ढाकामा व्यापारिक भवनमा आगलागी, कम्तीमा ४५ जनाको मृत्यु

बाङ्ग्लादेशमा आगलागी भएको भवन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बाङ्ग्लादेशमा आगलागीका घटना बारम्बार हुने गर्छन्

बाङ्ग्लादेशको राजधानी ढाकामा अवस्थित एउटा व्यापारिक भवनमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको त्यहाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उक्त भवनमा रहेको एक रेस्टुराँबाट सुरु भएको आगो चाँडै फैलिएको थियो।

गम्भीर जलन तथा भाग्दा चोटपटक लागेका २० जनाभन्दा धेरै घाइतेको उपचार भइरहेको छ।

बाङ्ग्लादेश आगलागी

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी बिहीवार राति १० बजे सुरु भएको थियो।

पचहत्तर जनालाई उद्धार गरिएको थियो भने आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको थियो।

'कच्ची भाइ' नामक रेस्टुराँमा आगो लाग्नासाथ आपत्कालीन सेवालाई डाकिएको थियो।

उक्त भवनमा अन्य रेस्टुराँ तथा मोबाइल फोन र कपडाका पसलहरू पनि थिए।

छानबिनको आदेश

बाङ्ग्लादेश आगलागी

प्रधानमन्त्री शेख हसिनाले आगलागीले आफू स्तब्ध भएको बताएकी छन्। त्यहाँको सरकारले छानबिन थालेको बताएको छ।

बाङ्ग्लादेशमा व्यापारिक तथा आवासीय भवनहरूमा आगलागीका घटना बारम्बार भइरहन्छन्।

त्यसको दोष कमजोर सुरक्षा व्यवस्था अनि नियमको अवज्ञा गर्ने चलनलाई दिइन्छ।

अहिलेको घटना ग्यास चुहिएका कारण भएको हुन सक्ने बाङ्ग्लादेश अग्निनियन्त्रण सेवा निकायका प्रमुख ब्रिगेडियर जेनरल मइन उद्दिनले बताए।

“त्यो निकै जोखिमपूर्ण भवन थियो। त्यहाँ सबै तलामा ग्यासका सिलिन्डर थिए। भर्‍याङमा पनि थिए,” उनले भने।

“हामी छैटौँ तलामा थियौँ अनि हामीले भर्‍याङबाट धुवाँ आइरहेको देख्यौँ,” सोहेल नामक रेस्टुराँ म्यानेजरलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ।

ढाकामा आगलागी भएको भवनबाहिर भेला भएका मानिसहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उद्धारकार्य नसकुन्जेल धेरै मानिसले भवनमा फसेका आफ्ना साथीभाइ र आफन्तलाई फोन गरेर उनीहरूको अवस्थाबारे बुझेका थिए

“धेरै मानिस भर्‍याङ चढ्दै माथि गइरहेका थिए। हामी चाहिँ पानीको पाइप समाएर तल झर्‍यौँ। माथिबाट हामफाल्दा हामीमध्ये केही घाइते भएका थिए।”

घटनामा बाँच्न सफल अर्का व्यक्ति मोहमद अल्ताफले रोयटर्ससँग बोल्दै आफू फुटेको झ्यालबाट बाहिर भागेको बताए।

आफ्ना दुई सहकर्मीले अन्य मानिसलाई बाहिर निस्किन सहयोग गरेको तर पछि दुवै जनाको मृत्यु भएको उनले बताए।

ढाकामा व्यापारिक भवनमा आगलागी भएपछि उद्धारकार्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आगलागी हुँदा ७५ जनाको उद्धार गरिएको बताइएको छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।