उपभोक्ता अदालतमा चिकित्सकदेखि चाँदी विक्रेताविरुद्ध मुद्दा, हजारौँदेखि करोडौँसम्मको क्षतिपूर्ति माग

उपभोक्ता अदालत

तस्बिर स्रोत, SHOBHAKAR KHAREL

काठमाण्डूको धुमबाराहीमा बस्ने २८ वर्षीया वर्षा भण्डारीले राजधानीस्थित एक अस्पतालका डाक्टरविरुद्ध ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै उपभोक्ता अदालतमा मुद्दा दर्ता गरेकी छन्।

आफू अस्ट्रेलियामा बस्ने र मोडलिङ पेसामा रहेका कारण खुट्टाको सुन्दरता बढाउने प्रयोजनले प्लास्टिक सर्जरी गरेर 'स्लीम' बनाउन जाँदा झन् बिग्रिएको भन्दै उनले क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेकी हुन्।

सन् २०२४ को फेब्रुअरी १७ र सेप्टेम्बर २५ तारिखमा दुई पटक गरेर गरिएको शल्यक्रियाले आफ्नो तिघ्राको सुन्दरता झन् बिग्रिएको र सङ्क्रमणका कारण लामो समय दुःख पाएको दाबी वर्षाले निवेदनमा गरेको अदालतले जनाएको छ।

"जुन किसिमले उहाँ(डाक्टर)ले स्लीम हुन्छ भन्नुभयो त्यस किसिमले नभएको बरु झनै बिग्रिएको भन्दै गुणस्तरयुक्त सेवा नदिएको कारणले धेरै नोक्सानी भयो भनेर क्षतिपूर्तिको माग गर्नुभएको छ," भण्डारीको मुद्दामा उल्लेखित गुनासो सुनाउँदै उपभोक्ता अदालतका श्रेस्तेदार शोभाकर खरेलले बीबीसीसँग भने।

चैत ११ गते दर्ता भएको यो मुद्दामा मेलमिलापका लागि प्रयास गरिए पनि प्रतिवादी डाक्टर नआएपछि उक्त मुद्दाको पेशी वैशाख २५ गतेका लागि तोकिएको छ।

उपचारमा भएको लापरबाही बारेकै अर्को घटनामा वसन्त गौतमले एक नाम चलेको अस्पतालका डाक्टरविरुद्ध क्षतिपूर्ति दिलाइ पाउँ भन्ने मुद्दा दर्ता गरेका छन्।

आफ्ना बुवाको उपचारका क्रममा अस्पताल र त्यहाँका चिकित्सकले लापरबाही गरेको भन्दै गौतमले दर्ता गरेको मुद्दामा क्षतिपूर्ति स्वरूप ५ करोड रुपैयाँ माग गरिएको अदालतले जनाएको छ।

मुद्दा दर्ता भएपछि प्रतिवादी झिकाएर मेलमिलाप गराउन प्रयास गरिए पनि त्यो सफल नभएपछि यो मुद्दा पेशीमा चढेको अदालतले जनाएको छ।

"प्रतिवादी हाजिर हुन आइसकेपछि छोटो समयका लागि यो मुद्दा मेलमिलापमा पठाइयो। दुई तीन पटक मेलमिलापमा बस्दा पनि मेलमिलाप हुन नसकेपछि अब वैशाख २५ गतेकै लागि पेशी तोकिएको छ," अदालतका श्रेस्तेदारले बताए।

संक्षिप्त कार्यविधि ऐन अनुसार क्षतिपूर्ति माग गरिएका यस्ता मुद्दाहरू तीन महिनाभित्र टुङ्ग्याइसक्नुपर्ने व्यवस्था छ।

अदालतमा मुद्दा दर्ता हुन आएपछि ७ दिनभित्र मुद्दाका विपक्षीलाई म्याद जारी हुन्छ र हाजिरका लागि १५ दिन थमाउने व्यवस्था हुन्छ र थामिसकेपछि अन्य मुद्दा नभएकाले मुद्दा सक्न समय नलाग्ने श्रेस्तेदार खरेलले बताए।

