बहुमतको सरकार गठन गर्न दलहरूलाई राष्ट्रपतिको आह्वान

तस्बिर स्रोत, OFFICE OF THE PRESIDENT OF NEPAL
राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री गठनका लागि आइतवार साँझ पाँच बजेसम्मको समय सीमा दिएर दलहरूलाई आह्वान गरेका छन्।
तर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू शुक्रवार राती नै शितलनिवास पुगेर ओलीका नाममा दाबी पेश गरेका छन्।
यसअघि आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न विफल भएसँगै स्वतः पदमुक्त भएका थिए।

तस्बिर स्रोत, OFFICE OF THE PRESIDENT OF NEPAL
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ: “नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१/३/३० गते आइतवार अपराह्न ५ बजेभित्र पेश गर्न आह्वान भएको छ।”
नेपालको संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ।
यसअघि प्रचण्ड समेत सोही व्यवस्था अन्तर्गत प्रधानमन्त्री नियुक्त भएका थिए।
तर माओवादी नेताहरूले विश्वासको मत विफल भएकाले अब बहुमतका आधारमा नभई संसद्को ठूलो दलले सरकार बनाउनुपर्ने बताउँदै आएका थिए।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सरकार गठनका लागि आह्वान गर्नुअघि आजै राष्ट्रपतिले केही संविधानविद्हरूसँग छलफल गरेका थिए।
राष्ट्रपति कार्यालयले यसअघि आजै जारी गरी गरेको विज्ञप्तिमा अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म प्रचण्डलाई नै कार्य सञ्चालनको जिम्मेवारी तोकिएको जनाइएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








