अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु

तस्बिर स्रोत, EPA
अस्ट्रेलियाको सिड्नीस्थित एउटा सपिङ मलमा मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा हानिएको घटनामा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
अन्य कैयौँलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ।
प्रहरीको गोली लागेर आक्रमणकारीको पनि ज्यान गएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
आक्रमणकारी ४० वर्षे पुरुष भएको र अहिलेसम्म पाइएको विवरण अनुसार उनी एक्लैले उक्त आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ।
त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको बताइएको छ।
प्रहरीले अब त्यहाँ निरन्तर खतरा नरहेको बताएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्रीले घटनाप्रति दु:ख व्यक्त गर्दै जनताको सुरक्षा सरकारको प्राथमिकता भएको बताएका छन्।

तस्बिर स्रोत, EPA
घटनास्थल
उक्त आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको थियो भने प्रहरीले व्यापक कारबाही गरेको थियो।
अधिकारीहरूले दिएको जानकारी अनुसार बोन्डाई जक्शनस्थित वेस्टफिल्ड मल भित्र उक्त आक्रमण भएको थियो।
आक्रमणलगत्तै घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा शेअर गरिएका थिए।
आक्रमणकारीको छुरा प्रहारबाट मारिने ६ जनामा पाँच जना महिला रहेको प्रहरीले जनाएको छ।
पाँच जना महिलामध्ये एक जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने अन्यको घटनास्थलमै ज्यान गएको थियो।
प्रत्यक्षदर्शी के भन्छन्?

प्रहरीले त्यहाँको समय अनुसार अपराह्ण ४ बज्नै लाग्दा एक जना पुरुषलाई गोली हानिएपछि अवस्था संवेदनशील बनेको घोषणा गरेको थियो।
त्यसपछि आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको थियो।
आक्रमणपछि प्रहरीले उक्त क्षेत्रलाई खाली गरिएको थियो।
त्यस लगत्तै घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए।
सामाजिक सञ्जालमा शेअर गरिएको भिडिओमा एकजना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ।
एकजना प्रत्यक्षदर्शीले रोएटर्स समाचार संस्थालाई कोही घाइते भएर लडिरहेको र अन्यले के भएको रहेछ भनेर हेरिरहेको देखेको बताएकी छन्।
उनले भनिन्, "त्यसपछि हामीले ती सबै मानिसहरू हामीतिर दौडिरहेको देख्यौँ र हामीले गोली चलेको सुन्यौँ। मेरो श्रीमान्ले हामीलाई तानेर एउटा पसलभित्र लगे। हामीले त्यहाँकी महिलालाई ढोका लगाउन मद्दत गर्यौँ। ढोका थुनेर हामी प्रहरी नआउन्जेल त्यहाँ बस्यौँ।"
प्रधानमन्त्रीले के भने?

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले उक्त आक्रमणमा मारिएकाहरूप्रति श्रद्धाञ्जली र मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले उक्त घटनाको विवरण समेत दिँदै "त्यो एक जना व्यक्तिले एक्लै गराएको" र त्यसको "उद्देश्य के थियो" भन्ने थाहा नभएको बताए।
उनले भने, "आज यो रातमा हामी के भन्न सक्छौँ भने- उक्त पीडादायी घटनाबाट प्रभावित जोसुकै अस्ट्रेलियालीको दु:खमा हामी हरेक अस्ट्रेलियालीहरू साथमा छौँ।"
उनले उक्त घटनाका कारण अस्ट्रेलियाली जनताहरू निकै स्तब्ध बनेको पनि बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








