'विश्वभरि भेपिङ दुर्व्यसनको नयाँ प्रकोप, १.५ करोड बालबालिका कुलतमा'

रातो टप, सनग्लास र क्याप लगाएकी एक युवती भेपबाट धुवाँ फ्याँक्दै। उनी घाम लागेको ठाउँमा घरबाहिर उभिएकी छन्

तस्बिर स्रोत, Getty Images

    • Author, मिशेल रोबर्ट्स
    • Role, डिजिटल स्वास्थ्य सम्पादक

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभरि १.५ करोड बालबालिकासहित १० करोड जनाभन्दा बढी मानिसले 'ई-सिगरेट' सेवन गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्दै अहिले निकोटिन दुर्व्यसनको नयाँ प्रकोप फैलिएको चेतावनी दिएको छ।

विश्वभरिको तथ्याङ्कलाई विश्लेषण गर्दै डब्ल्यूएचओले वयस्कभन्दा बालबालिकाले 'भेप' प्रयोग गर्ने सम्भावना नौगुना बढी भएको जनाएको छ।

डब्ल्यूएचओका डा एटिएन क्रुगले 'ई-सिगरेट'का कारण निकोटिन दुर्व्यसनको "नयाँ लहर" फैलिएको बताए। "कम हानि हुन्छ भन्दै तिनको प्रचार गरिन्छ। तर वास्तवमा तिनले बालबालिकालाई निकै चाँडै निकोटिनको कुलतमा फसाउँछन् र दशकौँदेखि भएको प्रगतिलाई प्रभावहीन बनाइदिन्छन्," उनले भने।

निसानामा किशोरकिशोरी

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानम गेहब्रेयससले सुर्ती उद्योगले युवा पुस्तालाई "आक्रामक रूपमा निसाना" बनाएको आरोप लगाए।

"लाखौँ मानिसहरूले सुर्ती [वा सुर्तीयुक्त पदार्थ] सेवन गर्न छोडेका छन्। त्यसको श्रेय विश्वभरिका देशहरूले सुर्ती नियन्त्रण गर्न सञ्चालन गरेको प्रयासलाई जान्छ," उनले भने।

"यो बलियो प्रगतिलाई चुनौती दिन सुर्ती उद्योगले निकोटिनयुक्त नयाँनयाँ सामग्री ल्याएको छ र युवा पुस्तालाई आक्रामक रूपमा प्रचारको निसाना बनाएको छ। सरकारहरूले निकै तीव्र गतिमा र सशक्त तरिकाले सुर्ती नियन्त्रण गर्न परिणामदायक सिद्ध भएका नीतिहरू कार्यान्वयन गर्नुपर्छ," उनले भने।

'भेपिङ' सँग सम्बन्धित यो अनुमानित आँकडा हो किनभने कुल १०९ देशले तथ्याङ्क सङ्कलन गर्दैनन्। तीमध्ये धेरै अफ्रिका र दक्षिणपूर्वी एशियाका देश हुन्।

डब्ल्यूएचओले अहिले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यो वर्ष फेब्रुअरीसम्म 'ई-सिगरेट' प्रयोग गर्ने मानिसमध्ये कम्तीमा ८.६ करोड जना वयस्क थिए। तीमध्ये अधिकांश व्यक्ति उच्चआय भएका देशमा बसोबास गर्छन्।

एक सय २३ देशमा गरिएको सर्वेक्षणका आधारमा १३ देखि १५ वर्ष उमेरका कम्तीमा १.५ करोड किशोरकिशोरीले 'भेप' प्रयोग गर्ने गरेको देखिएको छ।

डब्ल्यूएचओका अनुसार धेरै देशले बालबालिकालाई 'भेपिङ' बाट जोगाउन 'ई-‍सिगरेट'सम्बन्धी नियमावली बनाएका छन्। तर सन् २०२४ को अन्त्यसम्ममा ६२ देशमा त्यससम्बन्धी कुनै नीति बनेको थिएन भने ७४ देशमा 'ई-सिगरेट' किन्न पाउने न्यूनतम उमेरसम्बन्धी स्पष्ट उमेर नै तोकिएको थिएन।

धूमपानको तथ्याङ्क

यद्यपि सुर्ती वा सुर्तीजन्य पदार्थको प्रयोग घट्दो क्रममा देखिन्छ। सन् २००० मा १.३८ अर्ब जनाले सुर्ती सेवन गर्थे भने सन् २०२४ मा उक्त सङ्ख्या १.२ अर्बमा झरेको छ।

महिलामा सुर्ती प्रयोग गर्ने बानी उल्लेख्य रूपमा घटेको छ। सन् २०१० मा ११ प्रतिशत महिलाहरू सुर्ती सेवन गर्थे भने सन् २०२४ मा आइपुग्दा ६.६ प्रतिशतले मात्र त्यसो गरेको पाइयो।

पुरुषमा सुर्ती प्रयोग गर्ने प्रतिशत सन् २०१० मा ४१.४ भएकोमा सन् २०२४ मा ३२.५ मा मात्र देखियो।

यद्यपि अहिले पनि विश्वभरि पाँच वयस्कमध्ये एक जनाले सुर्ती सेवन गर्छन्।

सुर्ती सेवन वा धूमपानका कारण मानिसलाई क्यान्सरसहित विभिन्न रोगहरू लाग्छन्।

विज्ञहरू 'भेपिङ' का कारण चुरोट वा धूमपानभन्दा कम हानि हुन्छ र लत बसेका मानिसलाई 'भेप' ले धूमपान गर्न छोड्न सहयोग पनि गर्न सक्छ भन्ने गर्छन्। यद्यपि धूमपान नगर्ने मानिसलाई 'भेपिङ' गर्न सिफारिस गरिँदैन।

सुर्ती नजलाइने हुँदा 'ई-सिगरेट' बाट 'टार' वा 'कार्बन मोनोअक्साइड' निस्किँदैन। ती दुई तत्त्वले धूमपान गर्ने मानिसलाई बढी हानि पुर्‍याउँछन्। यद्यपि 'ई-सिगरेट'मा निकोटिन हुने भएकाले सेवनकर्तालाई त्यसको लत बस्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।