अन्य कस्ता मुद्दा छन् अदालतमा

उपभोक्ता अदालतका अनुसार अदालत सञ्चालनमा आएको छ सातामा अहिलेसम्म चिकित्सकीय लापरबाहीसहित गरेर ६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये दुई वटा भने मुद्दा दर्ता गर्ने निवेदकले नै फिर्ता लिइसकेका छन् भने बाँकी चार वटा विचाराधीन छन्।

उपचारमा लापरबाहीबाहेक मोटरसाइकल, ल्यापटप, गाडी र चाँदीको खरिदमा ठगिएको वा आफूमाथि अन्याय भएको महसुस गरेका उपभोक्ताहरू पनि अदालत पुगेका छन्।

ललितपुर गोदावरीकी साबित्रा खत्री थापाले विशालबजारस्थित एक ज्वेलर्समा चाँदीको मूर्ति किनिन्।

उपभोक्ता संरक्षण ऐन अन्तर्गत कुनै सामान किनेको चित्त नबुझे सात दिनभित्र उक्त सामान सिल नतोडिएको र कतै नकोरिएको अवस्थामा पसलेबाट फिर्ता गराउन वा अर्को सामान किन्न पाउने व्यवस्था छ।

त्यही व्यवस्था अनुसार एक साताभित्रै उक्त मूर्ति फिर्ता गर्न लैजाँदा पसलेले फिर्ता लिँदा आधा मूल्य मात्रै दिएको भन्दै खत्री उपभोक्ता अदालतमा मुद्दा दर्ता गर्न पुगेकी छन्।

पूर्व न्यायाधीशसमेत रहेका मेलमिलापकर्ता भरतमणि खनालले मेलमिलाप गराउन खोज्दा नमिलेपछि उक्त मुद्दा पनि वैशाख २५ गतेका लागि तोकिएको अदालतले जनाएको छ।

"२० हजारसम्म दिएर मेलमिलाप गर्न खोजे पनि साबित्रा खत्री थापाले त्यसमा चित्त नबुझाएपछि मुद्दा पेशीमा चढेको हो," श्रेस्तेदार खरेलले भने।

"उहाँले आफूले आधा रकम मात्रै पाएको, यही कारण यात्रा गर्दा भाडा खर्च भएको र मानसिक क्षतिपूर्ति पनि दिनुपर्न भन्ने जोडेर ३५ हजार ७०० माग गर्नुभएको छ।"

उपभोक्ता संरक्षण ऐन अन्तर्गत उपभोक्ताले आफूमाथि आर्थिक, भौतिक, मानसिक र शारीरिक क्षतिपूर्ति भराइ लिन पाउनुपर्ने व्यवस्था उल्लेख गरेको छ।

"उहाँले आर्थिक क्षति भनेर ४६०० रुपैया, आउँदाजाँदाको भाडा भनेर १५०० रुपैया, मानसिक क्षति भनेर २५०० गरी सबै गर्दा ३५ हजार ७०० रुपैयाँ माग गर्नुभएको छ," श्रेस्तेदार खरेलले भने।

त्यस्तै रामसागर यादवले आफूले गाडी मर्मत गर्दा ठगिएको भन्दै थापाथलीस्थित एक अटोमोबाइल प्रालिलाई विपक्षी बनाइ निवेदन दिएका थिए।

उनले पार्किङमा राखेको गाडीमा बाढीका कारण क्षति पुगेको भन्दै बनाउन लैजाँदा वारेन्टी दिए अनुसार काम नगरिदिएको बताएका थिए।

७७ लाख ७२ हजार ३४५ रुपैयाँ क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दर्ता भए पनि उक्त मुद्दा अहिले फिर्ता भइसकेको छ।

