माल्दिभ्समा चीनलाई समर्थन गर्ने दललाई अत्यधिक बहुमत

मोहमद मुइज्जु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मोहमद मुइज्जु (बीच) को दलले पाएको मतलाई विश्लेषकहरूले चीनसँग निकट सम्बन्ध राख्नुपर्छ भन्ने मान्यता अनुमोदन भएको मानेका छन्
    • Author, अनबरसन इतिराजन
    • Role, बीबीसी न्यूज

माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ।

त्यहाँको ९३-सदस्यीय संसद्‌मा उनको पीपल्स् न्याश्नल कङ्ग्रेस (पीएनसी) ले ६६ स्थान जितेको प्रारम्भिक नतिजामा देखिएको छ।

पीनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन्।

धेरैले मुइज्जुलाई "चीन पक्षधर" मान्छन्। उनी माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउन चाहन्छन्।

स्थानीय सञ्चारमाध्यमले पीएनसीको उपलब्धिलाई "अत्यधिक बहुमत" को सङ्ज्ञा दिएका छन्। यद्यपि निर्वाचनको परिणाम केही दिनपछि औपचारिक रूपमा घोषणा हुने छ।

राष्ट्रपति मुइज्जुले अब के गर्न सक्छन्

देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पीएनसीले संसद्‌मा दुईतिहाइ बहुमत पाएको हो।

"मुइज्जुका लागि यो ठूलो उपलब्धि हो," माल्दिभ्स मामिलाका विश्लेषक अजिम जाहिर भन्छन्। उनी यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्छन्।

मुइज्जु

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

"राजनीतिक संस्थाको दृष्टिकोणबाट भन्नुपर्दा अब उनको नियन्त्रणमा सबै कुरा छ। संसद्‌मा पर्याप्त बहुमत भएकाले सैद्धान्तिक रूपमा उनी न्यापालिकालाई पनि नियन्त्रण गर्न सक्छन्," जाहिर भन्छन्।

गत वर्षको अन्त्यतिर मुइज्जु सत्तामा आएका थिए।

माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले केवल १५ सीट पाएको छ। आइतवार मतदान हुनुअघिसम्म संसद्‌मा उक्त दल बहुमतमा थियो।

भारतको प्रभाव घटाउने पक्षमा मुइज्जु

माल्दिभ्सको तात्कालिक सरकारले अङ्गीकार गरेको "पहिला भारत" भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित उनले अभियान चलाएका थिए।

राष्ट्रपति भएपछि मुइज्जु अझै भारत भ्रमणमा गएका छैनन्।

भारतको प्रभाव घटाउन भन्दै उनले माल्दिभ्समा रहेका सबै भारतीय सैनिकलाई फिर्ता पठाउने उद्घोष गरेका थिए।

उद्धार र निगरानीका लागि प्रयोग हुने दुइटा हेलिकप्टर र एउटा विमान मर्मत र सञ्चालन गर्न माल्दिभ्समा झन्डै ८५ भारतीय सैनिक थिए। केही वर्षअघि भारतले ती हेलिकप्टर र विमान माल्दिभ्सलाई दिएको थियो।

भारतीय सैनिकका दुइटा टोली माल्दिभ्सबाट फर्किसकेका छन्। तिनको ठाउँमा भारतले निजामती प्राविधिज्ञहरूलाई पठाएको छ। बाँकी सैनिकहरू मे १० मा फर्किने ठानिएको छ।

फाइदा लिन खोज्दै चीन

भारतीय सैन्य टोलीलाई फिर्ता पठाउने मुइज्जुको निर्णयका कारण दिल्ली र माल्दिभ्सको सम्बन्ध चिसिएको छ। बेइजिङले त्यसबाट फाइदा लिन खोजेको देखिन्छ।

मुइज्जु ज्यानुअरीमा चीन भ्रमणमा गएका थिए। त्यहाँ उनले चिनियाँ लगानी भित्र्याउने विषयमा विभिन्न सहमतिमा हस्ताक्षर पनि गरे।

माल्दिभ्सले निःशुल्क गैरघातक हतियार प्राप्त गर्न र सुरक्षा बललाई तालिम दिलाउन मार्च महिनामा चीनसँग सैन्य सहयोगसम्बन्धी एउटा सहमतिमा हस्ताक्षर गर्‍यो। यसअघि भारत र संयुक्त राज्य अमेरिकाले माल्दिभ्सको सैन्य बललाई तालिम दिएका थिए।

"अब सन्तुलित विदेशनीति बनाउन आवश्यक छ। तर दिल्लीले राम्रो सम्बन्ध राखेन र सहयोग गर्न मानेन भने माले स्वतः बेइजिङसँग निर्भर हुने छ," जाहिर भन्छन्।

विपक्षी दल के भन्छ

औपचारिक रूपमा मतपरिणाम घोषणा हुन एक साता लाग्ने ठानिएको छ।

माल्दिभ्सको निर्वाचन आयोगका अनुसार आइतवार ७३ प्रतिशत मतदान भएको थियो। यसअघि सन् २०१९ मा भएको निर्वाचनमा ८२ प्रतिशत मतदान भएको थियो।

मतगणना सकिएपछि एमडीपीले मुइज्जुलाई बधाई दिएको छ।

"एमडीपीका सांसदहरू हाम्रा प्रजातान्त्रिक मान्यताहरूको उत्थान गर्न र आफूलाई उत्तरदायी विपक्षीका रूपमा प्रस्तुत गर्न सरकारसँग सहकार्य गर्न तयार छ," उक्त दलका अध्यक्ष फैय्याज इस्माइलले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।