गाजा संघर्षविराम र बन्धक रिहाइ योजना इजरेलद्वारा अनुमोदन

झ्यालबाट हेर्दै प्यालेष्टिनी महिला र बालबालिका

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेल र हमासबीच गाजा संघर्षविरामको पहिलो चरणका बारे सहमति भएपछि मध्यगाजास्थित आफ्नो घरको झ्यालबाट बाहिर हेर्दै प्यालेष्टिनी महिला तथा बालबालिका
    • Author, टम बेनेट
    • Reporting from, जेरुसलेम

इजिप्टमा तीन दिनसम्म चलेको अप्रत्यक्ष वार्ताहरूपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले गत हप्ता सार्वजनिक गरेको २० बुँदे शान्ति योजनाको "प्रथम चरण"लाई इजरेल र हमासले अनुमोदन गरेका बताएका छन्।

"यसको अर्थ सबै बन्धकहरू चाँडै नै रिहा हुने छन् र इजरेलले एउटा बलियो, टिकाउ, र दिगो शान्तिको दिशातर्फको पहिलो कदमका रूपमा आफ्ना सैनिकहरूलाई पूर्व सहमति भएको रेखासम्म फिर्ता लैजाने छ," उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बताएका छन्। प्रथम चरण भन्नाले के के हुन्छ त भन्ने विषयमा थप विवरण भने उनले उल्लेख गरेका छैनन्।

दक्षिणी इजरेलमा सन् २०२३को अक्टोबर ७ तारिखमा भएको हमास नेतृत्वको हमलाको दुई वर्ष दुई दिनपछि यस्तो घोषणा भएको छ। उक्त हमलामा १२०० जना मानिसहरूको ज्यान गएको थियो भने २५१ जना अन्यलाई बन्धक बनाइएको थियो।

उक्त हमलामा दश जना नेपाली नागरिक पनि मारिएका थिए भने एकजना नेपाली नागरिक विपिन जोशी अझै पनि हमासको कब्जामा रहेको विश्वास गरिएको छ।

त्यो हमलापछि इजरेलले गाजामा गरेको ब्यापकस्तरको सैनिक कार्वाहीमा ६७,१०० भन्दा बढीको ज्यान गएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो तथ्याङ्कलाई संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले आधिकारिक मान्ने गर्दछन्।

इजरेली सरकारले गाजामा संघर्षविराम र बन्धक रिहा गर्ने योजनालाई शुक्रवार अनुमोदन गरेको छ। इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले एक वक्तव्य जारी गर्दै त्यस्तो जानकारी दिएको छ।

सहमति के के विषयमा भयो?

अहिले यो सहमतिलाई इजरेली मन्त्रिपरिषद्ले औपचारिकरूपमा स्वीकार गरेको छ र सङ्घर्षविराम लागु हुने अपेक्षा राखिएको छ।

इजरेली सञ्चारमाध्यमहरूमा आएका विवरणहरूका अनुसार सङ्घर्षविराम तत्काल लागु हुने छ। यद्यपि प्रधानमन्त्रीका एक प्रवक्ताले त्यो मन्त्रिपरिषद्ले स्वीकार गरेको २४ घण्टाभित्र कार्यान्वयनमा आउने बताएका छन्।

प्रवक्ताका अनुसार इजरेली सेना पहिले सहमति भएको एक रेखासम्म पछाडि हट्ने छ तर गाजा स्ट्रिपको ५३ प्रतिशत नियन्त्रण भने इजरेलसँगै रहने छ।

गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्सा अनुसार इजरेल पछाडि हट्ने तीन चरणमध्ये यो पहिलो चरण हुने छ।

इजरेली सेनाले बिहीवार भनेको छ - " छिटै नयाँ परिस्थिति अनुरूपको तैनाथी गर्न" तयारीहरू भइरहेका छन्।

त्यसपछि ७२ घण्टे 'काउन्टडाउन' उल्टो गन्ती सुरु हुने छ जतिबेला अहिले पनि जीवित रहेका ठानिएका २० जना इजरेली युद्धबन्दीलाई हमासले मुक्त गर्नु पर्ने छ। तर त्यसले कति समय लिने छ भन्ने स्पष्ट छैन।

त्यसपछि इजरेलले २५० जना प्यालेस्टिनी बन्दीहरू छोड्ने छ जसले इजरेली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका छन् र गाजाबाट नियन्त्रणमा लिइएको १७०० जनालाई पनि मुक्त गरिने प्यालेस्टिनी स्रोतले बीबीसीलाई बताए।

उनीहरूको परिचय अहिले स्पष्ट छैन तर हमासले सहमति हुनु अघि बुझाएको सूचीमा इजरेलीहरूमाथि घातक आक्रमण गरेको आरोपमा कैयौँ आजीवन कारावासको सजाय काटिरहेका उच्च तहका मानिसहरू थिए।

त्यस्तै उच्च तहका बन्दीमध्ये एक मार्वन बरगुटीलाई भने बन्दी साटासाटमा मुक्त नगरिने इजरेली प्रवक्ताले बताएका छन्।

ट्रम्पको योजना अनुसार हरेक मृत इजरेली बन्दीका बदला १५ जना प्यालेष्टीनी बन्दीका शव इजरेलले फिर्ता गर्ने छ।

त्यसपछि मानवीय सहायता सामग्री बोकेका सयौँ लरीहरू गाजा प्रवेश गर्ने छन् जहाँ राष्ट्र सङ्घले समर्थन गरेका एक विज्ञले अगस्ट महिनामा त्यहाँ भोकमरी रहेको पुष्टि गरेका थिए।

