अमेरिका र ईयूबीच महत्त्वपूर्ण व्यापार सम्झौता, कसलाई कस्तो फाइदा

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लायन सम्मिलित उच्चस्तरीय वार्ताहरूपछि अमेरिका र युरोपेली सङ्घ (ईयू)बीच एउटा महत्त्वपूर्ण व्यापार सम्झौता भएको छ।
त्यसअन्तर्गत ईयूका सबै सामानमा पहिला अनुमान गरिएकोभन्दा कम अर्थात् १५ प्रतिशत अमेरिकी आयात शुल्क लाग्ने व्यवस्था समेटिएको छ भने अमेरिकामा महत्त्वपूर्ण युरोपेली लगानी गर्ने तथा अमेरिकी सामान खरिद गर्ने वाचा गरिएको छ।
ब्रसल्सले उक्त समझदारीले स्थायित्व ल्याउने प्रतिक्रिया दिएको छ, तर विश्लेषकहरूले त्यसबाट ईयूको सीमित प्रभाव रहेको कुरा उदाङ्गिएको टिप्पणी गरेका छन्।
सम्झौताका लागि ट्रम्प आफैँ सक्रिय भएका थिए। उनको प्रशासनले यो सम्झौतालाई आफ्नो ठूलो उपलब्धि मानेको छ। यद्यपि यो सम्झौता युरोपेली आयोगकी अध्यक्षका लागि पूर्ण पराजय हैन।
दुवै पक्षका लागि यो महत्त्वपूर्ण मानिएको छ। ईयूले यसलाई "संसारको सबैभन्दा ठूलो द्विपक्षीय व्यापारिक तथा लगानीको सम्बन्ध" भनेको छ। धेरै व्यापार र रोजगारी यसमा निर्भर हुने छन्।
आर्थिक वृद्धि सुस्त हुने

तस्बिर स्रोत, Reuters
उनीहरूका अनुसार आर्थिक वृद्धि सुस्त हुने निश्चितप्रायः छ। यद्यपि आर्थिक मन्दीलाई पन्छाउन सकिने देखिन्छ।
अगस्टको १ तारिखसम्म सम्झौतामा नपुगेमा दर्जनौँ मुलुकहरूले अमेरिकी आयात शुल्क झेल्नुपर्ने चेतावनी दिएका छन्।
युरोपेली नेताहरूले अमेरिका र ईयूबीच भएको पछिल्लो सम्झौताको सावधानीपूर्वक स्वागत गरिरहेका छन्।
जर्मन चान्सलरले उक्त सम्झौताले ईयूको आधारभूत हितलाई संरक्षण गरेको बताएका छन्। यद्यपि आयात शुल्क घटाउने माग आफूले जारी राख्ने उनको भनाइ छ।
इटलीकी प्रधानमन्त्रीले सम्झौता सकारात्मक भएको बताएकी छन्, तर यथेष्ट धारणा बनाउनुअघि त्यसमा विस्तृत रूपमा हेर्ने उनको धारणा छन्।
आयरल्यान्डका प्रधानमन्त्रीले सम्झौताले स्थायीत्व ल्याउन सघाउने बताएका छन्, तर पहिलाभन्दा अब व्यापार महँगो हुने उनले स्वीकार गरेका छन्।
स्थायित्व ल्याउने अपेक्षा

तस्बिर स्रोत, Getty Images
पछिल्लो सम्झौतासँगै विश्वका दुई ठूला आर्थिक साझेदारहरूबीच महिनौँदेखि जारी तनाव अन्त्य भएको छ।
यसअघि ट्रम्पले ईयूबाट गरिने आयातमा ३० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए।
उनले केही निश्चित उत्पादनहरूमा शून्य शुल्कसहित अमेरिकी निर्यातकर्ताहरूका लागि २७-सदस्यीय ईयूले आफ्नो बजार खोल्ने बताएका छन्।
युरोपेली आयोगकी अध्यक्ष लायनले विश्व व्यापारको करिब एकतिहाइ हिस्सा ओगट्ने दुई साझेदारहरूका लागि सम्झौताले स्थायित्व ल्याउने भन्दै त्यसको प्रशंसा गरेकी छन्।
डोनल्ड ट्रम्पले वैश्विक अर्थतन्त्रलाई नयाँ दिशा दिन तथा अमेरिकी व्यापार घाटा कम गर्ने प्रयासमा महत्त्वपूर्ण व्यापार साझेदारहरूविरुद्ध आयात शुल्क लगाइरहेका छन्।
ईयूका साथै उनले यूके, जापान, इन्डोनेशिया, फिलिपिन्स र भियतनामसँग व्यापार सम्झौता गरेका छन्। यद्यपि "९० दिनमा ९० सम्झौता" गर्ने आफ्नो लक्ष्य उनले हासिल गर्न सकेका छैनन्।
स्कट्ल्यान्डको पाँचदिने भ्रमणमा रहेका ट्रम्पले बैठकपछि भनेः "हामी एउटा सम्झौतामा पुगेका छन्। त्यो सबैका लागि जाती छ। त्यसले हामीहरूलाई अझ नजिक ल्याउने छ।"
"कठिन वार्ताहरूपछि" लायनले एउटा "ठूलो सम्झौता" भन्दै प्रशंसा गरिन्।
ट्रम्पका अनुसार युरोपेली सङ्घले ६०० अर्ब अमेरिकी डलर बराबरको खर्चेर लगानी बढाउने छ भनेर ऊर्जा क्षेत्रमा ७५० अर्ब डलर लगानी गर्ने छ।
रुसमाथि निर्भरता घट्ने
अमेरिकी प्राकृतिक ग्यास, तेल तथा परमाणु ऊर्जामा आगामी तीन वर्षमा गरिने उक्त लगानीले रुसी ऊर्जा स्रोतहरूमाथि कायम युरोपेली मुलुकहरूको निर्भरता घटाउन मद्दत गर्ने लायनले बताइन्।
सम्झौताअनुसार विमान तथा विमानका पार्टपुर्जा, निश्चित किसिमका रासायन र केही कृषिजन्य उत्पादनहरूमा आयात शुल्क लाग्ने छैन।
सेमिकन्डक्टरहरूको हकमा छिटै एउटा छुट्टै सम्झौताको घोषणा हुन सक्छ।
तर एल्युमिनिअम र स्टील आयातमा विश्वभरि लगाएको ५० प्रतिशत अमेरिकी कर कायम रहने ट्रम्पले स्पष्ट पारेका छन्।
गत वर्ष ईयू र अमेरिकाबीच कुल ९७६ अर्ब डलर बराबरको व्यापार भएको थियो। अमेरिकाले ईयूबाट ६०६ अर्ब डलर बराबरका सामान आयात गरेको थियो भने ३७० अर्ब डलरको निर्यात गरेको थियो।
यो असन्तुलन अथवा व्यापार घाटा ट्रम्पका लागि एउटा महत्त्वपूर्ण मुद्दा रहेको छ। यस्तो व्यापार सम्बन्धको अर्थ अमेरिका "हारिरहेको" भनी उनको कथन रहिआएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








