मानव शरीरबाट 'माटो बनाउने' विधिलाई कानुनी मान्यता

तस्बिर स्रोत, Getty Images
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यले मानव शरीर कुहाएर प्राङ्गारिक मल बनाउने विधि ‘ह्यूमन कम्पोस्टिङ’ वैधानिक मान्यता दिएको छ।
अब मृत्यु भएपछि मानिसको शरीरलाई केही सातामै माटो बनाउन सकिनेछ। शव समाधिस्थलमा गाड्नु वा दाहसंस्कार गरेर जलाउनुभन्दा यो विधि पर्यावरणीय दृष्टिकोणले बढी उपयुक्त हुने ठानिएको छ।
यो विधिलाई ‘न्याचरल अर्ग्यानिक रिडक्शन’ अर्थात् ‘प्राकृतिक प्राङ्गारिक अपचयन’ भनिन्छ। एउटा भाँडोमा बन्द गरेर राखेको केही सातामै शरीर कुहिन्छ।
सन् २०१९ मा वाशिङ्टन राज्यले उक्त विधिलाई कानुनी मान्यता दिएको थियो। त्यसपछि कोलराडो, ओरिगन, भर्मोन्ट र क्यालिफोर्नियाले पनि ह्यूमन कम्पोस्टिङलाई मान्यता दिए।
त्यससम्बन्धी कानुनलाई राज्यकी गर्भनर क्याथी होकुलले शनिवार प्रमाणीकरण गरेकी हुन्।
कसरी गरिन्छ ह्यूमन कम्पोस्टिङ?
यो प्रक्रिया विशेष रूपमा निर्मित संरचनामा गरिन्छ।
काठका टुक्रा, अल्फाअल्फा नामक घाँस र परालसहित शवलाई एउटा भाँडोमा राखेर बन्द गरिन्छ। सूक्ष्मजीवहरूले शव र ती वस्तुलाई बिस्तारै गाल्छन्।


झन्डै एक महिनापछि सङ्क्रामक कीटाणुलाई निष्क्रिय पार्न त्यसरी बाँकी रहेको पदार्थलाई तताइन्छ।
त्यसपछि मृतकका आफन्तलाई त्यसरी बनेको माटो दिइन्छ।
त्यो मलिलो माटो फूल, सागपात वा रूख रोप्न प्रयोग गर्न सकिन्छ।

तस्बिर स्रोत, Getty Images
के छ फाइदा?
परम्परागत समाधि वा दाहसंस्कारको विधिसँग तुलना गर्दा यो विधिबाट एक टन कार्बन जोगाउन सकिने रिकम्पोज नामक एउटा अमेरिकी कम्पनीले दाबी गरेको छ।
जलवायु परिवर्तनमा कार्बन डाईअक्साइड उत्सर्जनको ठूलो भूमिका छ।
उत्सर्जित कार्बन डाईअक्साइडले पृथ्वीको ताप शोषण गर्छ।
त्यो प्रक्रियालाई ‘ग्रीनहाउस इफेक्ट’ भनिन्छ।
शव समाधिस्थलमा गाड्दा काठको शवपेटिका प्रयोग गर्ने चलन छ। त्यसरी अन्तिम संस्कार गर्दा जमिन र अन्य प्राकृतिक स्रोतहरू पनि प्रयोग गर्नुपर्छ।

तस्बिर स्रोत, Getty Images
ह्यूमन कम्पोस्टिङका समर्थकहरूले यो विधि पर्यावरणीय दृष्टिकोणबाट मात्र नभएर शव गाड्न सीमित भूमि भएका ठूला सहरहरूका लागि पनि उपयोगी हुने तर्क गरेका छन्।
तर त्यसरी बनेको माटो के गरिन्छ भन्ने विषयमा केही नीतिसङ्गत प्रश्नहरू उठेका छन्।
न्यूयोर्कका केही क्याथोलिक बिशपहरूले उक्त कानुनको विरोध गरेको बुझिएको छ।
उनीहरूले मानवको शवलाई घरबाट “निस्किएको सामान्य फोहोर” जस्तो गर्न नहुने तर्क गरेका छन्।
कति खर्च लाग्छ?
त्यसरी माटो बनाउने प्रक्रिया कति महँगो हुन्छ भन्ने विषयमा पनि चासो व्यक्त गरिएको छ।
यद्यपि रिक्पोज कम्पनीका अनुसार उसले लिने ७,००० डलर शुल्क अरू उपायसँग तुलना गर्दा त्यति धेरै महँगो नभएको दाबी गरेको छ।
एउटा अमेरिकी निकाय न्याश्नल फ्यूनरल असोसिएशनका अनुसार सन् २०२१ मा शवलाई समाधिस्थ गरेर गरिने अन्तिम संस्कारको औसत खर्च संयुक्त राज्य अमेरिकामा ७,८४८ थियो भने विद्युतीय दाहसंस्कारको ६,९७१ डलर थियो।
स्वीडनमा ह्यूमन कम्पोस्टिङ वैधानिक छ।
यूकेमा कफिनबिनै वा जैविक रूपमा कुहिने शवपेटिका प्रयोग गरेर शव गाड्न पाइन्छ।











