चिनियाँले 'ह्याकिङ' गरेको अमेरिकी अर्थ मन्त्रालयको आरोप, चीनले के भन्यो?

तस्बिर स्रोत, Getty Images
- Author, नदिन यूसुफ र जो टाइडी
- Role, बीबीसी न्यूज
अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्।
उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्।
उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो।
अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको हो।
अमेरिकी अर्थ मन्त्रालयले उक्त ह्याकिङलाई "ठूलो घटना"को रूपमा चित्रण गरेको छ। त्यसको प्रभावबारे सङ्घीय जाँच ब्यूरो एफबीआई र अन्य निकायहरूले अनुसन्धान गरिरहेको उसले जनाएको छ।
वाशिङ्टन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग उक्त आरोपलाई खण्डन गर्दै त्यो अमेरिकाले जानाजान चिनियाँ प्रतिष्ठामा आँच पुर्याउन गरेको "कुनै पनि तथ्य र आधार विनाको" सार्वजनिक आरोप बताएका छन्।
कसरी भयो ह्याकिङ?

तस्बिर स्रोत, Reuters
अमेरिकी सांसदहरूलाई पठाएको पत्रमा अर्थ मन्त्रालयले चीनस्थित आक्रमणकारीले उक्त मन्त्रालयका कर्मचारीका निम्ति 'रिमोट टेक्निकल सर्भिस' अर्थात् कार्यालयमा उपस्थित नभईकन दिइने प्राविधिक सेवामार्फत् ह्याकिङ गर्न सफल भएको उल्लेख गरिएको छ।
उक्त प्राविधिक सेवा तेस्रो पक्षबाट लिइएको थियो र त्यसको साइबर सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएको बताइएको छ।
मन्त्रालयले 'वियोन्डट्रस्ट' नामक 'रिमोट टेक्निकल सर्भिस' लिइरहेको थियो। त्यसको सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएपछि अहिले उक्त सेवा बन्द गरिएको जनाइएको छ।
त्यसपछि उक्त ह्याकरले अर्थ मन्त्रालयको प्रणालीमा पहुँच पाएको कुनै पनि जानकारी नभएको पनि पत्रमा खुलाइएको छ।
एफबीआईसँगै मन्त्रालयले साइबर तथा पूर्वाधार सुरक्षासम्बन्धी निकायहरू र तेस्रो पक्षका साइबरसम्बन्धी फोरेन्सिक विज्ञहरूसँग मिलेर उक्त आक्रमणको समग्र प्रभावबारे जाँच गरिरहेको बताइएको छ।
हालसम्म थाहा भएका प्रमाणका आधारमा चीनस्थित "एडभान्स्ड पर्सिस्टेन्ट थ्रेट" अर्थात् एपीटीले उक्त ह्याकिङ गरेको देखिएको अधिकारीहरूले जनाएका छन्।
सांसद्हरूलाई लेखेको पत्रमा अर्थ मन्त्रालयका अधिकारीहरूले भनेका छन्, "ट्रेजरी नीतिअनुसार एपीटीको आक्रमणलाई एउटा प्रमुख साइबर सुरक्षासम्बन्धी घटना मानिन्छ।"
गत डिसेम्बर ८ मा 'बियोन्डट्रस्ट'ले विभागलाई ह्याकिङबारे जानकारी गराएको एकजना प्रवक्ताले बीबीसीलाई बताए।
गोप्य दस्तावेज चोर्ने उद्देश्य

तस्बिर स्रोत, Reuters
उक्त कम्पनीका अनुसार डिसेम्बर २ मा पहिलो पटक कम्पनीले शंकास्पद गतिविधिबारे जानकारी पाएको थियो। तर उसलाई ह्याक भएको भन्ने पत्ता लगाउन तीन दिन लाग्यो।
ती प्रवक्ताका अनुसार ह्याकरले अर्थ मन्त्रालयका कैयौँ कर्मचारीहरूको काम गर्ने स्थानमा र ती कर्मचारीले राखेका केही त्यति धेरै गोप्य नभएका दस्तावेजहरूमा पहुँच पाएका थिए।
अर्थ मन्त्रालयले अनधिकृत रूपमा ह्याकरले पहुँच प्राप्त गरेका दस्तावेजहरू कति गोप्य प्रकृतिका थिए र कति लामो समयदेखि ह्याकिङ भइरहेको थियो भनेर खुलाएको छैन।
बियोन्डट्रस्टका अनुसार ह्याकरहरूले शंकास्पद गतिविधि गरिएका ती तीन दिनमा नै एकाउन्टहरू बनाउन र पासवर्ड परिवर्तन गर्न सफल भएको जस्तो देखिएको छ।
जासुसका रूपमा ह्याकरहरूले रकम चोरी गर्ने भन्दा पनि गोप्य सूचनाहरू प्राप्त गर्न खोजिरहेका थिए भन्ने ठानिएको छ।
चीनको खण्डन

तस्बिर स्रोत, Getty Images
अर्थ मन्त्रालयका प्रवक्ताले "सबै खालका साइबर खतराहरू र आफूहरूले राखेका डेटाबारे एकदमै गम्भीर रूपमा लिइने" बताएका छन्। उनले डेटाको सुरक्षाका लागि लगातार काम गरिरहेको पनि स्पष्ट पारे।
अर्थ मन्त्रालयले सांसदहरूलाई आगामी ३० दिनमा उक्त घटनाबारे विस्तृत प्रतिवेदन उपलब्ध गराउने पनि पत्रमा उल्लेख गरेको छ।
अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्यूले अमेरिकी अर्थ मन्त्रालयको सार्वजनिक भएको उक्त विवरणलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले ह्याकरहरू कहाँका थिए र उनीहरूको उत्पत्तिस्थल कहाँ थियो भन्ने पत्ता लगाउन निकै कठिन हुने जनाएका छन्।
"हामी के आशा गर्छौँ भने सम्बन्धित पक्षहरूले साइबर घटनाको चित्रण गर्दा निराधार अनुमान र आरोपको सट्टा पर्याप्त प्रमाणका आधारमा उनीहरूको निष्कर्षमा आधारित व्यावसायिक र जिम्मेवार दृष्टिकोण अपनाउनेछन्," उनले भने।
"अमेरिकाले चीनलाई बदनाम गर्न र निन्दा गर्नका लागि साइबर सुरक्षासम्बन्धी मामिला प्रयोग गर्न बन्द गर्नु आवश्यक छ र चिनियाँ ह्याकिङका धम्कीबारे सबै प्रकारको झूटा जानकारी फैलाउन बन्द गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








