भारतमा एकाएक चर्चामा आएका 'मोहम्मद दीपक'

तस्बिर स्रोत, Asif Ali/BBC Hindi
- Author, गीता पाण्डे र आशिफ अली
- Role, कोटद्वार
- पढ्ने समय: ६ मिनेट
"मेरो नाम मोहम्मद दीपक हो।"
यी सामान्य पाँच शब्दका सहारामा भारतका एक हिन्दूले अर्का मुस्लिम पसलेलाई जोगाएर अचानक नायक बनेका छन्।
दीपक कुमार "धर्मनिरपेक्ष भारतको एक आदर्श" व्यक्ति बनेका छन्। अनि उनी "भारतको बहुलवादको पोस्टर बोइ"का रूपमा चिनिएका छन्।
तर उनले प्रशंसा मात्रै पाइरहेका चाहिँ छैनन्। हिन्दू आस्थामाथि द्रोह गरेको भन्दै उनको विरोध पनि भइरहेको छ। उनलाई ज्यान लिने धम्की समेत आएका छन्।
घटना के हो

तस्बिर स्रोत, Asif Ali/BBC Hindi
उनलाई चर्चाको केन्द्रमा ल्याउने घटना २६ ज्यानुअरीको हो। नेपालको पश्चिमी सीमासँग जोडिएको भारतीय राज्य उत्तराखण्डको कोटद्वारमा खिचिएको एउटा भिडिओ 'भाइरल' भएपछि उनी चर्चामा आए।
उक्त भिडिओमा ४२ वर्षका जिमखाना सञ्चालक दीपक कुमार कट्टरपन्थी हिन्दू समूह बजरङ्ग दलसँग विवाद गरिरहेका हुन्छन्। यो समूह मुस्लिमहरूलाई हैरानी दिएका कारण बेलाबेला समाचारमा आइरहने गर्छ।
उनका अनुसार उनी सँगैको साथीको पसलमा थिए। नजिकैको "बाबा स्कूल ड्रेस एन्ड म्याचिङ सेन्टर" नामको कपडा पसलका सञ्चालक पाका उमेरका वकील अहमदलाई करिब आधा दर्जन मानिसहरूले होच्याइरहेको देखेपछि उनी हस्तक्षेप गर्न पुगे। उनीहरूले पसलको नामबाट 'बाबा' हटाउन ती व्यक्तिलाई दबाव दिइरहेका थिए।
खास गरी हिन्दू समुदायमा धार्मिक गुरुहरूलाई 'बाबा' भनेर बोलाउने गरिन्छ। सँगसँगै आफ्ना बुवा वा हजुरबुवालाई पनि हिन्दू र मुस्लिम दुवैले 'बाबा' भनेर बोलाउँछन्।
बजरङ्ग दलका कार्यकर्ताहरूले कोटद्वारमा 'बाबा' भनेर स्थानीय हनुमानको मन्दिर सिद्धबाली बाबालाई मात्रै चिनिने तर्क गरे। उनीहरूले उक्त नाम मुस्लिम व्यक्तिको पसलमा राख्न नमिल्ने जिकिर गरे।
अहमदका छोराले नाम हटाउन केही समय दिन अनुनय गरिरहेका थिए। तर उनीहरू तत्कालै हटाउन भनिरहेका थिए।
त्यही समयमा दीपक विवाद भइरहेको ठाउँमा पुगे। "त्यसबेलासम्म पसलमा मानिसहरूको भीड लागिसकेको थियो," उनले बीबीसी हिन्दीलाई घटनाबारे सुनाए।
"मुस्लिमहरू भारतीय नागरिक होइनन्?" घटनाको भिडिओमा उनले प्रश्न गरिरहेको सुनिन्छ।
दीपक आफ्नो हस्तक्षेप कुनै रणनीतिक नभई स्वतस्फूर्त भएको बताउँछन्।
"यी केटाहरूले बुढा मान्छेसँग रुखो बोलिरहेको मलाई चित्त बुझेन। धर्मकै कारण तिनीहरूले उनलाई निसाना बनाइरहेका थिए। उनीहरूले मुस्लिमलाई निसाना बनाइरहेका थिए।"
दीपक त्यहाँ नभएको भए के हुन्थ्यो भन्न नसकिने अवस्था रहेको अहमद बताउँछन्। "हामी डराएका थियौँ। आफ्नो कुरा लाद्न उनीहरू जुनसुकै हदसम्म पनि जान सक्थे।"
दीपकले उनीहरूलाई रोकेपछि बजरङ दलका कार्यकर्ताले उनको नाम सोधे।
"मैले मोहम्मद दीपक भनेर आफ्नो परिचय दिनुको कारण म एक भारतीय हुँ भनेर उनीहरूलाई चिनाउनु थियो। मतलब यो भारत हो र जुनसुकै धर्म भए पनि सबै जनालाई यहाँ बस्ने अधिकार छ भन्नु थियो," उनी भन्छन्।
हिन्दू र मुस्लिम नामको अनौठो संयोजन देखेर आश्चार्यमा परेका ती नयाँ व्यक्तिहरू त्यहाँबाट बाहिरिए। तर त्यसको केही दिनपछि १५० जनाभन्दा धेरै बजरङ दलका समर्थकहरू दीपकको जिमखानाबाहिर प्रदर्शन गर्न आइपुगे।
त्यसपछि के भयो
अहमदले दिएको उजुरीपछि प्रहरीले "केही अपरिचित व्यक्तिहरू"विरुद्ध मुद्दा चलाएको छ। दुई जना हिन्दू अभियानकर्मीको उजुरीपछि दीपकविरुद्ध पनि मुद्दा चलाइएको छ।
त्यो प्रदर्शन र प्रहरीको कदम भारतका कैयौँ सञ्चारमाध्यममा समाचारको विषय बनेको छ। हिन्दू भिडले बारम्बार बिनाकारण मुस्लिमहरूमाथि आक्रमण गरिरहेका विवरण आइरहँदा दीपकले गरेको प्रतिवादलाई नायकत्वको रूपमा चर्चा गरिएको छ।
कंग्रेस पार्टीका नेता राहुल गान्धीले दीपकलाई "भारतको नायक" भन्दै प्रशंसा गरेका छन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले "घृणाको बजारमा दीपकले माया फैलाइरहेको" भन्दै देशमा धेरै "दीपकहरू" चाहिएको उल्लेख गरेका छन्।
भारतीय पत्रिका 'इन्डिअन एक्सप्रेस'मा प्रकाशित एक आलेखमा उक्त भिडिओले "व्यापक आशा सञ्चार गरेको" उल्लेख गरिएको छ।
"घृणा र असहिष्णुताले अतिक्रमण गरेको समाजमा दीपकका शब्द औषधिका सुईजसरी आए। ती शब्दले हामीलाई 'वास्तविक भारत'को बोध गराए। जहाँ सबै जनालाई बाँच्ने अधिकार छ, आफ्नो मर्जीअनुसार सास फेर्ने सुविधा छ र आफ्नो पसलको नाम आफूलाई आकर्षक राखेको राख्न पाउने छुट छ," उक्त लेखमा भनिएको छ।
अरू पनि कैयौँ व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत् दीपकप्रति ऐक्यबद्धता जनाएका छन्। हेपाइविरुद्ध उत्रिएकोमा उनको प्रशंसा गरेका छन्। उनको मोबाइल फोन बजेको बज्यै छ। पत्रकार, फोटोग्राफर र अन्य मानिसहरूले उनलाई खोजेका खोज्यै छन्।
इन्स्टाग्राममा उनका 'फलोअर' ह्वात्तै बढेका छन्। ज्यानुअरी २९मा उनले शेअर गरेको भिडिओ ५० लाख भन्दा धेरैले हेरेका छन्।
उक्त भिडिओमा उनले भनेका छन् "म हिन्दू होइन, म मुस्लिम होइन, म शिख होइन, म क्रिश्चिअन पनि होइन। सबैभन्दा पहिले त म मानवजाति हुँ।"
दीपक अहिले के गर्दै छन्