ट्रम्पको योजना अनुसार हरेक दिन सामान बोकेका ६०० वटा लरी भित्रिने छन्। तर प्यालेस्टिनी स्रोतका अनुसार सुरुमा कम्तीमा ४०० लरी भित्रिने छन् र तिनको सङ्ख्या क्रमशः बढ्दै जाने छ।

एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाको रेखदेखमा एक बहुराष्ट्रिय फौजले गाजा सङ्घर्षविरामको अनुगमन गर्ने छ।

त्यो बहुराष्ट्रिय फौजमा इजिप्ट, कतार, टर्की र यूएईका फौज सम्मिलित हुने ठानिएको छ। ती अधिकारीका अनुसार त्यो फौजको भूमिका त्यहाँ सङ्घर्षविराम उल्लङ्घन र घुसपैठ नहोस् भनेर "निगरानी र सुनिश्चित" गर्नु हुने छ।

अर्का वरिष्ठ अमेरिकी अधिकारीका अनुसार गाजामा अमेरिकी फौज भने तैनाथ हुने छैन।

अब के हुन्छ?

ट्रम्पको बीसबुँदे योजनाअन्तर्गत पहिलो चरण सम्पन्न भयो भने त्यसपछि अरू चरणका लागि छलफल हुने छ। तर ती बुँदाकै आधारमा सहमति नै हुन सक्ने अवस्था भने छैन।

उक्त प्रस्तावमा दुवै पक्ष सहमत भएमा युद्ध "तत्काल अन्त्य हुने छ" लेखिएको छ।

त्यसमा गाजालाई सैन्यमुक्त क्षेत्र बनाइने र सबै "सैन्य, आतङ्क र आक्रमणका लागि प्रयोग गरिने संरचनाहरू" नष्ट पारिने उल्लेख छ।

उक्त योजनानुसार गाजामा प्यालेस्टिनी प्राविधिक विज्ञहरूको नेतृत्वमा गठित एउटा अस्थायी सङ्क्रमणकालीन समितिले शासन गर्ने अनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अध्यक्षता र ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेअर पनि संलग्न हुने "बोर्ड अफ पीस"ले उक्त समितिको निगरानी गर्ने छ।

प्रशासन प्यालेस्टिनी प्राधिकरणमा सुधार गर्दै गाजा स्ट्रिपको अन्ततः उसलाई हस्तान्तरण गरिने छ।

उक्त योजनानुसार गाजाको प्रशासनमा हमासले कुनै खालको भूमिका पाउने छैन।

शान्तिपूर्ण सह-अस्तित्वप्रति वचनबद्धता व्यक्त गरे हमासका सदस्यहरूलाई आममाफी वा अन्य देशमा सुरक्षित रूपमा जाने अवसर दिइने छ।

कुनै प्यालेस्टिनीलाई गाजा छोड्न बाध्य पारिने छैन भने बाहिर जान चाहने व्यक्तिहरूलाई फर्किन रोकतोक हुने छैन।

विज्ञहरूको एउटा समितिले "गाजा पुनः निर्माण गर्न ट्रम्प आर्थिक विकास योजना" तयार पार्ने छन्।

पछिका अरू चरणबारे कस्तो संशय?

तर सहमतिका अन्य चरणहरूमा हुने छलफलमा केही विवाद हुने देखिन्छ।

हमासले हतियार बिसाउन अस्वीकार गर्दै आएको छ। प्यालेस्टिनी राज्य स्थापित भएपछि मात्र आफूले अस्त्रशस्त्र त्याग्ने हमासको पुरानो अडान थियो।

ट्रम्पले अघि सारेको योजनाबारे गत साता प्रतिक्रिया व्यक्त गर्दा हमासले निरस्त्रीकरणबारे कुनै टिप्पणी गरेन। त्यसबाट उसको धारणामा कुनै परिवर्तन नआएको आशङ्का गरिएको छ।

इजरेल यो योजनामा पूर्णतः सहमत भए पनि युद्ध टुङ्गिएपछि गाजामा प्यालेस्टिनी प्राधिकरण संलग्न हुने विषयमा नेतन्याहूले विमति प्रकट गरेका छन्। गत साता डोनल्ड ट्रम्पलाई भेट्दा उनले प्यालेस्टिनी क्षेत्रको शासनव्यवस्थामा प्यालेस्टिनी प्राधिकरण सहभागी हुन नपाउनेमा जोड दिए।

हमासले पनि भविष्यमा गाजामा आफूले केही भूमिका पाउने आशा राखेको छ।

विवाद उत्पन्न हुन सक्ने अर्को विषय चाहिँ इजरेली सेनाको फिर्ती हो।

इजरेलले गाजाको ५३ प्रतिशत भूभाग नियन्त्रणमा लिएपछि सैनिकहरूलाई प्रथम चरणमा फिर्ता गर्ने जनाएको छ। ह्वाइट हाउसको योजनामा थप सैनिकहरू क्रमशः फिर्ता हुने उल्लेख छ।

अन्तिम चरण चाहिँ "गाजालाई विद्रोही आतङ्कको जोखिमबाट पूर्णतः मुक्त गरेपछि" मात्र हुने छ।

तर यसमा शब्दावली निकै जटिल शब्दावली प्रयोग गरिएको छ र सबै सैनिकहरू फिर्ता गर्नका लागि स्पष्ट समयसीमा तोकिएको छैन। त्यसबारे हमासले स्पष्टता खोज्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।