विश्वकप हेर्न कतार जाने नेपालीहरू

कतार विश्वकप

तस्बिर स्रोत, Getty Images

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

फुटबल समर्थक नविन चित्रकारले तीन महिना अगाडि नै कतार विश्वकप हेर्न टिकट काटिसकेका छन्।

नेपाली फुटबल क्लब मछिन्द्र क्लबसँग आबद्ध उनले फिफाले विश्वकप टिकट विक्री खोले लगत्तै टिकट खरिद गर्ने प्रयास गरेका थिए, जसमा उनले क्वार्टर फाइनलका दुई खेलको टिकट पाएका छन्।

उत्साहित चित्रकार भन्छन् - "छनोट चरणको नतिजा सोचे जस्तै निस्कियो भने क्वार्टर फाइनलमा आर्जेन्टिना र नेदरल्याण्डस् तथा स्पेन र जर्मनीको खेल हेर्न पाइन्छ होला।"

चित्रकारसँग चारजना साथीहरूले पनि विश्वकपको टिकट लिइसकेका छन्।

नविन चित्रकार

तस्बिर स्रोत, nabin chitrakar

पहिलो पटक मध्यपूर्वमा हुन लागेको कतार विश्वकप २०२२ दूरीको हिसाबले नेपालबाट नजिकै हुन लागेकोले यसपाली थुप्रै नेपालीहरूले कतार पुगेरै विश्वकप हेर्ने अनुमान गरिएको थियो।

झन्डै ५ घण्टाको हवाई यात्राबाट कतार पुगिन्छ। त्यहाँ झन्डै ४ लाखको हाराहारीमा नेपालीहरू रहेकोले कतार बसाइ सहज हुनसक्ने अनुमान गरिएको थियो।

कसरी पुग्ने विश्वकप हेर्न?

विश्वकप हेर्न जाने चारवटा बाटाहरू छन्।

पहिलो, व्यक्ति आफैँले फिफाको टिकट अनलाइनबाट खरिद गर्न सक्छ।

दोस्रो, नेपालीहरूको लागि फिफाले तोकेको एजेन्ट मार्फत्, अनि तेस्रो, अखिल नेपाल फुटबल संघ एन्फालाई उपलब्ध टिकट र चौथो, विश्वकपको प्रायोजक कम्पनीहरूलाई प्राप्त हुने टिकट मार्फत्।

नेपाली फ्रेञ्चाइज लिग एनएसएलको एउटा क्लब झापा एफसीका मालिक सुजन गौतमले पहिलो माध्यमबाट टिकट किनेका हुन्।

उनी भन्छन् - "अप्ठ्यारो चाहिँ भयो। टिकट किन्न डलर एकाउन्ट चाहिन्थ्यो। हाम्रो कार्ड चलेन। त्यसैले विदेशमा रहेको साथीलाई अनुरोध गरेर टिकट किन्न पर्‍यो।"

यसरी अनलाइनबाट टिकट किन्नेहरुको सङ्ख्या यकिन छैन। तर विगतको प्रवृत्ति हेर्दा एक सयको हाराहारीमा यसरी टिकट लिने नेपाली दर्शक हुन सक्ने ठानिएको छ।

नेपालीहरूको लागि विश्वकप हेर्ने प्याकेजको जिम्मा पाएको 'म्याच हस्पिटालिटी पार्टनर' जेनिथ एक्सपेरियन्स ट्राभल सर्भिसेजबाट ३ सय नेपालीले टिकट लिएको बताइएको छ।

विश्वकप हेर्न जानेहरूको सबैभन्दा ठूलो सङ्ख्या यही प्याकेज मार्फत् कतार जानेहरूको नै हो।

कम्पनीकी प्रबन्ध निर्देशक मिहिका शाहका अनुसार सरकारले पर्यटक भिसामा विदेशमा घुम्न जानेहरूलाई कडा नियम नराखेको भए यो सङ्ख्या अझै बढ्न सक्थ्यो।

उनी भन्छिन् - "सरकारले विदेशमा पर्यटक भएर जानेहरूलाई विदेशी मुद्रा सटहीमा कडाइ गरेको छ। हामीले फिफालाई पहिले नै पैसा पठाउनुपर्ने र त्यसका निम्ति राष्ट्र ब्याङ्कको अनुमति लिन जाँदा उसले पहिले नै जानेहरूको नाम माग्यो। त्यो तुरुन्तै दिन नसक्दा झन्डै २ सय जतिले प्याकेजको फाइदा लिन सकेनन्।"

यद्यपि ३ सय जनाले विश्वकपको टिकट काट्नुलाई प्रबन्ध निर्देशक शाह राम्रै मान्छिन्।

एन्फालाई २१५ टिकट

कतार विश्वकप

तस्बिर स्रोत, Getty Images

फिफाले विश्वको कुनै पनि कुनाका समर्थकहरूले विश्वकप हेर्नबाट वञ्चित हुन नपरोस् भनेर सबै राष्ट्रका संघलाई टिकट वितरण गर्ने गर्दछ।

