बीबीसीसँग सहमतिपछि ग्यारी लिनेकर प्रस्तोताका रूपमा फर्किने, के हो विवाद

ग्यारी लिनेकर र बीबीसी व्यवस्थापनबीच लिनेकरलाई प्रस्तोताका रूपमा बीबीसीमा फर्काउने विषयमा एउटा सहमति भएको छ। यो सप्ताहान्त भएको विवादले बीबीसी स्पोर्टका कार्यक्रमहरू प्रभावित भएका थिए।
“ग्यारी बीबीसीका एक महत्त्वपूर्ण अङ्ग हुन् र मलाई ग्यारीका लागि बीबीसी कति महत्त्वपूर्ण छ भन्ने थाहा छ। म उनले आगामी सप्ताहान्तदेखि हाम्रो कार्यक्रम प्रस्तुत गरेको हेर्न प्रतीक्षारत छु,” बीबीसीका महाप्रबन्धक टिम डेभीले भने।
एउटा विज्ञप्ति प्रकाशित गर्दै डेभीले बीबीसीले आफ्नो सामाजिक सञ्जाल (सोशल मिडिया) निर्देशिकाको स्वतन्त्र समीक्षा गर्ने घोषणा गरेका छन्। उक्त समीक्षा मुख्यतः लिनेकरजस्ता समाचार र समसामयिक विषयवस्तुबाहेकका अरू कुरामा योगदान दिने फ्रीलान्सरहरूमा केन्द्रित हुनेछ।
लिनेकरले पनि एउटा सङ्क्षिप्त विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्: “समाधानको बाटो फेला परेकोमा म खुसी छु। म यो समीक्षालाई समर्थन गर्छु र कार्यक्रममा फिर्ता हुने प्रतीक्षामा छु।”
‘अस्पष्टताका कारण अन्योल’
बीबीसी स्पोर्टको कार्यक्रम प्रसारण हुन नसकेकोमा डेभीले क्षमायाचना गरेका छन्।
“सबै जनाले कर्मचारी, योगदानकर्ता, प्रस्तोता र अझ बढी हाम्रा दर्शकका लागि यो कठिन अवधि हो भन्ने बुझेका छन्। म त्यसका लागि क्षमा माग्छु,” उनले भने।

तस्बिर स्रोत, Getty Images
बीबीसीको सोशल मिडिया निर्देशिकामा विद्यमान केही “अस्पष्टता”ले “अन्योल” सिर्जना भएको उनले स्वीकार गरेका छन्। बीबीसीले सन् २०२० मा उक्त निर्देशिका जारी गरेको थियो।
उनले “आफूले समाधान खोजेको र बीबीसी स्पोर्टको कार्यक्रम पुनः प्रसारण होस्” भन्ने चाहेको बताएका छन्।
उनले बीबीसी र जनसाधारणका लागि निष्पक्षता कति महत्त्वपूर्ण छ भन्ने जनाउन आफ्नो बडापत्रमा त्यसप्रति र अभिव्यक्ति स्वतन्त्रताप्रति बीबीसीले प्रतिबद्धता व्यक्त गरेको बताए।
विवाद के हो?
ग्यारी लिनेकरले शरणसम्बन्धी ब्रिटिश सरकारको नीतिको ट्विटरमा आलोचना गरेपछि बीबीसीले गत साता उनलाई सोशल मिडिया प्रयोगसम्बन्धी विषयमा निर्णय नभएसम्म ‘म्याच अफ द डे कार्यक्रम’ प्रस्तुत नगर्न भनेको थियो।
सरकारको नयाँ नीतिबारे उनले व्यक्त गरेका प्रतिक्रियाहरूले बीबीसीको निष्पक्षतासम्बन्धी नीतिबारे विवाद उत्पन्न भएको थियो।
सामाजिक सञ्जालमा लिनेकरको गतिविधिले बीबीसीले आफ्नो नीति उल्लङ्घन भएको बताएको थियो।
“दलगत राजनीतिका विषय वा राजनीतिक विवादहरूमा” लिनेकरले कसैको पक्ष लिनुनहुने बीबीसीको भनाइ थियो।
शुक्रवार उनलाई ट्वीटका लागि क्षमायाचना गर्न भनिएको थियो। त्यसो नगरेमा उनलाई शनिवार म्याच अफ द डे कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी दिइएको थियो।
लिनेकरले आफू निलम्बनमा पर्ने कुराले नडराएको प्रतिक्रिया दिएका थिए भने बीबीसीको उक्त निर्णयको धेरैले आलोचना गरेका थिए।
बीबीसीको निर्णयको विरोध गर्दै कार्यक्रम प्रस्तोता र कमेन्टेटरहरूले बहिष्कार गरेकाले शनिवार अन्तिम समयमा फुटबल शोहरू प्रसारण भएका थिएनन्। शनिवार राति ‘म्याच अफ द डे’ कार्यक्रमको समय घटाएर २० मिनेट बनाइएको थियो। तर कार्यक्रममा कोही प्रस्तोता वा विज्ञ सहभागी भएनन्।
तर बीबीसीका महानिर्देशकले लिनेकरलाई निलम्बन गर्न सरकारले दबाव दिएको भन्ने आरोपको खण्डन गरेका थिए।
कसरी हुन्छ समीक्षा?
सोशल मिडिया निर्देशिकाको समीक्षाको नेतृत्व एक स्वतन्त्र विज्ञले गर्ने र बीबीसीलाई बुझाउने डेभीले बताएका छन्।
उनका अनुसार ग्यारी पनि त्यसका लागि सहमत भएका छन्।
तर समीक्षाको अवधिमा विद्यमान निर्देशिका यथावत् रहनेछ।
“स्वतन्त्र समीक्षा हुँदै गर्दा आफूले विद्यमान निर्देशिका पालना गर्न ग्यारी सहमत भएका छन्,” डेभीले भने।
लिनेकरले के भने?
आफूप्रति व्यक्त समर्थनका लागि उनले सबै र विशेषगरी बीबीसी स्पोर्टका सहकर्मीहरूलाई धन्यवाद दिएका छन्।
बीबीसी व्यवस्थापनसँग सहमति भएपछि ट्विटरमा प्रतिक्रिया दिँदै केही पोस्टहरू गरेका छन्।
उनले बीबीसीका लागि काम गर्न पाउँदा आफू निकै गौरवान्वित भएको पनि लेखेका छन्।
“म झन्डै तीन दशकदेखि बीबीसीमा खेलकुद प्रस्तुत गर्दै आएको छु अनि विश्वकै सर्वोत्कृष्ट र सर्वाधिक निष्पक्ष प्रसारकसँग काम गर्न पाउँदा म असीमित रूपमा गौरवान्वित छु,” उनले एउटा ट्वीटमा लेखेका छन्।
उनले आफू अब ‘म्याच अफ द डे’ कार्यक्रममा फर्किने बताएका छन्।
उनले एउटा ट्वीटमा बीबीसीका महानिर्देशक टिम डेभीलाई “यो कठिन समयमा सुझबुझका लागि” धन्यवाद दिएका छन्।
लिनेकरले सन् १९९९ देखि म्याच अफ द डे कार्यक्रम प्रस्तुत गर्दै आएका छन्।
उनी बीबीसीबाट सर्वाधिक पारिश्रमिक पाउने हस्तीहरूमध्ये पर्छन्। सन् २०२०-२१ मा उनले झन्डै १३.५ लाख पाउन्ड कमाएका थिए।
उनी बीबीसीसँग फ्रीलान्सरका रूपमा आबद्ध छन्।








