कांग्रेसभित्र किन बारम्बार उठिरहेको छ हिन्दूराष्ट्र ब्युँताउने माग?

फाइल तस्बिर
तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

आगामी साताका लागि तय भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाललाई ‘हिन्दूराष्ट्र’ बनाउनु पर्ने माग ‘पहिलेको तुलनामा’ अझ व्यापक रूपमा उठ्न सक्ने सङ्केत कतिपय नेताहरूले गरेका छन्।

उक्त बैठक नजिकिँदै जाँदा ‘हिन्दूराष्ट्र’ स्थापनाको अभियान चलाइरहेका केही नेताहरूले एउटा छुट्टै घोषणापत्र जारी गर्ने कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन्।

राजनीतिशास्त्री तथा कांग्रेसबारे जानकारहरू पनि ‘हिन्दूराष्ट्र’बारे कांग्रेसभित्र मत बढ्दै गएको बताउँछन्।

उनीहरूका ठम्याइमा त्यसो हुनुमा कतिपय नेताहरूले धर्मलाई राजनीतिका लागि ‘उपयोग’ गर्न सकिन्छ भन्ने ठान्नु एउटा प्रमुख कारण हो।

कतिपयले कांग्रेसभित्र ‘हिन्दूराष्ट्र’को माग उठ्नुलाई भारतको सत्ताधारी हिन्दूवादी दल भाजपाको नेपालमा बढ्दो प्रभावको रूपमा समेत हेर्ने गरेका छन्।

कांग्रेभित्र हिन्दूराष्ट्र अभियान

शङ्कर भण्डारी र लक्ष्मण घिमिरे

तस्बिर स्रोत, Facebook/Lokesh Dhakal

तस्बिरको क्याप्शन, शङ्कर भण्डारी र लक्ष्मण घिमिरे

कांग्रेका केही नेताहरूले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएदेखि नै हिन्दूराष्ट्र पुनर्स्थापनाको अभियान चलाउँदै आएका छन्।

निधन हुनु अघिसम्म कांग्रेस नेता खुमबहादुर खड्काले त्यस्तो अभियानको नेतृत्व गर्दै आएका थिए।

पछिल्ला केही वर्षदेखि भने कांग्रेस केन्द्रीय सदस्य तथा सांसद शङ्कर भण्डारीले त्यस्तो अभियानको अगुवाइ गरेका छन्।

भण्डारी संयोजक रहेको ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’ले विभिन्न गतिविधि गर्नुका साथै पार्टी नेतृत्वलाई त्यसका लागि दबाब दिँदै आएको छ।

उक्त अभियानको आइतवार भएको बैठकले महासमिति बैठकअघि एउटा घोषणापत्र जारी गर्ने निर्णय गरेको र केही पदाधिकारीहरू तोकेको अभियानका सह-संयोजक लोकेश ढकालले जनाएका छन्।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसको आसन्न महासमिति बैठकपूर्व नै… महासमितिमा उठान गर्ने प्रमुख एजेन्डासहितको नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा-पत्र जारी गरिने कार्यक्रमसमेत तय भएको छ।”

त्यसबाहेक पनि नेपाली कांग्रेसका अन्य कैयौँ प्रभावशाली नेताहरूले पनि पटकपटक हिन्दूराष्ट्रको पक्ष तथा सङ्घीयताको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन्।

भण्डारीकै नेतृत्वमा यसअघि पनि महासमिति बैठकअघि हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर सङ्कलन गरेर बुझाइएको थियो।

हिन्दूराष्ट्र पक्षधर के भन्छन्?

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको हालै भएको बैठकमा सहभागीहरू

तस्बिर स्रोत, Facebook/Lokesh Dhakal

तस्बिरको क्याप्शन, सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको हालै भएको बैठकमा सहभागीहरू

संविधानसभामा नेपाली कांग्रेसको प्रमुख सचेतक समेत रहेर संविधान बनाउने क्रमका छलफलमा सहभागीसमेत भइसकेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरे उक्त अभियानको सल्लाहकार परिषद्‌को संयोजक छन्।

उनी संविधान बनाउनुपूर्व नै नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्नु “गम्भीर त्रुटि भएको” दाबी गर्छन्।

विसं २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्‌ले नेपाललाई धर्मनिरपेक्ष बनाएको थियो।

