पुरुषमा हुने प्रजनन स्वास्थ्य समस्याः विज्ञ चिकित्सक र सेवाको अभाव

शुक्रकीट

तस्बिर स्रोत, Getty Images

    • Author, विनिता दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

नेपालमा प्रजनन स्वास्थ्यका सम्बन्धमा महिलाहरूका लागि विभिन्न समस्याका उपचारको व्यवस्था सहज उपलब्ध भएपनि पुरुषहरूका लागि छुट्टै सेवाको अवधारणा विस्तारै विकास हुन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औपचारिक रूपमा हालै मात्र पुरुषहरूको प्रजनन स्वास्थ्यबारे सातामा दुई दिन उपचार सेवा दिन सुरु गरेको बताएको छ।

अनौपचारिक रूपमा गत वर्षदेखि नै दिइँदै आएको बताइए पनि औपचारिक रूपमा भने हालसालैबाट सेवा दिन थालिएको त्यसका फोकल पर्सन तथा युरोलोजिस्ट डाक्टर भोजराज लुईँटेलले बताएका छन्।

विदेशमा पुरुषको प्रजनन स्वास्थ्यको उपचारका लागि एन्ड्रोलोजिस्ट हुने भए पनि नेपालमा एकजना पनि त्यस्तो चिकित्सक नभएको डाक्टर लुइँटेलले बताए।

कस्ता समस्या लिएर आउँछन् पुरुष?

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर शतीशकुमार देवले एन्ड्रोलोजिस्टका रूपमा एकजना पनि डाक्टर दर्ता नभएको बताए।

"हाम्रो कन्टेक्स्टमा युरोलोजीका डाक्टरले नै एन्ड्रोलोजी हेर्नुहुन्छ। आवश्यकता नपरेकै जस्तो लाग्छ मलाई। माग बढ्यो भने पक्कै पनि डाक्टरहरू आउलान्। तर अहिलेसम्म नभएको चाहिँ हो," उनले भने।

"पुरुषमा बाँझोपन बढ्दो मात्रामै छ। पुरुषको प्रजनन स्वास्थ्यबारे समस्या पनि बढ्दो छ।"

प्रचारप्रसारको कमी र मनोसामाजिक कारणहरूले गर्दा पुरुषहरू आफ्नो प्रजनन स्वास्थ्यको उपचारका लागि हत्तपत्त आउने नगरेको अनुभव चिकित्सकहरूको रहेको छ।

नेपालमा पुरुष प्रजनन स्वास्थ्यको उपचार खासगरी मूत्ररोग विशेषज्ञ (यूरोलोजिस्ट)ले गर्दै आएका छन्।

शिक्षण अस्पतालमा पनि यूरोलोजिस्टहरूले नै उपचार गर्दै आएको डाक्टर लुईँटेलले बताए।

यूरोलोजी अन्तर्गत नै एन्ड्रोलोजीको केही क्रेडिट कोर्स आफूहरूले पढ्ने गरेको र छुट्टै एन्ड्रोलोजी विषय पढ्नका लागि नेपालमा कोर्स नभएको उनले बताए।

त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागले यौन दुर्बलता, पुरुषमा हुने बाँझोपन, यौन तथा मनोसामाजिक समस्या, होर्मोन असन्तुलन, प्रजननमा हुने अन्य खालका समस्याको उपचार गरिने बताएको छ।

उपचारमा आउने बिरामीको स्थिति हेर्दा धेरैमा शारीरिक समस्याका कारण यौन दुर्वलता र बाँझोपना देखिने गरेको पाइएको डाक्टर लुईँटेलले बताए।

लुईँटेलका अनुसार पुरुषमा यौन दुर्वलता निम्त्याउने मुख्य कारण उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, थाइरोइडजस्ता होर्मोन हुन्।

अध्ययनले पुरुष प्रजनन स्वास्थ्यबारे के देखायो?

जनस्वास्थ्यविद् डाक्टर खेम कार्कीले महिला र शिशुको स्वास्थ्यमा धेरै ध्यान दिइँदै गर्दा पुरुषको स्वास्थ्य उपचारको विषय भने छायाँमा परेको अध्ययनबाट पाइएको बताए।

"हामीले गरेको एउटा राष्ट्रिय अध्ययनमा यौन दुर्बलता भएका मानिसहरूको सङ्ख्या बढेको पाइयो," उनले भने।

"७० प्रतिशत वयस्क पुरुषहरू र ६७ प्रतिशत वयस्क महिलाहरूमा यौन दुर्बलताको समस्या भएको पाइयो।"

यदि हामीले पुरुषको स्वास्थ्यबारे उपचार गर्न थालेनौँ भने यसले सामाजिक द्वन्द्व रअपराधहरू बढ्ने पुरुषको यौन जीवनसँग पनि जोडिएको देखियो।

विज्ञानले बाँझोपन वा सन्तान नजन्मनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबरी जिम्मेवार हुने देखाए पनि नेपाली समाजमा महिलालाई मात्रै कारण मानिने र पुरुषलाई त्योसँग जोडेर नहेरिने गरेको डाक्टर कार्कीले बताए।

"सन्तान नहुनुमा एक तिहाइ महिलाको कारण हुन्छ, एक तिहाइ महिला पुरुष दुवैको कारण हुन्छ र बाँकी एक तिहाइ पुरुषको कारण हुन्छ। तर हामीले पुरुषको एक तिहाइ कारणलाई त कतै पनि सम्बोधन नै गरेका छैनौँ," उनले भने।

समाजको त्यस्तो बुझाइले गर्दा धेरैजसो पुरुषहरूले प्रजनन स्वास्थ्य समस्यालाई स्विकार नगर्ने र उपचार खोज्ने पनि नगरिएको देखिएको उनले बताए। कतिपयलाई त पुरुष प्रजनन उपचार सेवा हुन्छ र उपचार गर्ने ठाउँ छ भन्ने थाहा नभएको पनि डाक्टर कार्की बताउँछन्।

उनले भने, "नि:सन्तान हुनुमा पुरुषको पनि भूमिका हुन्छ र भन्ने अझै पनि हाम्रो समाजमा त्यस्ता कुराहरू छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।