फिलिपिन्स र इन्डोनेशियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

भूकम्पका कारण डभाउ क्षेत्रमा एउटा कार्यालयभित्र पुगेको क्षति

तस्बिर स्रोत, Bureau of Fire Protection

दक्षिण फिलिपिन्सको मिन्डानाओमा शुक्रवार बिहान म्याग्निट्यूड ७.४ को भूकम्प गएपछि सुनामीको जोखिम भएको भन्दै अधिकारीहरूले फिलिपिन्स र इन्डोनिशियाका लागि जारी गरेको फिर्ता लिएका छन्।

संयुक्त राज्य अमेरिकास्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले पनि अब सुनामीको डर नभएको जनाएको छ।

फिलिपिन्समा भूकम्पका कारण कम्तीमा एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। यद्यपि दुवै देशबाट धनजनको क्षतिबारे विस्तृत विवरण आउन बाँकी नै छ।

आवश्यक भएमा संयुक्त राष्ट्रसङ्घीय निकायहरू फिलिपिन्स सरकारलाई सघाउन तयार भएको राष्ट्रसङ्घका फिलिपिन्सस्थित आवासीय संयोकजले बताएका छन्। उनले फिलिपिन्सको अवस्थाबारे बुझ्ने काम भइरहेको भन्दै सम्बन्धित सरकारी निकायहरूसँग समन्वयन गर्ने जनाएका छन्।

फिलिपिन्सका अधिकारीहरूका अनुसार मिन्डानाओको तटीय क्षेत्रमा कैयौँ परकम्पहरू मापन भएका छन्।

फिलिपिन्सको भूकम्प मापन केन्द्रले बिहान गएको भूकम्प म्याग्निट्यूड ७.५ को भएको जनाएको छ। यद्यपि अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय र यूरो-मेडिटेरिरनिअन साइस्मोलजिकल सेन्टरले म्याग्निट्यूड ७.४ मानेको छ।

यसअघि भूकम्पीय गतिविधि निगरानी गर्ने फिलिपिन्सको सरकारी निकायले "घातक र अग्ला छालहरू" आउन सक्ने बताएको छ। सुनामीका छालहरू फिलिपिन्सका केही तटीय क्षेत्रमा सामान्य छालभन्दा तीन मिटर (१० फीट) र इन्डोनेशियामा एक मिटर अग्ला हुन सक्ने ठानिएको थियो।

गत साता पनि फिलिपिन्सको सेबु प्रान्तमा म्याग्निट्यूड ७ को भूकम्पका कारण धनजनको क्षति भएको थियो। उक्त घटनामा ७० जनाको ज्यान गएको थियो भने ५०० जनाभन्दा बढी घाइते भएका थिए।

अस्पतालबाट बाहिर निकालेर बिरामीको उपचार

डभाउ सिटीको एउटा अस्पतालमा बिरामीहरूलाई बाहिर निकालिएको र बाहिरै उपचार गरिएको देखिने तस्बिर

तस्बिर स्रोत, PTV Davao

तस्बिरको क्याप्शन, भूकम्प गएपछि डभाउ सिटीको एउटा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको छ

सरकारी प्रसारण संस्था पीटीभीले भूकम्प गएपछि डभाउ सिटीको एउटा अस्पतालमा बिरामीहरूलाई बाहिर निकालिएको र बाहिरै उपचार गरिएको देखिने तस्बिरहरू सार्वजनिक गरेको छ। उक्त स्थान भूकम्पको केन्द्रबिन्दुनजिकै पर्छ।

फिलिपिन्स र इन्डोनेशियाका केही स्थानमा शुक्रवार बिहान विद्यालयमा पठनपाठन स्थगित भएको छ।

भूकम्पका कारण फिलिपिन्सको डभाउ ओरिअन्टलमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने इन्टरनेटको गति घटेको जानकारी फिलिपिन्सको आपत्कालीन सेवाले फेसबुक पेजमार्फत् दिएको छ।