“त्यस बेला त्रुटि मात्र भएको होइन, कुनै छलफल भएर आएको विषय थिएन,” उनले भने।

आफूले संविधानसभामा पनि पटकपटक धर्मनिरपेक्षता र सङ्घीयताका विषयमा जनमत सङ्ग्रह हुनुपर्छ भनेर बोलेको उनको दाबी छ।

नेपालका बहुसङ्ख्यक जनताको भावनाको कदर गर्न कांग्रेसले हिन्दूराष्ट्रको अभियानलाई अघि बढाउनु पर्ने उनको भनाइ छ।

“अहिलेको संविधानले धर्मनिरपेक्षता भन्छ फेरि सनातन धर्मको संरक्षण भन्छ, त्यसले विरोधाभास जन्माएको छ। त्यसको निरूपण गर्न र सबैभन्दा धेरै जनताको भावनाको कदर गर्न कांग्रेसले हिन्दूराष्ट्र मान्नुपर्छ,” उनले भने।

कांग्रेसभित्रको हिन्दूराष्ट्रसम्बन्धी अभियानमा भारतीय सत्ताधारी भाजपाको प्रभावबारे सोधिएको प्रश्नमा उनले भने, “भारतको प्रभाव वा दुष्प्रभाव छाडौँ। … यो देशको बहुसङ्ख्यक जनताको भावनाको कदर गर्दै यो राष्ट्रलाई धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र हुनुपर्छ भन्ने अवधारणा हो।”

उनले नेपाललाई हिन्दूराष्ट्र बनाउन पहिले पार्टीलाई त्यो दिशामा लानुपर्ने भन्दै महासमिति बैठकमा त्यसबारे व्यापक बहस हुने बताए।

धर्मनिरपेक्षता पक्षधर के भन्छन्?

नेपाली कांग्रेस

तस्बिर स्रोत, Facebook/Nepali Congress

कांग्रेस नेता तथा सांसद प्रदीप पौडेल चाहिँ अहिले नेपाली समाजमै हिन्दूराष्ट्रबारे माग उठिरहेकाले त्यसको प्रभाव आफ्नो दलमा पनि पर्नु स्वाभाविक ठान्छन्।

यद्यपि संविधान बनाउन ‘नेतृत्व गरेको दल’का हिसाबले यसको कार्यान्वयन पनि कांग्रेसको दायित्व भएको पौडेल बताउँछन्।

“संविधान बनाउँदा धर्मबारे मौन बसिदिएको भए फरक हुन्थ्यो तर अब बनिसकेपछि यसैलाई कार्यान्वयन गरेर जानु उपयुक्त हुन्छ,” उनले भने।

“संविधानको कुनै प्रमुख धारा वा अवधारणा परिवर्तन गर्ने कुराले त्यो त्यतिमा मात्र सीमित हुँदैन। त्यसको सिलसिला चल्न थाल्छ र संविधान कार्यान्वयन प्रक्रियालाई जटिल बनाउँछ।”

“कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो हो। त्यसैले तत्काल संविधान परिवर्तनको विषय स्वाभाविक हुँदैन।”

हिन्दूराष्ट्रको माग राख्दै आएको भण्डारी नेतृत्वको समूहले सङ्घीयताप्रति पनि असहमति व्यक्त गर्दै आएको छ।

यद्यपि पौडेल कांग्रेसभित्र यस्ता बहस भए पनि संविधानको व्यवस्था परिवर्तन गर्ने दिशामा अहिले पार्टी नजाने विश्वास गर्छन्।

धर्मलाई ‘उपयोग’ गर्ने दाउ

फाइल तस्बिर

तस्बिर स्रोत, Facebook/Nepali Congress

तस्बिरको क्याप्शन, फाइल तस्बिर

कांग्रेसभित्र पछिल्ला वर्षहरूमा धर्मनिरपेक्षता विरोधी मत बढ्दै गएको जस्तो देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

उनीहरूका भनाइमा त्यसका मुख्यतः दुईवटा कारण देखिन्छन्:

  • पहिलो- कांग्रेसको गुम्दो जनमत जोगाउन धर्मको आड लिने दाउ
  • दोस्रो- कांग्रेसभित्र भारतीय हिन्दूवादी सत्ताधारी दल भाजपाको बढ्दो प्रभाव

