एचआईभी सङ्क्रमण विश्वभरि घट्दो क्रममा तर यी छ देशमा तीव्र गतिमा फैलिँदै

तस्बिर स्रोत, Getty Images
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी वर्ल्ड सर्भिस
विश्वभरि एचआईभीका कारण हुने नयाँ सङ्क्रमण र मृत्यु उल्लेखनीय सङ्ख्यामा घटेको छ। तर एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम यूएनएड्सले हाम्रो संसार एड्सलाई सार्वजनिक खतराबाट हटाउने बाटोमा नपुगेको चेतावनी दिएको छ।
यूएनएड्सका अनुसार अहिले विश्वमा ३.९९ करोड मानिसलाई एड्स भएको छ। तीमध्ये आधाजति दक्षिणी र पूर्वी अफ्रिकामा छन्।
सन् २०१० यता एचआईभीको नयाँ सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ३९ प्रतिशतले घटेको छ भने एड्सबाट ज्यान जाने मानिसको सङ्ख्या आधाले घटेको छ।
यद्यपि अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी सङ्क्रमणमा १०० प्रतिशतले वृद्धि भएको देखिएको छ।
सन् २०१० यता एचआईभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशहरूमध्ये नेपाल पनि छ। नेपालका अतिरिक्त यो स्तरको सफलता हासिल गर्ने देशहरूमा केन्या, मलावी र जिम्बावे छन्।
एड्सविरुद्धको लडाइँमा अहिले अफ्रिकाले नेतृत्व गरिरहेको छ।
थप १८ वटा देशहरूले सन् २०१० देखि यता वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले न्यूनीकरण गरेका छन्।
त्यसमा धेरैजसो सब-सहारा राष्ट्रहरू छन्। लेसोथो, एस्वातिनी, बेनिन, इथिओपिया, रवान्डा, बोत्स्वाना, एरिट्रिया, लाइबेरिया, बुर्किना फासो, तोगो, जाम्बिया, बुरुन्डी, गुएना-बिसाउ र युगान्डा त्यसमध्येका देशहरू हुन्।
त्यस्तै ताजकिस्तान, पोर्चुगल, बेलारुस र इटलीले पनि वार्षिक एचआईभी सङ्क्रमणदर ६० प्रतिशतले घटाएका छन्।
एचआईभी सङ्क्रमण भएर बाँचिरहेकामध्ये ७७ प्रतिशतले वैकल्पिक थेरापीको उपचार लिइरहेका छन्।
सब-सहारा अफ्रिकामा ८२ प्रतिशतले यो विधिको उपचार लिइरहेका छन्।
पछिल्लो १३ वर्षमा औसत आयु पनि पाँच वर्षले बढेको छ। सन् २०१० मा ५६ वर्ष रहेको औसत आयु सन् २०२३ मा ६१ वर्ष पुगेको छ। जसको एउटा कारण एचआईभीविरुद्ध लड्ने पद्धतिमा भएका प्रगति पनि हुन्।
यूएनएड्सले अफ्रिकामा भइरहेको उपचारको व्यापकताले मानिसहरूलाई एचआईभीको भाइरसलाई दबाउन र सङ्क्रमणको जोखिम कम गर्न सहयोग पुगेको जनाएको छ।
धेरै देशहरूमा व्यापक रहेको समलिङ्गी यौन सम्पर्क र लागुऔषधको प्रयोगलाई फौजदारी कसुर बनाउने कानुनले पनि मानिसहरूलाई रोकथामका सेवामा पहुँच पाउनबाट बाधा पुर्याएको छ।
सब-सहारा अफ्रिकामा भएको प्रगति

तस्बिर स्रोत, Getty Images
"विशेष गरी सब-सहारा अफ्रिकामा हासिल भएको उपलब्धिले समुदाय परिचालन, प्रजातान्त्रिक नेतृत्व र अन्तर्राष्ट्रिय ऐक्यबद्धता एकसाथ हुँदा कस्तो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने देखाएको छ," यूएन एड्सकी उपकार्यकारी निर्देशक क्रिस्टिन स्टेगलिङ भन्छिन्।
बीबीसीको इमेलमा जवाफ दिँदै उनले नेताहरूले आफ्नो ध्यान रोकथामका अधिकतम सम्भावनाहरूमा पहुँच र स्वास्थ्य सेवामा पहुँचबाट मानिसहरूलाई अलग राख्ने अवरोधकहरू हटाउने कुरामा दिनुपर्ने बताइन्।
“विश्व अझै पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रूपमा एड्स अन्त्य गर्ने लयमा छैन। किनभने विशेष गरी सीमान्तकृत समुदायहरूका लागि सेवासम्म पहुँचमा सबैभन्दा ठूलो खाडल छ। त्यस कारण एचआईभी रोकथाममा सङ्कट कायमै रहन्छ।”

तस्बिर स्रोत, Getty Images
तर सब-सहारा अफ्रिका बाहेकका देशहरूमा सुधार निकै सुस्त छ। पपुआ न्यूगिनी,अफगानिस्तान, फिजी, फिलिपिन्स, इजिप्ट र साउदी अरबमा भने सन् २०१० देखि सन् २०२३ को बीचमा एचआईभी सङ्क्रमणको सङ्ख्यामा १०० प्रतिशतको वृद्धि भएको देखिएको छ।
देशको सम्पूर्ण जनसङ्ख्याको तुलनामा अफगानिस्तान, इजिप्ट र साउदी अरबमा एचआईभी सङ्क्रमितको सङ्ख्या निकै कम छ।
तर त्यहाँ आशा गर्ने ठाउँ पनि छ। यूएन एड्सको प्रक्षेपणले उचित स्तरको राजनीतिक सहयोग र आर्थिक सहायता भएको अवस्थामा छ वर्षभित्रै एड्स सार्वजनिक स्वास्थ्यको जोखिम नरहने देखाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








