बाङ्ग्लादेशमा तारिक रहमानले लिए नयाँ प्रधानमन्त्रीको शपथ

तस्बिर स्रोत, Reuters
बाङ्ग्लादेशमा आन्दोलनबाट लामो समयदेखि सत्तामा रहेकी शेख हसिनाको सरकार अपदस्थ भएको १८ महिनापछि भएको निर्वाचनमा विजयी भएका तारिक रहमानले नयाँ प्रधानमन्त्रीको शपथ लिएका छन्।
उक्त निर्वाचनमा रहमान नेतृत्वको मध्यदक्षिणपन्थी दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी)ले बहुमत जितेको थियो।
मङ्गलवार ढाकामा भएको समारोहमा नयाँ मन्त्रिमण्डलका सदस्यहरूले पनि शपथ लिएका छन्।
बहुमतपछि गठित सरकार

तस्बिर स्रोत, BTV
यसअघि बाङ्ग्लादेशमा फेब्रुअरी १२ मा भएको आमनिर्वाचनमा विजयी भएका नयाँ सांसदहरूले आआफ्नो पद तथा गोपनीयताको शपथ लिएका थिए।
मङ्गलवार नै बीएनपीले सर्वसम्मतिले रहमानलाई संसदीय दलको नेतामा चुनेको थियो।
उक्त चुनावमा बीएनपी गठबन्धनले २१२ सीटसहित दुईतिहाइ बहुमत हासिल गरेको थियो।
जमात-ए-इस्लामी गठबन्धनले केवल ७७ सिट जितेको थियो।
नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका तारिक रहमान पहिलो पटक औपचारिक रूपमा पार्टीको नेतृत्वमा आएका हुन् र उनले चुनाव पनि पहिलो पटक लडेका हुन्।
बीएनपीमा बितेको चार दशकसम्म उनकी आमा खालिदा जिया पार्टी अध्यक्ष रहेकी थिइन्। डेढ महिनाअघि आमाको मृत्यु भएको थियो।

बाङ्ग्लादेशको स्वतन्त्रता सङ्ग्रामका प्रमुख नेता तथा तारिकका पिता जियाउर रहमानको हत्या भएपछि खालिदाले पार्टीको नेतृत्व सम्हालेकी थिइन्। खालिदा बाङ्ग्लादेशकी पहिलो महिला प्रधानमन्त्री समेत हुन्।
नयाँ सरकारका सामु अर्थतन्त्रलाई उकास्ने तथा शेख हसिना र उनको दल अवामी लीगको १५ वर्षे कार्यकालमा भएको भनिएको निरङ्कुश शासनपश्चात् प्रजातन्त्र पुनर्स्थापित गर्ने चुनौती रहेका छन्।
शपथग्रहण समारोहमा नेपालसहित भारत, पाकिस्तान तथा अन्य दक्षिण एशियाली देशका नेताहरू उपस्थित थिए।
नेपालका तर्फबाट शपथग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमवार नै त्यसतर्फ प्रस्थान गरेका थिए।
युनुसको 'विवादित' बिदाइ भाषण

तस्बिर स्रोत, BTV
यसैबीच सन् २०२४को अगस्ट आन्दोलनपश्चात् गठन भएको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले मङ्गलवार नै राजीनामा दिएका थिए।
चुनाव सञ्चालन गराएर सरकारबाट बाहिरिँदै गर्दा युनुसले पुन: एकपटक छिमेकी भारतलाई असहज गराउने टिप्पणी गरे।
आफ्नो बिदाइ भाषणमा उनले भने, "हाम्रो खुला समुद्र केवल बाङ्ग्लादेशको भौगोलिक सिमाना होइन, बरु विश्व अर्थव्यवस्थासँग सम्पर्क गर्नाका लागि खुला ढोका पनि हो। यो क्षेत्रमा रहेका नेपाल, भुटान तथा 'सेभन सिस्टर्स'सँग बलियो आर्थिक सामर्थ्य छ।"
पूर्वोत्तर भारतका सात राज्यहरू असम, मेघालय, त्रिपुरा, अरुणाचल, मिजोरम, नागाल्यान्ड र मणिपुरलाई 'सेभन सिस्टर्स' भनेर चिनिन्छ। तर युनुसले आफ्नो टिप्पणीमा भारतको नाम नै नलीकन 'सेभन सिस्टर्स' भनेका थिए।
त्यसरी स्वतन्त्र हिसाबबाट 'सेभन सिस्टर्स'को नाम लिनुको मतलब मोहम्मद युनुसले ती राज्यको राष्ट्रियता अलग रूपमा हेरेका हुन् कि भन्ने भारतमा कतिपयले अर्थ निकालेका छन्। विगतमा पनि युनुसले 'सेभन सिस्टर्स'को नाम लिएर भारतलाई चिढ्याएका थिए।
गत वर्ष चीन भ्रमणका बेला उनले 'सेभन सिस्टर्स'को समुद्रसँग सिमाना नजोडिएको भन्दै बाङ्ग्लादेशलाई तिनको अभिभावक भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