अधिकारीहरूले डभाउ क्षेत्रमा 'रेड एलर्ट'जारी गर्दै भूकम्पका कारण पुगेको प्रभावका कारण सबैभन्दा उच्च तहमा विपद् प्रतिकार्य गरिने जनाएका छन्।

यद्यपि त्यहाँ कस्तो खालको र कति क्षति पुगेको छ भन्ने स्पष्ट हुन बाँकी नै छ।

इन्डोनेशियामा 'सानो सुनामी'

इन्डोनेशियाको भूकम्प र सुनामी केन्द्रका प्रमुखले इन्डोनेशियाको समुद्री क्षेत्रमा १७ सेन्टिमिटर (६ इन्च) अग्ला छालहरू मापन गरिएको बताए। "हामी तिनलाई सानो सुनामी भन्छौँ," उनले भने।

अधिकारीहरूले उत्तर सुलावेसी र पपुवा क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका थिए।

भूकम्पीय गतिविधि निगरानी राख्ने इन्डोनेशियाली निकायको तथ्याङ्कले दक्षिण सुलावेसीको तालाउद द्वीपमा छालहरूको उचाइ ३.५ देखि १७ सेन्टिमिटरसम्म पुगेको देखिएको थियो।

भूकम्पको केन्द्रबिन्दुनजिकै पर्ने इन्डोनेशियाको मियान्गास द्वीपमा स्थानीय समयानुसार बिहान १० बजे (३ः०० जीएमटी) मा भुइँचालो गएको तर सुनामी भने उत्पन्न नभएको एक स्थानीय शिक्षिकाले बताइन्।

मानिसहरूलाई अन्यत्र सार्न निर्देशन

डभाउ ओरिअन्टलमा एक गर्भवती महिलालाई एम्बुलेन्सबाट निकालेर अस्पतालतिर लग्दै प्रहरीहरू

तस्बिर स्रोत, Bureau of Fire Protection

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनिअरले मध्य र दक्षिणी फिलिपिन्सका केही तटीय क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान आह्वान गरेका थिए। फेसबुकमा लेख्दै उनले खोज तथा उद्धार र राहतको काम सकेसम्म चाँडै गरिने आश्वासन पनि दिएका छन्।

उनले सबै प्रभावित क्षेत्रका मानिसहरूलाई समुद्री तटबाट टाढा जान र सरकारी निकायले खतरा हटिसकेको घोषणा नगरेसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएका थिए।

"सहायता आवश्यक परेका मानिससम्म पुग्न हामी अहोरात्र काम गर्दै छौँ," उनले भने।

भूकम्प गएपछि सुनामी कसरी उत्पन्न हुन्छ

सुनामी उत्पन्न हुँदाको चित्राङ्कन

पृथ्वीको बाहिरी पत्र अलगअलग खण्डमा बाँडिएका हुन्छन्। तिनलाई 'टेक्टोनिक प्लेट' भनिन्छ।

ती प्लेटमा हलचल हुँदा भूकम्प जान्छ र ठूलो मात्रामा ऊर्जा निस्किन्छ। समुद्रभित्र भूकम्पका कारण पानीको तह र गति खलबलिन्छ। पानीको प्रवाहको गति बढ्छ र सबै दिशातिर फैलिन्छ। त्यसरी बनेको सुनामी तटरेखासम्म पुग्न सक्छ।

विज्ञहरूका अनुसार सुनामीका छाललाई भूकम्पको केन्द्रबिन्दुबाट अन्य स्थानमा पुग्न विमानलाई एउटा सहरबाट अर्कोमा पुग्न लाग्नेजत्तिकै समय लाग्छ।

यद्यपि सबै भूकम्पले सुनामी उत्पन्न गराउँदैनन्। सुनामी उत्पन्न गराउनका लागि भूकम्प झन्डै म्याग्निट्यूड ८ को हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।