विवादमा परेका बीबीसी प्रस्तोता ह्यू एड्वर्ड्स को हुन्?

तस्बिर स्रोत, PA Media
अश्लील तस्बिरसम्बन्धी विवादको केन्द्रमा रहेका व्यक्ति भनेर परिचय खुलाइएका बीबीसी समाचार प्रस्तोता ह्यू एड्वर्ड्स यूकेका सबैभन्दा प्रतिष्ठित सञ्चारकर्मीमध्ये एक हुन्।
उनी यूकेमा राष्ट्रिय स्तरका मुख्य घटनाहरूको टेलिभिजन प्रस्तुतिका निम्ति बीबीसीको रोजाइमा पर्ने गरेका सञ्चारकर्मी हुन्। त्यो बीबीसीमा उनको उच्च मूल्याङ्कनको प्रतिविम्ब हो।
धेरै दशकदेखि पेसामा सक्रिय अनि विश्वसनीय र शान्त मुद्रामा टेलिभिजनमा प्रस्तुत हुने सञ्चारकर्मीका रूपमा आफ्नो छवि बनाएका र तदनुरूप दर्शकको विश्वास पनि आर्जन गरेका व्यक्ति हुन् उनी।
पछिल्लो विवाद सार्वजनिक हुनुअघिको अन्तिम दिन गत बुधवार टेलिभिजनमा उनले राजा चार्ल्सको स्कटल्यान्ड भ्रमणका लागि भइरहेको तयारीका बारे एडिन्बराबाट रिपोर्टिङ गरेका थिए।
त्यसको एक साता पनि नबित्दै, निकै नराम्रा शृङ्खलाबद्ध आरोपहरूको चर्चामा रहेका व्यक्ति उनी नै हुन् भनेर उल्लेख गर्दै उनकी पत्नीले वक्तव्य जारी गरेपछि ६१ वर्षीय एड्वर्ड्सको प्रसारण करिअर गम्भीर दबावमा परेको छ।
सन् १९८४ मा एक प्रशिक्षार्थीका रूपमा बीबीसी प्रवेश गरेका एड्वर्ड्सले त्यसपछि बीबीसी वेल्सका लागि राजनीतिक संवाददाताका रूपमा काम गरे। त्यसको दुई वर्षपछि उनी बीबीसी वेल्सका संसदीय मामिला संवाददाता बने।
सन् १९९० को दशकको सुरुतिर आइपुग्दा उनी वेस्टमिन्स्टर अर्थात् यूकेको संसद्का लागि बीबीसीका प्रमुख राजनीतिक संवाददाता बनिसकेका थिए।
सन् १९९७ मा त्यति बेला बीबीसी न्यूज २४ भनिने बीबीसी न्यूज च्यानल स्थापित भएदेखि नै उनी त्यसमा देखा पर्ने नियमित अनुहार भएका छन्।

प्रारम्भिक दिनहरूमा यस च्यानलले धेरै प्राविधिक कठिनाइ बेहोर्यो तर चुनौतीपूर्ण समयमा पनि एड्वर्ड्सको ढुक्क र शान्त कार्यसम्पादनबाट बीबीसीको नेतृत्व प्रभावित भएको बताइएको छ।
लगभग सोही समयमा एड्वर्ड्स बीबीसी वनको साँझ छ बजेको समाचार कार्यक्रम सिक्स ओ'क्लक न्यूजका लागि आवश्यक परेको बेला मात्र काममा बोलाइनेप्रस्तोताका रूपमा काम गर्न लागे। सन् १९९९ मा उनी यूकेमा सबैभन्दा धेरै हेरिने गरिएको उक्त समाचार बुलेटिनको एक मुख्य प्रस्तोता बने।
त्यसको चार वर्षपछि उनलाई बीबीसीको प्रमुख बुलेटिन मानिने रातिको दश बजेको मुख्य समाचार, टेन ओ' क्लक न्यूज का लागि पदोन्नति गरियो। त्यसपछि उनलाई बीबीसीका लागि मुख्य राष्ट्रिय घटनाहरूको समाचार प्रस्तुति र प्रत्यक्ष प्रसारणका लागि आग्रह गर्न थालियो।
सन् २०११ मा तात्कालिक ड्यूक र डचिस अफ केम्ब्रिज (राजकुमार विलियम र क्याथरीन मिडल्टन) को विवाह, सन् २०२१ मा तात्कालिक ड्यूक अफ एडिन्बरा (राजकुमार फिलिप) को अन्तिम संस्कार, सन् २०१२ र २०२२ मा महारानी एलिजाबेथको शासनको ६० र ७० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमहरू र सन् २०२३ मा राजा चार्ल्सको राज्याभिषेक उनले प्रस्तुत गरेका केही मुख्य घटनाहरू हुन्।
सन् २०१३ मा नेल्सन मन्डेलाको मृत्युको समाचार पनि उनैले प्रस्तुत गरेका थिए भने सन् २०१६ मा ब्रेक्जिट जनमत सङ्ग्रहको नतिजा सार्वजनिक हुँदा पनि उनी एक प्रस्तोता थिए।
सम्भवत: उनको दशकौँ लामो प्रसारण करिअरको सबैभन्दा महत्त्वपूर्ण क्षण सन् २०२२ को सेप्टेम्बरमा आयो जुन बेला उनले महारानी एलिजाबेथ द्वितीयाको निधन भएको घोषणा गरेका थिए।
महारानीको स्वास्थ्य खराब हुँदै गएको चर्चामाझ उनले त्यस दिन निर्धारित समयभन्दा अगाडि नै काम सुरु गरेका थिए। दिउँसो २ बजेदेखि नै विकसित घटनाक्रम प्रस्तुत गरिरहेका उनले त्यस साँझ कालो टाई लगाएर राष्ट्रलाई महारानीको निधनबारे जानकारी गराएका थिए।
महारानीको अन्तिम संस्कारको कभरेजका लागि उनी सबैभन्दा अगाडि खटिएका थिए। त्यस बेला उनले दर्शकहरूबाट व्यापक प्रशंसा पाएका थिए। त्यसै कभरेजबापत उनी र उनका सहकर्मीले गत महिना टेलिभिजन एन्ड रेडिओ इन्डस्ट्रिज क्लबबाट 'टीआरआईसी अवार्ड' पाएका थिए।

