म्यान्मार भूकम्पः पीडितहरूले खाली हातले भग्नावशेष हटाएर जीवित खोज्दै

तस्बिर स्रोत, EPA
म्यान्मारमा विध्वंसकारी भूकम्पमा हालसम्म १,६०० व्यक्तिको ज्यान गएको पुष्टि हुँदा कतिपय ठाउँमा खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेको स्थानीयवासीले बीबीसीलाई बताएका छन्।
शुक्रवारको भूकम्पले सबैभन्दा बढी देशको प्राचीन राजधानी तथा दोस्रो ठूलो शहर म्यान्डलेलाई क्षतिग्रस्त बनाएको छ जहाँको जनसङ्ख्या करिब १५ लाख छ।
अत्यावश्यक उपकरणको अभाव, कमजोर सञ्चार सञ्जाल तथा क्षतिग्रस्त सडक पूर्वाधार एवं पुलका कारण खोजी कार्यमा असर परिरहेको छ।
सन् २०११ मा सत्ता कब्जा गरेको म्यान्मारको सैनिक सरकार जुन्टाले चार वर्षदेखि जारी गृहयुद्धका कारण मुलुकको धेरै हिस्सामाथि नियन्त्रण गुमाइसकेको छ। त्यहाँ विद्रोही समूहहरू र भ्रष्टचार विरोधी समूह सेनासँग युद्धरत अवस्थामा छन्।
उद्धार प्रयासमा बाधा
शुक्रवारयता उद्धार प्रयासहरू जारी रहे पनि र अन्तर्राष्ट्रिय सहायता पुग्न थालिसकेको भए पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्रमा ती सहयोग पुग्न सकेको छैन र सर्वसाधारण मानिसहरूले खाली हातले भग्नावशेष हटाएर जीवितको खोजी गरिरहेका छन्।
उद्धारकर्ताहरूले म्यान्डलेमा एउटा १२ तले भवनबाट ३० घण्टापछि एक महिलालाई भग्नावशेषबाट जीवितै निकालेका छन्।
तर रेडक्रसले त्यहाँ भग्नावशेषभित्र अझै ९० जनाभन्दा बढी व्यक्ति फसेको बताएको छ।
नजिकै पर्ने एउटा नगरमा 'प्रिस्कूल' का १२ जना बालबालिका र एक शिक्षकका शव भग्नावशेषबाट निकालिएको अधिकारीहरूले बताएका छन्।
संयुक्त राष्ट्रसङ्घले चिकित्सकीय आपूर्तिहरूको चरम अभावले सहायता प्रयास प्रभावित भएको जनाएको छ।

तस्बिर स्रोत, EPA
राष्ट्रसङ्घको मानवीय सहायता निकाय ओचाका अनुसार "ट्रमा किट"देखि त्रिपालसम्मको अभावका कारण स्वास्थ्यकर्मीहरूलाई काम गर्न गाह्रो भइरहेको छ।
अन्तर्राष्ट्रिय सहायता आउने क्रम जारी रहेको भन्दै उसले चीनबाट सहायता सामग्री बोकेका १७ वटा ट्रक आइतवार आइपुग्ने जनाएको छ।
अन्यत्र अरू उद्धारकर्मीहरू भग्नावशेष भित्रबाट जीवित मान्छेको सङ्केत पाउने प्रयासमा जुटिरहेका छन्।
"हामीले ती मानिसहरूलाई मात्र उद्धार गर्न सक्छौँ जसको आवाज हामीसम्म पुग्न सक्ला," एक उद्धारकर्मीले भने।
उपकरण अभावले उद्धार प्रयासलाई ढिलो बनाएको अर्का उद्धारकर्मीले बीबीसी बर्मीजलाई बताए।
"हामीसँग जे जस्ता उपकरण उपलब्ध छन् त्यसैले काम चलाइरहेका छौँ। एउटा विद्यालय भवनभित्र पुरिएकी एक छात्रालाई निकाल्न हामीले घण्टौँ मेहनत गर्यौँ,"उनले भने।
हमला पनि जारी
म्यान्डलेमा सञ्चार सेवा काम नगर्ने अवस्थामा रहेको एक सहायताकर्मीले याङ्गुनस्थित बीबीसी संवाददातालाई बताए।
"मुख्य कुरा हामीसँग इन्टरनेट सेवा उपलब्ध छैन, हामीसँग टेलिफोन सेवा छैन। त्यो भएर एकअर्कासँग सम्पर्क गर्न निकै कठिन छ। उद्धार टोली आइपुगेको छ, तर त्यो कता जान्छ भन्ने टुङ्गो छैन," उनले भने।
अस्तव्यस्त अवस्थाबीच मानिसहरूले सक्दो प्रयास गरिरहेको म्यान्डलेका एक बासिन्दाले बताए।
"उद्धार कार्यमा कुनै समन्वय छैन, उनीहरूलाई नेतृत्व गर्न कोही छैन अथवा के कसरी गर्ने भन्नलाई कोही छैन। स्थानीयवासीले आफ्नो लागि आफैँ गर्नुपरेको छ। शव भेटिहाले पनि कहाँ पठाउने भन्ने टुङ्गो छैन। अस्पतालमाथि चाप छ," ती व्यक्तिले भने।
सैनिक सरकारका अनुसार म्यान्डले क्षेत्रमा भूकम्पका कारण कम्तीमा १,५०० घरहरू क्षतिग्रस्त भएका छन्।

बिजुली अभावले अवस्था झन् नाजुक बनाएको छ। अधिकारीहरूले बिजुली आपूर्ति शुरू हुन केही दिन लाग्न सक्ने बताएका छन्।
धावनमार्गहरू क्षतिग्रस्त भएर म्यान्डले विमानस्थल प्रयोगमा आउन सक्ने अवस्था छैन।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार शुक्रवारको भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किमि टाढा थियो र उक्त भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको थियो।
एकातिर भूकम्प प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताको अपील गरेको सैनिक सरकारले अर्कोतिर सशस्त्र समूहहरूविरुद्ध हवाई हमला र ड्रोन आक्रमणहरू जारी राखेको छ।
थाईल्यान्डको अवस्था के छ
थाईल्यान्डमा भूकम्पका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको छ।
ब्याङ्ककस्थित एउटा बहुतले भवन भत्कँदा त्यसभित्र अझै ३० जना फसिरहेका बताइएको छ।
उनीहरूको उद्धार गर्ने प्रयास जारी राखिएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार थाईल्यान्डमा दुई हजार बहुतले भवनहरू भूकम्पबाट प्रभावित भएको विवरण प्राप्त भएको छ।
म्यान्मारमा भूकम्प कति सामान्य?
थाईल्यान्डमा भन्दा म्यान्मारमा बढी भूकम्प जान्छ।
सन् १९३० देखि १९५६ सम्म 'सगाइङ फल्ट'को छेउछाउमा छवटा ठूला भूकम्पहरू गइसकेका छन्।
उक्त फल्ट म्यान्मारको मध्यभागमा रहेको समाचारसंस्था एएफपीले यूएसजीएसलाई उद्धृत गर्दै जनाएको छ।
थाईल्यान्ड भूकम्पीय क्षेत्रमा पर्दैन। त्यहाँ महसुस गरिने अधिकांश भूकम्पको केन्द्रबिन्दु छिमेकी देश म्यान्मारमा हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








