ट्रम्प अर्गनाइजेसन करछलिको मुद्दामा दोषी ठहर, डोनल्ड ट्रम्पलाई कस्तो असर पर्ला?

तस्बिर स्रोत, Reuters
पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पारिवारिक घरजग्गा कम्पनी करछली र अन्य आर्थिक अपराधमा दोषी ठहरिएको छ।
मङ्गलवार न्यूयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनलाई सबै अभियोगमा दोषी पाएका हुन्।
उक्त कम्पनीमाथि १७ अभियोग लगाइएका थिए जसमा षड्यन्त्र, झुटा प्रतिवेदन र वर्षौँदेखि आफ्ना कार्यकारीका लागि करछलीका प्रकरण चलाएको कुरा समावेश थिए।
उक्त व्यवसाय पूर्व राष्ट्रपतिको पर्यायका रूपमा छ तर सुनुवाइमा ट्रम्प र उनका परिवारका कुनै सदस्य सहभागी भएनन्।
र उनीहरूमाथि कुनै अभियोग लगाइएको छैन।
डोनल्ड ट्र्म्पलाई के फरक पर्छ?
तर अभियोजनकर्ताहरूले ट्रम्पले कर छलीमा मन्जुरी दिएको स्पष्टसँग देखिएको आरोप लगाएका थिए।
त्यस्तो अभियोगले उनको सन् २०२४ को राष्ट्रपतिमा उठ्ने प्रयासलाई असर पार्न सक्छ।
उक्त फैसलाप्रति पुनरावेदन गरिने बताउँदै ट्रम्पले आफू "निराश" भएको बताउँदै उक्त घटनालाई पुनः ‘विच हन्ट’ अर्थात् बदलाको नियतले छानेर कारबाही गरेको को रूपमा व्याख्या गरे।
उक्त कम्पनी एक दशकभन्दा बढी समयदेखि आफ्ना शीर्ष कार्यकारीहरूलाई अपारदर्शी ढङ्गले मुनाफा दिएकोमा दोषी पाइएको हो।
कम्पनीलाई असर
कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्कहरू रहेको अभियोजनकर्ताहरूले बताएका छन्।
उनीहरूको तलब कम तय गरिँदा त्यसले व्यवसायले तिर्नुपर्ने कर कम गर्छ।
उक्त कम्पनीले १६ लाख अमेरिकी डलर जरिबाना तिर्नुपर्ने हुनसक्ने अपेक्षा गरिएको छ।
र उसले भविष्यमा ऋण सुनिश्चित गर्न र लगानी गर्न समेत कठिनाइ सामना गर्न सक्छ।
बचाउ
लामो समय सँगै काम गरेका आफ्ना पूर्व प्रमुख आर्थिक कार्यकारी एलन विसेलवर्गले कम्पनीविरुद्ध बयान दिएपछि ट्रम्पले उनी विरुद्ध समेत रोष पोखेका थिए।
आफ्नो सबैभन्दा पछिल्लो वक्तव्यमा आदेशप्रति रोष पोख्दै ट्रम्पले विसेलवर्गको "व्यक्तिगत आचरण"का लागि किन ट्रम्प अर्गनाइजेसनमाथि अभियोजन चलाइएको भनेका थिए।
ट्रम्पले विसेलवर्गलाई "आफ्ना व्यक्तिगत करफिर्तीमा करछली गरेको" आरोप लगाए।
"हामी त्यसबेला निकै सम्मानित र महँगो लेखा कम्पनी, र कानुनी कम्पनीमा यो काम गर्नका लागि भर परेका थियौँ," आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा ट्रम्पले भनेका छन्।
"यो मुद्दा अभूतपूर्व छ र…हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो विच हन्टको निरन्तरता हो।"

तस्बिर स्रोत, Reuters
'छलकपटको संस्कृति'
उनले ट्रम्प हुनका लागि न्यूयोर्क सहर अब "कठिन ठाउँ" भएको बताएका छन्।
छ साता लामो सुनुवाइमा अभियोजनकर्ताहरूले ट्रम्प अर्गनाइजेसनमा "छल र कपटको संस्कृति रहेको" आरोप लगाएका थिए।
उक्त कम्पनीको विश्वभर होटलहरू, गल्फ कोर्सहरू र घरजग्गा सम्बन्धी सम्पत्तिहरू छन्।
ट्रम्पले यसअघि उक्त सुनुवाइलाई राजनीतिक मनसायले प्रेरित बताएका थिए।








