आईपीएलमा विभिन्न कीर्तिमान तर धेरै चर्चा अर्जुन तेन्दुलकरको किन?

तस्बिर स्रोत, ANI
आइतवार इन्डियन प्रिमियर लिग (आईपीएल) का दुई खेल भए। पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई मुम्बई इन्डियन्सले पराजित गर्यो।
दोस्रो खेलमा गुजरात टाइटन्सलाई हराउँदै राजस्थान रोयल्स अङ्क तालिकामा पहिलो स्थानमा छ।
ती दुवै खेलमा कीर्तिमानहरू बनेका छन्। केही कुरा आईपीएलमा पहिलो पटक भएका छन्।
तर धेरै चर्चा आईपीएलमा डेब्यू गरेका अर्जुन तेन्दुलकरको भइरहेको छ।
उनी जस्तै अफगानिस्तानका १८ वर्षीय बायाँ हाते स्पिनर नूर अहमदले पनि डेब्यू गरेका छन्। उनले अर्ध शतक बनाएर आक्रामक देखिँदै गएका राजस्थानका कप्तान सञ्जु सेमसनलाई आउट गरे।
आईपीएल खेल्ने पहिलो बाबु-छोरा
चर्चा भने उनको भन्दा धेरै अर्जुन तेन्दुलकरले पाएका छन्।
उनी भारतका चर्चित (पूर्व) क्रिकेटर सचिन तेन्दुलकरका छोरा हुन्। भारतमा क्रिकेटका प्रशंसकहरूले लामो समयदेखि भारतमा आईपीएलमा उनको डेब्यूको प्रतीक्षा गरिरहेका थिए।
गत वर्ष मुम्बई इन्डियन्सले लगातार खेल हारिरहँदा पनि उनलाई अवसर दिइने अपेक्षा गरेको पाइन्थ्यो।
तर उनलाई एक वर्ष प्रतीक्षा गर्नु पर्यो, अन्ततः २०२३ एप्रिल १६ आइतवार उनी आफ्नो डेब्यू खेल खेल्न मैदान उत्रिए।
यससँगै सचिन तेन्दुलकर र अर्जुन तेन्दुलकर आईपीएलको निम्ति क्रिकेट खेल्ने पहिलो पिता-पुत्र बने।
मुम्बई इन्डियनस टिमले पहिले बलिङ गरिरहेको थियो। टिमका नयाँ कप्तान सूर्यकुमार यादवले अर्जुन तेन्दुलकरलाई बल दिए।
पहिलो खेलमा कस्तो प्रदर्शन?
खेलको पहिलो ओभरको पहिलो बलमा कुनै रन दिएनन्। दोस्रो बलमा दुई रन बन्यो र तेस्रो बलमा एक रन।
चौथो बल जगदीशनको ब्याट छलेर प्याडमा लाग्दा अर्जुनले एलबीडब्ल्यूको अपिल गरे। अम्पायरले अस्वीकार गरिदिए। तर डीआरएस पनि लिइएन।
रिप्लेमा बल स्टम्पभन्दा थोरै माथि गइरहेको देखियो। पावर प्लेमा उनले ५ रन मात्र दिएर आईपीएल करिअरमा राम्रो सुरुवात गरे।

तस्बिर स्रोत, ANI
डेब्यू खेलमा उनलाई दुई ओभर मात्र बलिङ गर्ने अवसर प्राप्त भयो। किनकि तेस्रो ओभरमा बलिङको अवसर पाउँदा पहिलो दुई बलमा रन दिएनन्। तेस्रोमा वाइड बल फ्याँकेका उनको पाँचौँ बल चौका र अन्तिम बल छक्का हुन पुग्यो।
आईपीएलमा अर्जुनको खेल सुरु भएको छ र आउँदा दिनहरूमा उनको प्रदर्शनमा धेरैको चासो रहने ठानिएको छ।
‘विशेष क्षण’
अर्जुनको डेब्यू उनको निम्ति मात्र नभई बुवा सचिन र सम्पूर्ण परिवारको निम्ति विशेष क्षण थियो।
पूर्व क्रिकेटर हरभजन सिंहले टीभीमा कमेन्ट्रिका क्रममा भने, “हरेक बच्चा यस्तो बन्नु छ, यो गर्नु छ भनेर एउटा सपना लिएर हिँड्छ। त्यो पल बुवा र परिवारको निम्ति विशेष क्षण हुन्छ।”
ब्रेकका बेला आफू बधाई दिन पुग्दा सचिनले के भने भन्ने पनि उनले सुनाए।
सचिनको भनाइ उद्धृत गर्दै उनले भने, “मलाई त मैले नै खेलिरहेको छु जस्तो लागिरहेको थियो, ममाथि दबाव यति थियो कि म भित्र गएँ। मलाई स्क्रिनमा देखाए भने त छोरामाथि पनि दबाव बढ्छ भनेर म बाहिर बसिनँ।”

तस्बिर स्रोत, ANI
जबकि मुम्बई इन्डियन्सको म्याचका क्रममा उनी डग आउटमै देखिने गर्छन्।
उक्त म्याचमा टिमले ब्याटिङ गर्दा उनी डग आउटमै देखिएका थिए।
तर सचिनकी छोरी सारा स्टेडियममा बसेर भाइलाई प्रोत्साहित गरिरहेको स्क्रिनमा देखिएको थियो।
सचिनको सन्देश छोरालाई
सचिनले छोरालाई सन्देश दिँदै ट्वीट गरे। पहिलोमा उनले सचेत बनाउँदै लेखे, “मलाई थाहा छ, तिमीले पनि यो खेललाई उत्ति नै सम्मान दिनेछौँ जसको यो हकदार छ र बदलामा खेलले पनि तिमीलाई उत्ति नै माया दिनेछ।”
दोस्रो ट्वीटमा उनले त्यो बिन्दुसम्म पुग्न छोराले निकै कडा मेहनत गरेको स्मरण गरेका छन्।

तस्बिर स्रोत, ANI
अपेक्षामा उनले लेखेका छन्, “म विश्वस्त छु- अगाडि पनि यस्तै गरिरहने छौ, यो सुन्दर यात्राको आरम्भ हो, शुभकामना।”
सचिनको उक्त सन्देश ट्विटरमा करिब ४० लाख पटक हेरिएको छ। एक लाख १३ हजार जतिले लाइक गरेका छन् र ९ हजारभन्दा बढी रि-ट्वीट गरिएको छ।
अर्जुन मैदानमा बल लिएर स्टम्पतर्फ दौडिएपछि नै उनी सोसल मिडिया ट्रेन्डिङ हुन थालिसकेका थिए।
उनलाई बधाई दिनेमा भारतीय टिमका पूर्व कप्तान सौरभ गांगुली र युवराज सिंहसम्म छन्।
उनको बलिङको गतिलाई लिएर कतिपयले आलोचना पनि गरेका छन्।