सो अनुसार एन्फालाई २ सय ९० वटा टिकट प्राप्त भएको थियो।

तर एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार त्यसमध्ये ७५ वटा टिकट एसियाली फुटबल महासंघ (एएफसी) ले राखेकोले एन्फालाई २ सय १५ वटा मात्र टिकट प्राप्त भएको छ।

ती टिकटहरू केन्द्रदेखि जिल्लासम्म समान रुपमा वितरण गरिने एन्फाले जनाएको छ।

प्रवक्ता शाह भन्छन् - "४८ जिल्ला संघलाई एक एक टिकट, ए, बी र सी डिभिजनका प्रत्येक क्लबलाई २/२ र पदाधिकारीहरूलाई टिकट बाँडेका छौं। टिकट सहित सम्पूर्ण खर्च खरिद गर्ने व्यक्तिले नै गर्नेछन्।"

एन्फाका मुख्य पदाधिकारीहरूलाई उद्घाटन र समापन समारोहमा विशेष निम्तो आएको पनि प्रवक्ता शाहले बताए।

यसबाहेक देशका प्रमुख व्यक्तिहरूलाई कतार दूतावासले निम्तो गरेको बताइएको छ।

विश्वकपका प्रायोजकहरूबाट आउने निम्तोमा कतार पुग्नेको सङ्ख्या नेपालबाट धेरै नभएको बुझिएको छ।

महँगो विश्वकप

एसियामा हुने भएकोले विश्वकप सस्तो हुन सक्ने नेपाली दर्शकहरूको अनुमान भने मिलेन।

विश्वभरका फुटबल समर्थकहरूको लागि खर्चको हिसाबले कतार विश्वकप अहिलेसम्मकै महँगो विश्वकप हुने निश्चित छ।

मध्यपूर्वको एउटा सानो देश कतारमा ५० किलोमिटरको दूरी भित्र सबै आठ वटा रङ्गशाला छन्।

त्यहाँ सीमित मात्र होटलहरू छन्।

कतार विश्वकप

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतारमा खेल पूर्वाधार निर्माणमा नेपाली श्रमिकहरूको उल्लेख्य योगदान छ

संसारभरबाट कतार ओइरिने दर्शकको लागि बसोबासको व्यवस्थापन गर्न आयोजक कतारले होटल, ठूला ठूला क्रुज पानीजहाज, आदिको व्यवस्था गरिरहेको छ।

त्यहाँ एक रातको डेढ लाख नेपाली रुपैयाँ पर्ने होटल देखि ३० हजार रुपैयाँ पर्ने टेन्टको व्यवस्था छ।

म्याच टिकटको मूल्य लिग चरणको ३० हजार रुपैयाँबाट शुरु हुन्छ।

कतारले नेपालीहरूले सिधै गएर आफूले चिनेको साथीभाइ आफन्तहरू कहाँ बस्न नपाउने नियम बनाएको छ। जसले गर्दा नेपालीहरूलाई विश्वकप थप महँगो बन्न गएको देखिन्छ।

अरूबेला दैनिक चारवटा नेपाल उडान गरिरहेको कतार एयरवेजले विश्वकपकै बेला दैनिक एक उडान मात्र राखेको छ।

यिनै कारणहरूले गर्दा विश्वकप नेपालीहरूको लागि महँगो बनेको देखिन्छ।

कतार नियाल्ने चाहना

थोरैको सङ्ख्यामा भए पनि हरेक विश्वकप हेर्न नेपालबाट दर्शकहरू पुग्ने गरेका छन्।

उनीहरूको उद्देश्य विश्वका महान खेलाडीहरूको खेल हेर्ने भएपनि यसपाली पुग्ने दर्शकहरूको उद्देश्य अरू पनि रहेको देखिन्छ।

नविन चित्रकार भन्छन् - "कतारको रङ्गशाला बन्नमा नेपाली कामदारहरूको योगदान थुप्रै छ। उनीहरूको सम्मानमा म रङ्गशालामा उभिन चाहन्छु। यो मेरो पहिलो प्रत्यक्ष हेर्ने विश्वकप हो र यो फरक तरिकाले मनाउनेछु।"

हरेक वर्ष जस्तो कतार गइरहने सुजन गौतमका विश्वकपका लागि कतारले गरेको मेहनत र प्रगतिबाट उनी छक्क छन्।

उनी भन्छन् - "म त्यहाँ पुग्दा हरेक वर्ष स्थिति फरक भइसकेको हुन्थ्यो। त्यो गजबको अनुभव हो। त्यसैले म रङ्गशालाहरूलाई नजिकबाट हेर्न चाहन्छु। एउटा मुस्लिम राष्ट्रले समर्थकहरूलाई कसरी स्वागत गर्दो रहेछ महसुस गर्न चाहन्छु। साँच्चै नै उत्साहित छु।"

कतार विश्वकप साँच्चै नै नेपालीहरूको लागि अन्य राष्ट्रको भन्दा फरक अनुभव हुन सक्छ।

नेपालबाट कतार पुग्ने र त्यहिँ रहेका नेपालीहरूले रङ्गशालामै बसेर त्यो अनुभव गर्ने छन्।