राजपरिवारका मुख्य घटनाहरूको कभरेजका अतिरिक्त निर्वाचन कभरेजका लागि पनि एड्वर्ड्स नै बीबीसीको अनुहार बनेका थिए।
उनी बीबीसीका धेरै कमाउने प्रस्तोताहरूमध्ये एक हुन्। सन् २०१७ मा संसद्ले बीबीसीलाई आफ्ना 'स्टार' प्रस्तोताहरूको तलब सार्वजनिक गर्न बाध्य बनाएपछिको पहिलो वर्ष उनको वार्षिक तलब ५.५ लाख पाउन्ड रहेको थाहा भएको थियो।
आफ्ना प्रतिभाशाली प्रस्तोताहरूका लागि बीबीसीले खर्च गर्ने रकमबारे नकारात्मक समाचारहरू सार्वजनिक भएसँगै केही पुरुष र महिला प्रस्तोताहरूबीचको तलब विभेदबारे पनि चर्चा भएपछि एड्वर्ड्सले कम तलब लिने निर्णय गरे। त्यसको छ वर्षपछि हाल उनको तलब ४.३५ लाख पाउन्ड छ।
सन् २०१२ मा उनले जेम्स बन्ड शृङ्खलाको 'स्काईफल' चलचित्रमा अतिथि कलाकारका रूपमा समेत अभिनय गरेका थिए। उक्त चलचित्रमा उनले ब्रिटिश गुप्तचर निकाय 'एमआई सिक्स'माथिको काल्पनिक आक्रमणबारे बीबीसी न्यूजमा समाचार प्रस्तुत गरेको अभिनय गरेका थिए।
सन् २०२१ मा 'बीबीसी रेडिओ कम्री'का लागि दिएको एक अन्तर्वार्तामा उनले बीबीसीको प्रमुख समाचार प्रस्तोताको भूमिकाको अपेक्षाका कारण त्यस भूमिकामा अब आफूसँग धेरै समय बाँकी नरहेको हुनसक्ने सङ्केत गरेका थिए।
"अझै पनि मलाई यो काम मन पर्छ तर यी २० वर्षपछि मलाई लाग्छ रात्रिकालीन समाचार बुलेटिन कठिन हुन सक्छ," उनले भनेका थिए, "मलाई म त्यो काम लामो समयसम्म गरिरहन्छु जस्तो लाग्दैन... अब दर्शकहरूले पनि (नयाँ प्रस्तोता हेर्ने) मौका पाउनु उचित हुन्छ।"

तस्बिर स्रोत, PA Media
सोही वर्ष उनले आफ्नो करिअरबारे वेल्श भाषामा एक वृत्तचित्र बनाएका थिए। त्यसमा उनले विगत २० वर्षमा आफू धेरै पटक मानसिक अवसादबाट पीडित भएको सार्वजनिक गरेका थिए। आफ्नो मानसिक स्वास्थ्यसँग सङ्घर्ष गर्दा आफू धेरै पटक थला परेको पनि उनले बताएका थिए।
यस्तो विशिष्ट भूमिका निर्वाह गरेका एड्वर्ड्सको करिअरबारे अहिले भने गम्भीर प्रश्न उठेको छ।
"नाम नखुलाइएका एक बीबीसी प्रस्तोताले एक युवाको अश्लील तस्बिरहरू हात पार्न अत्यधिक रकम खर्च गरेको" भनी गत शुक्रवार 'द सन' पत्रिकाले समाचार प्रकाशन गरेपछि उक्त प्रस्तोता को हुन सक्छन् भनी विभिन्न आशङ्का भएका थिए।
त्यसपछि पनि 'द सन' मात्र नभई बीबीसी न्यूजले पनि त्यसैसँग जोडिएका थप आरोपहरूबारे समाचार सार्वजिनक गरेको थियो।
अन्तत: बुधवार उनकी पत्नी बिकी फ्लिन्डले आफ्ना पतिको तर्फबाट एड्वर्ड्सको संलग्नता पुष्टि गरिन्। "प्रथमत: उनको मानसिक स्वास्थ्यबारे चासोका कारण" र आफ्ना पाँच सन्तानको संरक्षणका लागि आफूले त्यसो गरेको उनले बताइन्।
"ह्यू गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित छन्," उनले भनिन्। "पछिल्ला केही दिनका घटनाक्रमले यसलाई अझ खराब बनाएका छन्। हाल उनी अर्को गम्भीर चरणबाट गुज्रिँदै छन् र अस्पतालमा भर्ना भएर उपचार सेवा लिइरहेका छन्। उनी अझै केही समय त्यहीँ रहनुपर्ने हुनसक्छ।"
"प्रकाशित समाचारहरूको विषयमा सम्बोधन गर्न सक्नेगरी सन्चो भएपछि तिनलाई सम्बोधन गर्ने उनको मनसाय छ।"




