चिनियाँ विदेशमन्त्री नियुक्त भएको सात महिनापछि नै पदमुक्त

तस्बिर स्रोत, EPA
चीनले देशका विदेशमन्त्री चिन गाङलाई पदमुक्त गरेको छ। उनी सात महिनाअघि उक्त पदमा नियुक्त भएका थिए।
अब त्यो पद कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले सम्हाल्ने छन्। उनी यसअघि पनि विदेशमन्त्री थिए।
सन्ताउन्न वर्षीय चिन गाङ सार्वजनिक जीवनमा एक महिनादेखि देखा परेका थिएनन्।
यस विषयमा उनको मन्त्रालय पनि मौन रहँदै आएको सन्दर्भमा विभिन्न अनुमानहरू भइरहेका थिए।
उनलाई पछिल्लो पटक गत जुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो।
गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो।
"चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेशमन्त्रीमा नियुक्त गरेको छ," सरकारी समाचारसंस्था सिन्ह्वाले भनेको छ।
"चिन गाङलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ।"

तस्बिर स्रोत, Reuters
उनलाई पदबाट हटाउनुको कारण भने खुलाइएको छैन। तर राष्ट्रपति सीको निर्देशनमा गाङलाई पदमुक्त गरिएको सिन्ह्वाको समाचारमा जनाइएको छ।
चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ।
आशंका

तस्बिर स्रोत, Reuters
एक महिनाअघि चिन आफ्ना सामान्य जिम्मेवारीहरूमा नदेखिँदा र इन्डोनेशियामा एक सम्मेलनमा सहभागी हुन नसक्दा नखुलाइएको स्वास्थ्य समस्या भन्दै एक निकै संक्षिप्त कारण दिइएको थियो।
तर त्यसबारे मन्त्रालयबाट कुनै विस्तृत विवरण नदिइँदा त्यसले अफवाहहरू फैलन सहयोग पुर्याएको थियो।
जसक्रममा गरिएका अनुमानमा उनलाई कि त राजनीतिक कारणले वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको उल्लेख गरिएका थिए।
चीनको इतिहासमा विदेश मन्त्रीको पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्येमा पर्छन्।
दुई वर्षभन्दा कम समय अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए।
त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए। चिनियाँ राष्ट्रपतिका विदेश भ्रमणहरू व्यवस्थापन गर्न सघाएका कारण उनलाई चिनियाँ नेतासँग निकट रहेर काम गर्ने अवसर मिलेको थियो।