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, “अहिले कांग्रेस अधोगतिमा छ। राजनीति गर्नेहरूलाई यस (धर्मको राजनीति)ले मतदातालाई अपिल गर्न सकिन्छ कि भन्ने होला।”

“अर्को भनेको भारतीय प्रभाव पनि हो। त्यहाँ (भारतमा) भाजपाको प्रभाव छ। नेपालको राजनीतिमा उत्तर प्रदेश र उत्तराखण्डको व्यापक प्रभाव पर्छ। विशेषगरी योगी (योगी आदित्यनाथ)को प्रभाव नेपालमा हुन्छ।”

उनका भनाइमा अहिले नेपाली कांग्रेस “जेलाई उपयोग गरेर जाँदा सत्ता र राजनीति अघि बढ्छ त्यसैलाई उपयोग गर्ने” हिसाबले अघि बढेको देखिन्छ।

‘मौन समर्थक धेरै’

नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको शृङ्खलाबद्ध इतिहास लेखेका प्राध्यापक राजेश गौतम कांग्रेसभित्र ‘हिन्दूराष्ट्र’ जस्ता मागहरू उसको स्थापनादेखि नै उठ्ने र हराउने गरेको पाइएको बताउँछन्।

यद्यपि यसपालि कांग्रेसको एउटा समूहले उठाइरहेको ‘हिन्दूराष्ट्र’को माग पहिले उक्त दलभित्र उठ्ने अन्य माग र विवादभन्दा भिन्न रहेको उनको भनाइ छ।

गौतम भन्छन्, “कांग्रेसमा हिन्दूराष्ट्र नराख्ने भन्ने मत थिएन तर देशलाई गणतन्त्र बनाउने कुरामा बाध्यतावश ऊ त्यसमा सहमत भएको थियो।”

“कांग्रेसभित्र यसअघि पनि हिन्दूराष्ट्र विरोधी स्वर सशक्त भएको देखिएन। अहिले हिन्दूराष्ट्र बनाउनु पर्छ भन्नेमा कांग्रेसबाहेकका दलहरू पनि लागेका छन् र कांग्रेसमा पनि यो मत बढ्दै गएको देखिएको छ।”

नेपाली कांग्रेस

उनका भनाइमा कांग्रेसभित्र पछिल्ला वर्षहरूमा ‘हिन्दूराष्ट्र’का पक्षमा मौन समर्थकहरू धेरै देखिन थालेका छन्।

गौतम भन्छन्, “बाहिरबाट हेर्दा एउटा समूहले मात्र ‘हिन्दूराष्ट्र’को प्रतिनिधित्व गरेको जस्तो देखिन्छ। यथार्थमा पार्टीका धेरै मानिसहरू त्यसमा सहमत छन्। बिस्तारै नेपाली कांग्रेस त्यो दृष्टिकोणबाटै अघि बढिरहेको जस्तो देखिन्छ।”

“कांग्रेसले खस्कँदो जनमतलाई आफूतिर आकर्षित गर्न हिन्दूराष्ट्रको आड लिन पनि सक्छ।”

दूरगामी प्रभाव

नेपालमा विभिन्न समूहले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका छन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालमा विभिन्न समूहले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका छन्

प्राध्यापक खनाल धर्मलाई राजनीतिमा उपयोग गर्ने प्रयासको गहिरो प्रभाव समाजमा पर्ने बताउँछन्।

नेपालमा पहिले कांग्रेसले धर्मको राजनीति नगरेको तर राजाले आफ्नो वैधानिकता साबित गर्न हिन्दूराष्ट्र बनाएको उनको तर्क छ।

अहिले हिन्दूराष्ट्रको मागले देशभित्र अशान्ति हुनसक्ने र अर्को खालको द्वन्द्वमा धकेल्न सक्ने उनी ठान्छन्।

त्यसका साथै नेपालको राजनीति भाजपामा निर्भर हुन पुग्ने खनालको भनाइ छ।

लेखक गौतम पनि धर्म व्यक्तिको निजी मामिला भएकाले त्यसलाई राजनीतिमा ल्याउने प्रयासले दीर्घकालसम्म समाजमा नकारात्मक प्रभाव पर्न सक्ने बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।