मलेशियामा नेपाली कामदारले कम काम पाउन थालेका हुन्?

मलेशिया

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्वालालम्पुरमा काम गरिरहेका आप्रवासी कामदार

मलेशियामा केही समयदेखि पहिलाको जस्तो नियमित काम पाउन गाह्रो भइरहेको त्यहाँका आप्रवासी नेपालीहरूले गुनासो गर्न थालेका छन्।

पछिल्लो समस्याबारे कतिपय कामदारका आफन्तले नेपालको वैदेशिक रोजगार विभागमा उजुरी पनि दिएको अधिकारीहरूले बताएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्षले पनि मलेशियामा नेपाली कामदारलाई पछिल्लो समय समस्या भइरहेको बीबीसीलाई बताए।

वैदेशिक रोजगारमा जाने नेपालीहरूमध्ये खास गरी अर्धदक्ष र अदक्ष कामदारका लागि मलेशिया आकर्षक गन्तव्यको रूपमा रहिआएको छ।

हाल मलेशियामा कम्तीमा पाँच लाख नेपाली आप्रवासी कामदारहरू रहेको अनुमान छ।

समस्या के हो?

मलेशियास्थित आप्रवासी कामदारको हकहितको क्षेत्रमा काम गर्दै आएका एक नेपालीका अनुसार कतिपय कम्पनीले माग घटेपछि साप्ताहिक बिदाको समय बढाउन थालेको पाइएको छ।

“माग घटेकोले उत्पादन घटाउनुपरेको भन्दै पहिला हप्तामा एक दिनमात्र बिदा दिने कतिपय कम्पनीले हप्ताको शनिवार र आइतवार दुई दिन बिदा दिन थालेका छन्,” नाम उल्लेख नगर्ने सर्तमा बीबीसी न्यूज नेपालीसँग उनले भने।

मलेशियामा एक कामदार

तस्बिर स्रोत, Reuters

कामदारलाई कतिपय कम्पनीहरूले ‘ओभरटाइम’ अर्थात्‌ तोकिएको भन्दा अतिरिक्त समयमा काम दिन पनि छाडेका कामदारहरूले गुनासो गरेका छन्।

“ओभरटाइम काम दिँदा तलब बढ्ने भएर कम्पनीहरूले काम नदिएका होलान्,” ती नेपालीले भने।

वैदेशिक रोजगार व्यवसायी के भन्छन्?

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेशियामा पछिल्लो समय खास गरी सरसफाइ र सेवासम्बन्धी कम्पनीहरूमा नियमित काम पाउन समस्या देखिएको छ।

“विशेष गरी सर्भिस सेक्टरमा जानुभएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू केही समय कामविहीन भएर बस्नुपरेको हामीलाई जानकारी आएको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

“अहिलेसम्म समस्याले ठूलै रूप त लिइसकेको छैन, तर बजार खस्कँदै गयो भने भविष्यमा धेरै नेपालीले रोजगारी गुमाउन सक्छन्,” भण्डारीले थपे।

नेपाली कामदारहरूको समस्या सम्बोधनका लागि त्यहाँस्थित नेपाली दूतावास र सम्बन्धित कम्पनीहरूसँग आफूहरूले पहल पनि गरिरहेको उनी बताउँछन्।

“तर यहाँबाट हामीले गर्न सक्ने कुरा धेरै हुँदैन,” सङ्घका अध्यक्ष भण्डारीले स्पष्ट पारे।

त्रिभुवन विमानस्थलमा मानिसहरू

तस्बिर स्रोत, RSS

विगतमा काममा जाने नेपालीहरूले भिसा अवधि सकेपछि अझ गर्न चाहनेहरूले थपाएर काम गर्दै आएका थिए।

तर अहिले धेरै कम्पनीले भिसा अवधि थपाउन आवश्यक नरहेको नेपाली कामदारलाई भन्न थालेका विवरणहरू आएका छन्।

  • कम तलबमा जाने गरेका अर्धदक्ष तथा अदक्ष नेपाली कामदारहरूले अतिरिक्त समयमा पनि काम पाउँदा अलि बढी तलब पाउने गर्छन्।

अधिकारीहरूका अनुसार मलेशियामा धेरैजसो नेपाली कामदारले अतिरिक्त समयको बाहेक मासिक १,५०० मलेशियन रिङ्गिट पाउने गरेका छन्। अहिलेको विनिमय दरअनुसार एक रिङ्गिट बराबर २८ नेपाली रुपैयाँ हुन्छ।

नेपाली अधिकारीहरू के भन्छन्?

आफूहरूकहाँ परेका उजुरीहरूलाई अहिलेसम्म सम्बोधन गराइएको वैदेशिक रोगजार विभागका अधिकारीहरूले बताएका छन्।

“त्यहाँ पुगेपछि कति दिनसम्म कामविहीन भएर बस्न बाध्य भएको सम्बन्धमा हामीकहाँ केही उजुरी परेकामा त्यसलाई हामीले कम्पनीसँग सल्टाएका छौँ,” विभागका महानिर्देशक मदन दहालले बीबीसी न्यूज नेपालीसँग भने।

त्योबाहेक अतिरिक्त समय काम नपाउँदा न्यूनतम १,५०० रिङ्गिटभन्दा बढी कमाउन नसकेको केही गुनासो पनि सुनिएको उनले स्वीकारे।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भण्डारीले जस्तै महानिर्देशक दहालले पनि समस्या लम्बिँदै गए आगामी दिनमा गाह्रो हुन सक्ने सङ्केत गरे।

“तत्कालै ठूलै प्रभाव पर्ने त म देख्दिनँ। तर भोलि गएर अन्तर्राष्ट्रियस्तरमै मन्दी भयो भने के भन्न सकिन्छ र?” उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।