भारतमा नमाज पढ्ने विषयमा विवाद हुँदा विदेशी विद्यार्थीहरूमाथि आक्रमण

गुजरात विश्वविद्यालयको छात्रावासमा भएको घटनामा दुई जना पक्राउ परेका छन्

तस्बिर स्रोत, Gujarat Police

तस्बिरको क्याप्शन, गुजरात विश्वविद्यालयको छात्रावासमा शनिवार राति एउटा समूह प्रवेश गरेको प्रहरीले बताएको छ

भारतको गुजरात विश्वविद्यालयको छात्रावासमा रमजानका बेला नमाज पाठ गर्दै गरेका केही विदेशी विद्यार्थीहरूमाथि आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार प्रार्थना गर्ने ठाउँका विषयमा दुई पक्षबीच विवाद चर्किएपछि शनिवार राति उक्त घटना भएको थियो।

आक्रमणमा परेर घाइते भएका तीन जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो। तीमध्ये एक जना अस्पतालबाट छात्रावास फिर्ता भएका छन्।

भारतको विदेश मन्त्रालयले गुजरात राज्य सरकारले आक्रमणमा संलग्न व्यक्तिहरूमाथि "कडा कारबाही" गर्ने बताएको छ।

शनिवार राति झन्डै २४ जनाको एउटा समूहले विश्वविद्यालयको छात्रावासमा छिरेर त्यहाँ प्रार्थना नगर्न दबाव दिएको अहमदाबाद सहरका प्रहरी आयुक्त जीएस मलिकले संवाददाताहरूलाई बताए।

उनीहरूले ती विद्यार्थीलाई छात्रावासमा नभई मस्जिदमा नमाज पढ्न भनेका थिए।

गुजरात विश्वविद्यालयको छात्रावासस्थित एउटा कोठा

'कोठाकोठामा गएर आक्रमण'

"सो विषयमा उनीहरूले वादविवाद गरे। उनीहरूले कुटपिट गरे र ढुङ्गा हाने। उनीहरूले [विदेशी विद्यार्थीका] कोठामा तोडफोड पनि गरे," मलिकले भने। उनका अनुसार उक्त घटनाबारे अनुसन्धान गर्न एउटा समिति गठन गरिएको छ।

शनिवार घटनास्थलमा पुगेका बीबीसी गुजरातीका संवाददाताहरूले त्यहाँ ढुङ्गा र तोडफोड गरिएका सवारीसाधन देखेको बताएका छन्। अनलाइन माध्यममा प्रेषित भिडिओहरूमा आक्रमण गर्दा उक्त समूहले हिन्दूवादी नारा लगाइएको सुनिन्छ।

घटनामा घाइते भएका अफगान विद्यार्थी नाविद सिद्दिकीले टाइम्स अफ इन्डिया अङ्ग्रेजी पत्रिकालाई रमजानका बेला गरिने रात्रिकालीन विशेष प्रार्थनाका बेला आफूहरूमाथि आक्रमण भएको बताए।

उनका अनुसार छात्रावासमा पहिला बाहिरबाट आएका तीन जनाले आफूहरूसँग प्रश्न गरेका थिए।

"त्यसपछि वादविवाद भयो र उनीहरूल ठूलो भिड लिएर आए। उनीहरूले ढुङ्गा, फलामे पाइप बोकेका थिए, अनि आक्रमण गरे। छात्रावासमा उनीहरूले विद्यार्थीहरूका कोठाकोठामा गएर आक्रमण गरे अनि मालसामान र सवारीसाधनमा क्षति पुर्‍याए," उक्त पत्रिकाले सिद्दिकीलाई उद्धृत गरेको छ।

अफगान विद्यार्थी नोमान (बायाँ) र आक्रमण भएको बेला खिचिएको भनिएको भिडिओमा देखिएका दृश्य

तस्बिर स्रोत, BBC/UGC

तस्बिरको क्याप्शन, अफगान विद्यार्थी नोमान (बायाँ) र आक्रमण भएको बेला खिचिएको भनिएको भिडिओमा देखिएका दृश्य

अर्का अफगान विद्यार्थी नोमानले यसअघि पनि छात्रावासमा आक्रमण भएको बीबीसी गुजरातीलाई बताएका छन्।

"यहाँ अरू देशका विद्यार्थीहरू ठूलो खतरामा छन्," उनले भने।

प्रहरीका अनुसार गुजरात विश्वविद्यालयमा झन्डै ३०० विदेशी विद्यार्थीहरू छन्। तीमध्ये अधिकांश अफगानिस्तान, श्रीलङ्का र अफ्रिकी देशका हुन्।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार घाइते भएका विद्यार्थीहरू भारत सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा त्यहाँ पढ्न गएका हुन्।

बीबीसीले गुजरात विश्वविद्यालयसँग इमेलमार्फत् प्रतिक्रिया लिन खोजेको छ।

'विवाद पुरानै'

विदेशी विद्यार्थीहरू र आक्रमण गर्ने समूहबीच केही समयदेखि तनाव चलेको विश्वविद्यालयका उपकुलपति डा नीरज ए गुप्ताले संवाददाताहरूलाई बताएकी छन्।

"मसँग भएको जानकारीका अनुसार प्रार्थना मुख्य विवादको विषय हैन," उनले भनिन्।

उनले विदेशी विद्यार्थीहरूलाई राम्रो सुरक्षा र सुविधा भएका नयाँ छात्रावासमा स्थानान्तरण गरिने बताइन्।

भारतमा मुस्लिम धर्मावलम्बीले गर्ने प्रार्थनाका विषयमा तनाव देखा परेको यो पहिलो पटक भने हैन। सन् २०२१ मा गुडगाउँमा सार्वजनिक स्थलमा नजाम पाठ गरिएको विषयका कारण कट्टरपन्थी हिन्दू समूहहरूले अवरोध गरेका थिए।

केही साताअघि सडकछेउ नमाज पाठ गर्दै गरेका एक व्यक्तिलाई लात्ती हानेको देखिने भिडिओ सार्वजनिक भएपछि दिल्लीमा एक प्रहरीलाई निलम्बन गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।