विदेश पढ्न जान आवश्यक पर्ने एनओसी लिन ‘समस्या’

तस्बिर स्रोत, Getty Images
नेपालबाट विदेशमा अध्ययन गर्न जान आवश्यक पर्ने सरकारले सहमतिपत्र नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) वितरणमा उत्पन्न अवरोध चौथो दिन आंशिक रूपमा हल भएको अधिकारीहरूले जनाएका छन्।
शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले गर्दै आएको एनओसी वितरण सर्भरमा आएको समस्याका कारण अवरुद्ध हुन पुगेको थियो।
मन्त्रालयको आईटी हेर्ने उपसचिव सुभाष ढकालले भने, “डेटा रिकभर गर्नुपर्ने थियो, अब सेवा सुरु भएको छ।”
तर पूर्ण क्षमताअनुसार एनओसी विवरणमा केही दिन 'समस्या' रहने बताइएको छ।
शुक्रवार र शनिवार पनि समस्या समाधान नभएपछि आइतवार कार्यालय पुगेका विद्यार्थीहरू आक्रोशित भएका थिए। उनीहरूले नाराबाजी समेत गरेका थिए।
वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख उपसचिव शान्तिराम पौडेलले भने, “आइतवार त घुइँचो धेरै थियो, अवस्था असामान्यजस्तै थियो।”
पूर्ण क्षमताअनुसार वितरण गर्न समय लाग्ने
सोमवार कार्यालय समयपछि पनि २०० जति विद्यार्थीहरू लाइनमा रहेको र उनीहरूलाई सेवा दिइएको वैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख उपसचिव शान्तिराम पौडेलले बताए।
उनले दिएको जानकारीअनुसार समस्या आउनु केही दिनअघिसम्म सरदर दैनिक ७०० जनाले एनओसी लिएका थिए।

तस्बिर स्रोत, moest.gov.np
त्यो सङ्ख्या कुनै दिन १,५०० सम्म पुगेको थियो।
तीन दिन उत्पन्न समस्याले गर्दा एनओसी लिन चाहनेहरू र दिने काम दुवैमा चाप बढ्ने बताइएको छ।
कतिपय विद्यार्थीहरूलाई फेरि आवेदन दिन लगाइएको, प्राविधिक रूपमा उपलब्ध दस्तावेजहरूमा काम भएको र सिस्टमले सपोर्ट गरेका नयाँ आवेदनअनुसार एनओसी जारी भइरहेको अधिकारीहरूले जनाएका छन्।
उपसचिव पौडेलले भने, “हामीले सक्दो ढङ्गले अनुमतिपत्र वितरण गर्ने प्रयास गरिरहेका छौँ, तर यो चाप केही दिन रहन सक्छ।”
विगतमा अनलाइनबाट आवेदन दिएपछि स्वीकृत आवेदकहरूलाई सूचना गएअनुसार उनीहरू पत्र लिन कार्यालय जाने गर्थे।
त्यसले गर्दा पछिल्ला दिनहरूमा एनओसी वितरण सहज बनेको थियो।
विदेश जाने विद्यार्थी बढ्दै
शिक्षा मन्त्रालयका सूचना अधिकारी समेत रहेका उपसचिव शङ्कर अधिकारीले दिएको जानकारीअनुसार साउन १ गतेदेखि मङ्सिर १६ गतेसम्मको साढे चार महिनामा ३८,५६६ वटा एनओसी दिइएको छ।
क्यानडाका लागि ९,००० जनाले, जापानका लागि झन्डै ८,५०० जनाले, अस्ट्रेलियाका लागि झन्डै ७,००० जनाले, ब्रिटेनलका लागि ५,००० जनाले र अमेरिकाका लागि ३,००० जनाले एनओसी लिएका छन्।
साउन र भदौ महिनामा मात्रै २२,६५१ वटा एनओसी जारी गरिएको वितरण गरिएको उपसचिव शङ्कर अधिकारीले जनाएका छन्।
गत आर्थिक वर्षमा उक्त सङ्ख्या एक लाख १०,००० भन्दा बढी अनुमतिपत्र जारी गरिएको थियो।
विगत दुई वर्षको तथ्याङ्कले विदेशमा पढ्न जान चाहने विद्यार्थीहरूको सङ्ख्या निकै बढेको सङ्केत गरेको अधिकारीहरू बताउँछन्।
प्राविधिक पक्ष किन कमजोर?
यसरी एनओसी लिन चाहनेहरूको सङ्ख्या बढ्दै जाँदा सर्भरमा देखिएको पछिल्ला समस्याले प्राविधिक कमजोरी औँल्याएको कतिपय जानकारहरूको ठम्याइ छ।
शिक्षा मन्त्रालयका आईटी हेर्ने उपसचिव सुभाष ढकालका अनुसार डेटा रिकभर गर्नुपर्ने हुँदा समय लागेको हो।
उनी भन्छन्, “स्क्यान गरेर राख्नुपर्ने कागजात बढी हुँदा डेटाको साइज पनि ठूलो हुन्छ र त्यस्तोमा समस्या आउँदा समय लाग्छ।”

तस्बिर स्रोत, drc.gov.np
कतिपय डेटा हेटौँडास्थित डिजास्टर रिकभरी केन्द्रको भण्डारणबाट ल्याउनुपर्ने भएकाले समय लाग्ने गरेको बताइन्छ।
सुरुमा न्यूनतम डेटा ल्याएर सेवा सञ्चालन गर्ने र अरू बिस्तारै ल्याउने गरिएको जानकारहरूको भनाइ छ।
बेलाबेला अत्यावश्यक सेवा दिने सरकारी कार्यालयको सर्भरमा पनि समस्या उत्पन्न हुँदा घण्टौँसम्म सेवा प्रभावित हुने गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








