अब दाँतमा कीरा लाग्नबाट रोक्न सकिने भएको हो? नयाँ 'जेल' ले खिइएको 'इनामल' फेरि बनाउन सक्ने दाबी

दन्तचिकित्सकले एक महिलाको उपचार गरेको फाइल तस्बिर

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, अनुसन्धान टोलीले यो 'जेल' अर्को वर्ष प्रयोगयोग्य औषधिका रूपमा बजारमा उपलब्ध हुन सक्ने जनाएको छ
    • Author, लिआम बार्न्स
    • Reporting from, बीबीसी ईस्ट मिड्ल्यान्ड्स
  • पढ्ने समय: ३ मिनेट

दाँतको बाह्य सुरक्षात्मक तह 'इनामल' मर्मत गर्न र फेरि बनाउन सघाउने एउटा नयाँ 'जेल'ले दाँतको उपचारमा "नयाँ सम्भावना" खोलिदिन सक्ने उक्त 'जेल'को आविष्कारमा संलग्न वैज्ञानिकहरूले बताएका छन्।

यूनिभर्सिटी अफ नटिङ्गमको स्कूल अफ फार्मेसी र रासायनिक तथा पर्यावरण इन्जिनिअरिङ विभागसँग आबद्ध विशेषज्ञहरू विश्वभरिका अनुसन्धानकर्ताहरूसँग मिलेर 'इनामल'लाई बलियो बनाउने र दाँत मक्किने समस्यालाई रोक्ने प्रयासमा लागेका छन्।

उक्त विश्वविद्यालयका अनुसार उक्त 'जेल' प्रोटीनबाट निर्माण गरिन्छ र त्यसले शिशुहरूमा 'इनामल' बन्दा देखिने "मुख्य तरिकाको नक्कल" गर्छ। उक्त 'जेल'ले थुकमा हुने क्याल्सिअम र फस्फेट आयनहरूलाई आकर्षित गरी बाँध्ने "खट"ले जसरी काम गर्छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वभरि ३.७ अर्ब मानिसहरू मुखसँग सम्बन्धित विभिन्न रोगबाट पीडित छन्। ती समस्याहरू प्रायजसो दाँतको 'इनामल' खिइनुसँग जोडिएका छन्।

'इनामल' खिइने समस्याका कारण सङ्क्रमण हुने, चिसो र तातोप्रति दाँत बढी संवेदनशील हुने र दाँत झर्ने अवस्था पनि निम्तिन सक्छ। त्यस्ता समस्याको सम्बन्ध मधुमेह र मुटुसँग सम्बन्धित गम्भीर रोगहरूसँग पनि हुन सक्छ।

यो अनुसन्धानको नतिजा वैज्ञानिक जर्नल 'नेचर कम्युनिकेशन्स'मा प्रकाशित भएको छ।

इलेक्ट्रोन माइक्रोस्कोपबाट हेर्दा 'इनामल'बाट खनिज पदार्थ हटेको दाँतको तस्बिर (बायाँ) र उपचारपछि खिचिएको दाँतको तस्बिर

तस्बिर स्रोत, University of Nottingham

तस्बिरको क्याप्शन, इलेक्ट्रोन माइक्रोस्कोपबाट खिचिएको तस्बिरमा दायाँपट्टि 'इनामल'बाट खनिज पदार्थ हटेको र खिइएको दाँत देखिन्छ भने दुई साताको उपचारपछि अवस्था सुधार भएको अर्को दाँतको तस्बिर देखिन्छ

अहिले फ्लोराइडजस्ता पदार्थ प्रयोग गरेर खिइएको दाँतको उपचार हुने गरेको छ। त्यस्तो उपचारविधिले दाँतसँग सम्बन्धित केही समस्याहरू हट्ने भए पनि 'इनामल' भने फेरि आफैँ बन्न सघाउँदैन।

उक्त अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक आल्भारो माटाका अनुसार यो नयाँ पदार्थ "सजिलै र तीव्र गतिमा प्रयोग गर्न सकिन्छ"।

"उपचारकर्ता र बिरामीलाई विचार गरेर यो विधि तयार पारिएको हुनाले हामी निकै उत्साहित छौँ," उनले भने।

"हामी पहिलो उत्पादन आगामी वर्ष हात पर्ने र यो नयाँ आविष्कारले विश्वभरिका बिरामीहरू लाभान्वित हुने ठान्छौँ।"

शेफील्डस्थित स्कूल अफ क्लिनिकल डेन्टिस्ट्रीका प्राध्यापक पोल ह्याटनका अनुसार "बिग्रिएको दाँत बनाउन प्राकृतिक 'इनामल' फेरि सिर्जना गर्नु दन्तपदार्थ वैज्ञानिकहरूका लागि वर्षौँदेखि निकै कठिन कार्य" थियो।

यो अनुसन्धान र शोधपत्रले ठूलो उपलब्धि हात परेको सङ्केत गर्ने उनी ठान्छन्।

ह्याटन ब्रिटिश डेन्टल असोसिएशनको स्वास्थ्य तथा विज्ञान समितिका सदस्य हुन् र बायोमटेरिअल्स साइन्स प्राध्यापन गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।