भारतमा पहिलाभन्दा कम सीटसहित नरेन्द्र मोदीको गठबन्धन बहुमततर्फ

मोदी

तस्बिर स्रोत, Reuters

    • Author, साइमन फ्रेजर
    • Role, एशिया अनलाइन सम्पादक, लन्डन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन जारी मतगणनामा आरामदायी रूपमा अगाडि बढिरहेको देखिएको छ। तर प्रारम्भिक नतिजाअनुसार 'एक्जिट पोल' ले देखाए जसरी ठूलो बहुमत ल्याउन नसक्ने देखिन्छ।

मोदीको भारतीय जनता पार्टी बीजेपी नेतृत्वको गठबन्धनले कुल ५४३ सीटमध्ये २९० भन्दा बढीमा अग्रता कायम गरेको छ।

कङ्ग्रेस र त्यसमा आबद्ध विपक्षीहरूको गठबन्धनले २२० भन्दा बढी सीटमा अग्रता लिएको छ।

हालसम्मको नतिजाअनुसार विपक्षी गठबन्धनले देखाएको बलियो उपस्थितिबाट चाहिँ धेरै विश्लेषकहरू अचम्ममा परेका छन्।

संविधानमा परिवर्तन

मोदी वाराणसीबाट आरामदायी बहुमतले विजयी भएका छन्।

तर उनको दल भारतीय जनता पार्टी बीजेपीले बहुमत ल्याउन नसक्ने देखिएको छ जसलाई हिन्दू राष्ट्रवादी नेताका लागि आश्चर्यजनक धक्काको रूपमा हेरिँदै छ।

बीजेपी समर्थक

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बीजेपी समर्थक

भावी सरकार गठनबारे बीजेपीका प्रवक्ता सय्यद जाफर इस्लाम भन्छन्, “हामीले सरकार गठन गर्नेमा कुनै शङ्का छैन। सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गर्नुहुनेछ र हामीले सुधारका योजनाहरूलाई निरन्तरता दिइनेछौँ।”

विपक्षी नेता राहुल गान्धी पनि ठूलो मत अन्तरले विजयी भएका छन्।

यसै सप्ताहन्तमा 'एक्जिट पोल' हरूले बीजेपी नेतृत्वको एनडीएले व्यापक बहुमत ल्याउने र उनीहरूले संविधानमा परिवर्तन गर्न सक्ने देखाएका थिए।

ऐतिहासिक रूपमा लगातार तेस्रो कार्यकाल सम्हाल्ने प्रयासमा रहेका प्रधानमन्त्री मोदीले बीजेपीका लागि ३७० सीट र गठबन्धनका लागि ४०० सीटको लक्ष्य राखेका थिए।

यो निर्वाचनलाई सत्तामा एक दशक बिताएका र विभिन्न क्षेत्रमा रूपान्तरण गरेका मोदीमाथि धेरैले जनमत सङ्ग्रहको रूपमा हेरेका छन्।

प्रारम्भिक मतपरिणामपछि कङ्ग्रेसको मुख्यालयमा पार्टी कार्यकर्ताहरूले खुशियाली मनाइएका देखियो।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार भारतीय आमनिर्वाचनमा औसतमा ६६ प्रतिशत मतदाताले मतदान गरेका थिए।

सुरक्षा तथा बन्दोबस्तीसम्बन्धी व्यवस्थापनका कारण गत एप्रिलदेखि जून १ तारिखसम्म सात चरणमा मतदान भएको थियो।

विश्लेषक आश्चर्यमा

अधिकांश मतदान प्रचण्ड गर्मीबीच भएको थियो जति बेला भारतका कतिपय क्षेत्रमा ५० डिग्री सेल्सिअसको आसपास तापक्रम पुगेको थियो।

बीजेपी र उसका प्रतिद्वन्द्वीहरूले एकदमै तिक्ततापूर्ण चुनावी अभियान चलाएका थिए।

'मुस्लिमहरूको अपमान गरेको भन्ने आरोप' विपक्षीहरूले लगाउँदा मोदीले 'आफू विभाजनकारी भएको भन्ने आरोप अस्वीकार गरेका' थिए।

