्नका लागि अधिकारीहरूलाई आफ्नो रगतले पत्र लेखेर दिएकी थिइन्।
ज्याला थप गर्ने माग गर्दै प्रदर्शनकारीहरूले पनि निवेदन रगतकै प्रयोग गरेर लेखेका घटना छन्।
केहीले ध्यानाकर्षणका लागि प्रेम पत्र पनि रगतमा लेख्ने गरेका छन्।
मानिसहरू भ्रष्टाचार बढेको वा सरकारी सेवामा भएको समस्याबारेका मुद्दा उठाउँदा पनि राजनीतिज्ञहरूले “जनताको रगत चुसेको” भनेर विम्बका रूपमा गुनासो गर्छन्।

तस्बिर स्रोत, Getty Images
सन् १९८८ मा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले आफ्ना समर्थकहरूलाई पश्चिम बङ्गालमा ऊर्जा केन्द्र बनाउनका लागि पैसा उठाउन आफ्नो रगत बेच्न भनेको थियो।
सङ्घीय सरकारसँग लगानीसम्बन्धी विवादका कारण त्यसो भनिए पनि जम्मा हुन गएको रगत भण्डार गर्ने ठाउँ नहुँदा पछि फाल्नुपरेको थियो र उक्त ऊर्जा केन्द्र जापानले दिएको ऋणबाट सम्पन्न भएको थियो।
त्यही समयताका कोलकातामा दाताहरूको एउटा समूहले आर्थिक रूपमा कमजोर एउटा चिकित्सा संस्थालाई सहयोग गर्न रगत बेचेका थिए। त्यसको १० वर्षपछि रगत बेच्ने कार्यलाई प्रतिबन्ध लगाइयो।
राजनीतिक दलहरूले सर्वसाधारणको ध्यान खिच्न रक्तदान कार्यक्रमहरू आयोजना गर्छन्। हेमाटोलोजिज पुस्तकका लेखकलाई ब्लडब्याङ्कका एक जना अधिकारीले त्यसरी राजनीतिक दलहरूले आयोजना गर्ने शिविरहरू “भयानक हुने किनभने त्यहाँ ‘म नेतालाई खुसी पार्न चाहन्छु’ भन्नेबाहेक बाहेक अन्य कारण नहुने” बताएका थिए।
रगत स्पष्ट रूपमा उपयोगी प्रतीक हो।

तस्बिर स्रोत, Getty Images
"रगत जातको शुद्धतासँग जोडिएको छ। साथै ऐतिहासिक रूपमा पनि रगतमा लेख्ने भन्ने कुरा पुरुषत्वसँग जोडिएको विषयका रूपमा रहँदै आएको देखिन्छ। रगतलाई बफादारीको पनि उच्चतम प्रतीकका रूपमा पनि हेरिन्छ," समाजशास्त्री सञ्जय श्रीवास्तवले भने।
आधुनिक भारतमा भने महिलाहरूले महिनावारीसँग जोडिएका विविध सामाजिक निषेधसम्बन्धी धारणहरू भङ्ग गर्न पनि रगतको प्रयोग गर्ने गरेका छन्।
रगतको प्रयोगले मानिसहरूको तत्कालै ध्यान खिच्छ र पहिचान पनि दिन्छ।
सन् २००४ मा करातेका एक प्रशिक्षकले चेन्नइमा तामिलनाडु राज्यकी तत्कालीन मुख्यमन्त्री जयललिताको ५७ वटा चित्र आफ्नै रगतमा बनाएका थिए।
शिहान हुसैनीका लागि चेन्नइमा कराते प्रशिक्षणस्थलका लागि जग्गा चाहिएको थियो र उनले मुख्यमन्त्रीसँग समय मागेका थिए । “उहाँले मलाई आफ्नो निवासमा लिएर जानुभयो र जग्गाका लागि दश लाख डलर दिने बाचा गर्नुभयो,” हुसैनीले हेमाटोलोजिज पुस्तकका लेखकहरूलाई बताएका छन्।
उनले रगतबाट बनाइने कला “प्रचारको माध्यम, सञ्चार र नीति निर्माणको निर्णयलाई प्रभाव” पार्ने माध्यम भएको बताए।








