मध्य तथा पश्चिम तराईमा शुक्रवारसम्म तातो हावा चल्ने चेतावनी, जोगिन के गर्ने?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
लगातार दुई दिनभन्दा बढी समय ४० डिग्री सेल्सिअसभन्दा बढ्ता तापक्रम देखिन थालेको भन्दै नेपालको जलवायु निकायले शुक्रवारसम्म तातो हावाबाट बच्न उच्च सतर्कता अपनाउन चेतावनी जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागका एक जना मौसमविद् रोजन लामिछानेले खासगरी मधेसदेखि पश्चिमतर्फका तराईका भू-भागका मौसम मापन केन्द्रमा त्यस्तो अवस्था देखा परेको बताए।
त्यसबाहेक चुरे, भित्री मधेस र मध्य पहाडी क्षेत्रमासमेत तातो हावा र तातो लहर सिर्जना हुनसक्ने अवस्थाका लागि सतर्क हुन भनिएको उनी बताउँछन्।
"यस्तो परिस्थितिमा खासगरी दिउँसोको समयमा सजग रहन आवश्यक पर्छ। यस्तो बेला न्यूनतम तापक्रम समेत बढेको पाइन्छ," मौसमविद् लामिछाने भन्छन्।
"पश्चिमी वायुको प्रभाव रहेको समय, तापमान बढ्दा वायुमण्डलमा रहने हावासमेत तात्ने हुनाले तातो लहर सिर्जना हुने गर्छ।"
मौसमसम्बन्धी अधिकारीहरूले कम्तीमा दुई वटा मापन केन्द्रमा लगातार दुई दिनदेखि ४० डिग्री सेल्सिअस तापक्रम देखिँदा त्यस आसपासका क्षेत्रलाई तातो हावाको उच्च सतर्कता घोषणा गर्ने गरेको बताउँछन्।
पूर्वी तराईबाहेक नेपालभरि सबैजसो तल्लो तटीय भागमा उच्च सतर्कता जारी हुनुलाई त्यसको व्यापक प्रभाव रहेको रूपमा हेरिएको छ।
विज्ञहरूले तातो लहरको असरबाट बच्न सावधानीका उपायहरू अपनाउन सुझाव दिएका छन्।
यस्तो अवस्थामा मुख्य रूपमा शरीरमा पानीको मात्रा कम हुन दिनु नहुने र घरभित्रको शीतल परिवेशमा बस्नुपर्ने बताइन्छ।
कहिले हट्छ तातो लहर?
एक जना चिकित्सकले खुला अवस्थामा रहेर काम गर्नुपर्ने श्रमिक, कृषक र साना तथा खुद्रा व्यवसायीहरू यसबाट बढी प्रभावित हुने गरेका बताउँछन्।
नेपालगन्जस्थित भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिशिअन डा राजन पाण्डेले यस्तो अवस्थामा दीर्घरोगी र उच्च बल प्रयोग हुने काममा संलग्न हुनेहरू प्रभावित हुने देखिएको बताए।
"हामीकहाँ सुरक्षाकर्मी, खेलाडी र श्रमिकहरू बेहोस भएर आएका घटनाहरू धेरै पाइन्छन्," डा पाण्डे भन्छन्।
"तर सुरुको अवस्थामा छाला पोल्ने, श्वास फेर्न गाह्रो भएजस्तो, चक्कर लागेजस्तो हुने गर्छ।"

नेपालमा 'प्री-मनसुन' भन्ने गरिएको मार्च, एप्रिल र मे गरी तीन महिनाको अवधिमा तातो हावा चल्ने अवस्था देखिने गर्छ।
"यस्तो उच्च तापक्रम विगत केही वर्षमा देखिन थालेको भए पनि लगातार त्यस्तो रहने प्रवृत्ति बढ्न थालेको पाइन्छ," मौसमविद् रोजन लामिछानेले भने।
"यसको प्रभाव कम गर्नका लागि कि त वर्षा हुनुपर्छ या बादल देखिनुपर्छ। अहिले ११ गतेदेखि १४ गतेसम्मको लागि चेतावनी जारी गरिएकोमा त्यो पुनः थप हुने सम्भावनासमेत छ।"
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको चेतावनीमा यस्तो अवधिमा घाममा बढी नरहने, हल्का लुगा लगाउने, सुतीको कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित रूपमा पानी तथा झोल पदार्थ पिउने लगायतका बानी बसाल्न सुझाइएको छ।
अन्यथा त्यसको असरका रूपमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेजस्ता शारीरिक अवस्था देखा पर्न सक्छन्।
सजगता

तस्बिर स्रोत, Reuters
डा राजन पाण्डे उच्च चेतावनी जारी गरिएका ठाउँमा सम्भव भएसम्म मध्यदिनको घाममा बाहिरी वातावरणमा काम नगर्न सुझाउँछन्।
"निस्कनै पर्ने अवस्थामा खुकुलो लुगा लगाउने, पानी प्रशस्त पिइरहने गर्नुपर्छ। मौसम हामीले फेर्न सकिँदैन, मौसमअनुसार हामी फेरिने मात्र यसका असरबाट जोगिने उपाय हो। त्यसैले बाहिरी वातावरणमा गर्नुपर्ने कामको समय दिउँसोको साटो बिहान-साँझतिर गर्दा सहज हुन्छ।"
उनका अनुसार साना बालबालिका, वृद्ध, दमको समस्या भएका, मुटुरोगी एवं धेरै धूपमान-मध्यपान गर्नेहरूलाई तातो लहरका असर बढ्ता देखिने जोखिम रहन्छ।
शरीरमा उच्च तापमान हुने र पानीको मात्रा कम हुँदाको अवस्थामा रहने एउटा जोखिमबारे डा पाण्डे भन्छन्: "र्याब्डोमयालिसिस भनिने मांसपेशीका तन्तुहरू टुट्ने अवस्था आएर मिर्गौलाले काम नगर्नेजस्तो जटिल अवस्था समेत देखा पर्न सक्छ।"
उनले घाममा श्रम गर्नेहरूको शरीरमा १०६ डिग्री फरेनहाइटसम्म तापमान पुगेर अचेत बनेका घटनाहरू विगतमा देखिएको भन्दै सजग गराउँछन्।

विज्ञहरूका भनाइमा तातो हावाले मुख्यतया डिहाइड्रेट अर्थात् शरीरमा पानी/इलेकस्ट्रोलाइटको मात्रा कम गराउँछ। त्यस्तो असन्तुलनले मानिसमा थकान महसुस गर्ने लैजाने गर्छ।
त्यस्तो अवधि जति लामो समय रह्यो त्यति समस्याहरू सिर्जना हुने बताइन्छ।
ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले तातो दिनमा घरभित्रकै अवस्थाका लागि समेत सजगता अपनाउनुपर्ने उल्लेख गरेको छ।
जसमा भनिएको छ: "निकै तातो दिनमा यदि घरभित्र हुनुहुन्छ भने पर्दा बन्द गर्नुहोस्। तपाईँको घरभित्र भन्दा बाहिर तातो छ भने झ्यालहरू बन्द गर्नुहोस् र घरमा रहेका तापक्रम बढाउने विद्युतीय उपकरण र बत्तीहरू बन्द गर्नुहोस्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