कङ्ग्रेस समर्थक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कङ्ग्रेस समर्थक

चुनावी अभियानका क्रममा मोदीले लोककल्याणकारी कार्यक्रम र विश्वमा भारतको परिचय बुलन्द पारेको लगायतका उपलब्धि हासिल गरेको दाबी गरेका थिए।

अर्कोतर्फ विपक्षीहरूले खासगरी युवा बेरोजगारीका बारेमा र बीजेपीले बहुमत ल्याएमा संविधानमा परिवर्तन ल्याई सीमान्तकृतका अधिकार कटौती गर्न सक्ने चर्चा गरेका थिए।

उनीहरूले भारतलाई “निरङ्कुशतातर्फ जान नदिने” वाचा गरे।

कैयौँ विपक्षी नेताहरू तथा सरकारका आलोचकहरू पछिल्ला वर्षमा जेलमा परेका छन्। तिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि छन्।

मोदीले के भने?

मोदी

तस्बिर स्रोत, ANI

मतगणना जारी रहँदा पहिलो पटक प्रतिक्रिया दिँदै मोदीले जनताले एनडीएप्रति तेस्रो पटक विश्वास जाहेर गरेको भन्दै आभार प्रकट गरेका छन्।

उनले “भारतीय इतिहासमा यो एउटा अभूतपूर्व क्षण” भएको टिप्पणी गरेका छन्।

मोदीले भनेः “म देशवासीहरूलाई विश्वास दिलाउन चाहन्छु कि उनीहरूका आकाङ्क्षा पूरा गर्नका निम्ति म नयाँ ऊर्जा, नयाँ उमङ्ग, नयाँ सङ्कल्पका साथ अगाडि बढ्नेछु।”

पार्टीका नेता तथा कार्यकर्ताप्रति पनि उनीहरूले गरेका मेहनतप्रति उनले कृतज्ञता जाहेर गरेका छन्।

राहुल गान्धीले के भने?

राहुल

तस्बिर स्रोत, INC

विपक्षी नेता गान्धीले मतदाता, गठबन्धनका सहयात्री दल लगायतलाई धन्यवाद दिँदै आफूहरूको लडाइँ संविधान जोगाउनका लागि भएको बताएका छन्।

उनले भनेः “…जनता प्रधानमन्त्री मोदीलाई अदानीसँगै सीधै जोडेर हेर्छन्। उनीहरूबीच सोझो सम्बन्ध छ। भ्रष्टाचारको सम्बन्ध छ। चुनावले नरेन्द्र मोदीलाई मन नपराउने गरेको देखाएको छ।”

गान्धीले उत्तर प्रदेशका जनताले कमाल गरेका टिप्पणी पनि गरे। उनले भनेः “हिन्दुस्तानका नागरिकले खतरा बुझेर संविधानको रक्षा गरेका छन्। तपाईँहरूलाई धन्यवाद!”

बहुमतका लागि २७२

भारतीय राज्य

भारतको लोकसभामा ५४३ सदस्य हुन्छन्। कुनै दलविशेष वा गठबन्धनलाई बहुमत पुर्‍याउन २७२ सीट चाहिन्छ।

लोकसभाका सदस्यहरू पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुन्छन् र प्रत्येक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ।

‘अनुसूचीकृत जाति’ र ‘अनुसूचीकृत आदिवासी’ समुदायका लागि १३१ वटा सीटको आरक्षण छ।

ती समूहलाई पछि परेको समुदायका रूपमा मान्यता दिइएको छ र उनीहरूले भारतको जनसङ्ख्याको एकचौथाइ भागको प्रतिनिधित्व गर्छन्।

भारतले एकतिहाइ सीट महिलाका लागि छुट्ट्याउने कानुन पनि अनुमोदन गरेको छ। यद्यपि त्यो अझै कार्यान्वयनमा आइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।