त्यस्तै नानीकाजी खड्काले आफूले किनेको यामाहा मोटरसाइकल पुरानो मोडलको भएको र वारेन्टी अनुसार ब्याट्रीले काम नगरेपछि बनाउन लैजाँदा त्यसको छुट्टै पैसा लिएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ।

मोटरसाइकलको रकम जति पर्‍यो त्यति नै क्षतिपूर्ति अर्थात् ४ लाख ४५ हजार ९०० रुपैयाँ माग गरिएको उक्त निवेदनमाथि मेलमिलापको प्रयास गरिने अदालतले जनाएको छ।

दर्ता भएका ६ वटा मुद्दा मध्ये फिर्ता हुनेमा ल्यापटप किन्ने दृष्टिविहीन ग्राहक पनि छन्।

कीर्तिपुर बस्ने आफूलाई ल्यापटप बेच्दा न्यूरोडस्थित एक पसलले ब्याट्री धेरै नटिक्ने ल्यापटप दिएको उनले निवेदनमा दाबी गरेका थिए।

उनले शारीरिक विकलाङ्ग भएको आफूलाई दु:ख दिएको र आफूसँगै अर्को मानिस सहायताका लागि ल्याउनुपर्नेलगायत क्षतिपूर्ति स्वरूप ९१ हजार ५ सय रुपैयाँ माग दाबी गरेका थिए। तर पछि उक्त मुद्दा फिर्ता लिइएको अदालतले जनाएको छ।

मुद्दाको प्रक्रिया के हुन्छ? कहिलेसम्म टुङ्गिनुपर्छ?

बजार अनुगमन गर्दै वाणिज्य विभागका अधिकारीहरू (फाइल तस्बिर)

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बजार अनुगमन गर्दै वाणिज्य विभागका अधिकारीहरू (फाइल तस्बिर)

घटना घटेको ६ महिनाभित्र क्षतिपूर्ति माग दाबीका लागि अदालतमा मुद्दा पुर्‍याउनुपर्छ।

पक्ष वा पक्ष नभएको हकमा संस्थाले पनि मुद्दा लिएर जान सक्ने व्यवस्था छ। अहिलेसम्म दर्ता भएका मुद्दामा क्षतिपूर्ति दिलाइ पाउँ भन्ने मात्रै मुद्दा परेको अदालतले जनाएको छ।

उपभोक्ता अदालतमा दर्ता भएका मुद्दा त्यहाँबाट निर्णय भएपछि चित्त नबुझे मुद्दाका दुवै पक्ष उच्च अदालतमा जान सक्ने व्यवस्था रहेको छ।

सातै प्रदेशमा उपभोक्ता अदालत सञ्चालनमा ल्याउने सरकारले बताए पनि अहिले भने उपत्यकाका काठमाण्डू, भक्तपुर र ललितपुरका मुद्दा हेर्न मिल्ने गरी काठमाण्डूको त्रिपुरेश्वरमा अदालत सञ्चालनमा आएको छ।

यसर्थ अहिलेका लागि भने उपभोक्ता अदालतको निर्णय चित्त नबुझे मुद्दाका कुनै पनि पक्ष पुनरावेदनका लागि उच्च अदालत पाटन जानुपर्नेछ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिना यसरी उपभोक्ताहरू आफूलाई परेको हानिविरुद्ध मुद्दा लिएर अदालत जान थालेपछि यसले चेतना बढाउने र त्यसले उपभोक्ता ठगिने क्रम क्रमशः घट्दै जाने बताउँछन्।

"उपभोक्तामाथि परेको मर्काका बारेमा अदालतमा जान्छु भन्ने आँट र साहस भयो भने पनि मलाई लाग्छ ९० प्रतिशतभन्दा बढी उपभोक्ता ठगिनबाट बच्ने सम्भावना बढी देखिन्छ," उनले भने।

"उपभोक्तालाई सहज र सुलभ न्यायका लागि उपभोक्ता अदालत महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने हामीले विश्वास लिएका छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।