राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै

तस्बिर स्रोत, AIIMS/Twitter
एअर एम्बुलेन्सबाट उपचारका लागि भारतको नयाँ दिल्ली पुर्याइएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा "सुधार देखिएको" दिल्लीस्थित नेपाली दूतावास र उनको परिवारका सदस्यले जानकारी दिएका छन्।
दूतावासले बिहीवार अपराह्न सार्वजनिक गरेको जानकारीमा उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राष्ट्रपति "आफैँले खाना खान थालेको" जानकारी दिए।
“उहाँको अवस्थामा सुधार देखिएको छ तर हिजोदेखि दिइएका औषधिको प्रभाव देखिन अझै केही दिन लाग्न सक्छ भनिएको छ,” उनले टेलिफोनमा भने।
“उहाँले खाना आफैँ खाइरहनुभएको छ।“

छाती र कोखामा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधवार नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेस ‘एम्स’ पुर्याइएको थियो।
दिल्लीमै रहेका छोरा चिन्तन पौडेलले राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बताए।
“हिजोभन्दा सुधार हुँदै गएको हामीले महसुस गरेका छौँ,” पौडेलले बीबीसीसँग टेलिफोनमा भने।
उनका अनुसार चिकित्सकहरूले स्वास्थ्य अवस्था जाँचसँगै विभिन्न परीक्षणहरू पनि गराएका छन्।
“औषधिको कोर्स पनि अलिकति परिवर्तन भएको छ। उपचारको प्रक्रियामा हेरफेर भएको छ,” उनले भने।
राष्ट्रपतिलाई भएको के हो?

तस्बिर स्रोत, President Office
विगत केही सातायता समस्या देखिएको राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधार नभएपछि नेपाल र भारत दुवैतर्फका चिकित्सकहरूको सुझावअनुसार उनलाई बुधवार बिहान एअर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो।
पौडेल चैत १८ गते पनि “पेटमा समस्या देखिएपछि” महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उपचारमा संलग्न निजी चिकित्सक डा. नीरज बमले त्यस बेला राष्ट्रपतिको “बायाँ कोखा र पेटको भाग दुखेको” बीबीसीसँग बताएका थिए।
पुनः समस्या देखिएपछि वैशाख ४ गते अस्पताल लगिएका राष्ट्रपतिको छातीको तल्लो भागमा तरल पदार्थ देखिएको जानकारी अस्पतालले दिएको थियो।
राष्ट्रपतिलाई सङ्क्रमण भएको आशङ्कामा एन्टिबायोटिक औषधिहरू चलाइएको तर औषधिको प्रयोगपछि पनि अपेक्षित सुधार नभएपछि भारत लगिएको बताइएको छ।
कतिपयले राष्ट्रपतिलाई देखिएको स्वास्थ्य समस्याको नेपालमै उपचार हुनसक्ने भन्दै उनलाई विदेश लगिएकोमा आलोचना गरेका छन्।