तस्बिर स्रोत, BBC Hindi/Screen grab
दीपक आफूले पाएको नयाँ प्रसिद्धिलाई सामान्य रूपमा लिएर आफ्नो दैनिकी अघि बढाउने तयारीमा छन्। आफ्नो सामान्य हस्तक्षेप यति ठूलो विषय बन्ला भन्ने उनले कहिल्यै ठानेका थिएनन्।
"मैले आफूलाई सही लागेको कुरा मात्रै गरेको हुँ। मैले यो विषय यति ठूलो बन्छ भनेर कहिल्यै सोचेको थिइनँ। अहिले त यो राष्ट्रिय समाचार बन्यो," उनी भन्छन्।
उनको बहादुरीको परिणामले उनलाई चर्चा मात्रै दिएन।
आलोचकहरूले आफ्नो आस्थाप्रति गद्दारी गरेको भन्दै दीपकलाई सामाजिक सञ्जालमा अपमानजनक सन्देशहरू पठाएका छन्। उनलाई कतिपयले ज्यान मार्ने धम्कीसमेत दिएका छन्। बुधवार उनले एक्समा यस्तै एक धम्कीपूर्ण फोन कलको रेकर्डिङ पोस्ट गरेका थिए।
"बजरङ्ग दलले तिमीलाई यत्तिकै छोड्न हुँदैन थियो … म तिमीलाई छिट्टै पाठ पढाउने छु," फोन गर्ने व्यक्तिले उनलाई भन्छन्।
दीपकका अनुसार यस्ता विषयले उनको परिवारमा भने चिन्ता र डर थपेको छ।
"म अहिले ठूलो मानसिक दबावमा छु," उनले सुनाए।
कुनै समय मानिसहरूले भरिने गरेको उनको जिमखाना अहिले रित्तो हुन थालेको छ। यसले उनलाई आर्थिक चिन्ता पनि थपेको छ।
"मेरोमा दैनिक १५० जना भन्दा धेरै मानिसहरू प्रशिक्षण लिन आउँथे। अहिले जम्मा १५ जना आउँछन्। डरका कारण धेरै मानिसहरू आउन छोडेका छन्," उनले भने।
गएको सप्ताहान्तमा विपक्षी सांसद जोन ब्रिटास दीपकलाई भेट्न पुगेका थिए। उनले दीपकलाई "हिन्दूत्ववादी साम्प्रदायिकताविरुद्धको सङ्घर्षमा आशाको किरण" भनेका थिए। आफूले अहिले साम्प्रदायिक धम्कीका कारण सुनसान बन्दै गएको दीपकको जिमको ग्राहक बनेको पनि उनले बताएका थिए।
दीपक आर्थिक सङ्कटमा पर्न लागेको खबर फैलिएसँगै भारतका अन्य ठाउँका मानिसहरू पनि उनको जिमको ग्राहक बन्न थालेका छन्। जोय दास नाम गरेका व्यक्तिले एक्समा पोस्ट गरे, "हामीले एक असल मानिसलाई गुमाउनुहुँदैन।"
धम्की र चिन्ताबीच पनि दीपक आफ्नो बुझाइमा दृढ छन्। भविष्यमा यस्तै अवस्था आयो भने पनि आफू गलत कुराको विरुद्धमा उभिने उनले बताए। "हामी आज चुप बस्यौँ भने भोली हाम्रा सन्ततिले पनि त्यही मौनता सिक्ने छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















