हातैले ढल सफा गर्ने भारतीयहरूको अन्त्यहीन पीडा

अञ्जना

तस्बिर स्रोत, PAVAN JAISWAL/BBC

तस्बिरको क्याप्शन, ढल सफा गर्ने क्रममा अञ्जनाका पतिको निसास्सिएर मृत्यु भएको थियो
    • Author, रोक्सी गग्डेकर छारा
    • Role, बीबीसी न्यूज गुजराती

भारतको पश्चिमी राज्य गुजरातमा रहेको एउटा अँध्यारो छाप्रोमा अञ्जना आफ्नो सानो छोरालाई हातमा लिइरहेकी थिइन्। आफ्नो छोराको नाम उनका बुवाको नामबाट राखिएको भन्दा उनका आँखा आँसुले डम्म भरिए।

अञ्जनाका पति उमेश बामनियाको छोरा जन्मिनुभन्दा १० दिनअघि ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो। त्यो कामबाट उनले दुई हजार भारतीय रुपैयाँ कमाउँथे। उनको शव गुजरातस्थित थराद नगरमा ढलभित्र भेटिएको थियो। उनी जम्मा २३ वर्षका थिए।

दैनिक रोजीरोटी कमाउने उमेशको मृत्युले अञ्जना विक्षिप्त बनिन्। “मैले आफ्नो बच्चालाई कसरी हुर्काउने अनि पढाउने?” उनी प्रश्न गर्छिन्।

गुजरातबाट सयौँ कोष टाढा पर्ने भारतको दक्षिणी राज्य तमिल नाडुमा अन्नाम्मा अञ्जनाकै जस्तो अवस्थामा छिन्।

उनका ४० वर्षीय पति मोसेसको चेन्नाइस्थित एउटा कारखानाको नालीमा निसास्सिएर गत सेप्टेम्बरमा ज्यान गएको थियो।

जात व्यवस्थाको बोझ

उनको मृत्युसम्म अन्नाम्मालाई आफ्नो पति नाली सफा गर्ने काम गर्छन् भन्ने थाहा थिएन। "उहाँले हामीलाई चमेना गृहमा काम गर्छु भन्नुभएको थियो र कहिलेकाहीँ दैनिक ज्यालादारीको रूपमा पनि काम गर्नुपर्छ भन्नुभएको थियो," उनले भनिन्।

अन्नाम्माका दुई छोरी छन् र उनी अझै पनि पतिको मृत्युले मर्माहत छिन्। "कसरी बाँच्ने वा पैसाको कुरा छोड्नुस्, मैले आफ्ना छोरीलाई उनीहरूका बुवा सेप्टिक ट्याङ्क सफा गर्दा बित्नुभो भनेर कसरी भन्ने?"

उमेश र मोसेस तथाकथित तल्लो जातका हजारौँ सरसफाइ कर्मचारीमध्येका हुन् जो नाली, सेप्टिक ट्याङ्क, शौचालय र ढलहरू हातैले सफा गर्छन्। उनीहरूलाई आम रूपमा हातैले नाली सफा गर्ने मानिस (म्यानुअल स्काभेन्जर्स) भनेर चिनिन्छ तर विज्ञहरू भने त्यो शब्दको कानुनी परिभाषामा रेलवेको ट्र्याक र अव्यवस्थित शौचालयजस्ता ठाउँहरूमा सरसफाइ र मानव फोहोर व्यवस्थापन गर्ने मानिसहरू मात्र बताउँछन्।

भारतमा म्यानुअल स्काभेन्जिङको काममाथि प्रतिबन्ध लगाइएको छ। तर जातको कडा नियमका कारण र रोजीरोटीको विकल्प नभएका कारण यस्तो काम अझै पनि धेरै मानिसले गर्छन्।

ती मानिसलाई स्थानीय सङ्घसंस्था र ठेकेदारहरूले प्लास्टिक र हिलोका कारण बन्द भएका नाली र ढलहरू सफा गर्न लगाउँछन्।

'लाखौँ' मानिसको जीवन जोखिममा

हालको नरेन्द्र मोदी नेतृत्वको लगायतका सङ्घीय सरकारहरूले भारतलाई त्यस्ता सफाइ कर्मचारीबाट मुक्त गर्ने घोषणा धेरै पटक गरेका छन्। त्यसका लागि पछिल्लो पटक गत अगस्टमा तय गरिएको समयावधि पनि नाघेको छ।

यस्तो काममा कति मानिस संलग्न छन् भन्ने विषयमा यकिन जानकारी छैन।

सन् २०२१ मा एक सङ्घीय मन्त्रीले संसद्‌मा बोल्दै सरकारले पहिले एक सर्वेक्षणमार्फत् देशैभरि हातैले नाली सफा गर्ने मानिसहरूको सङ्ख्या ५८,०९८ रहेको पहिचान गरेको बताएका थिए। तर “त्यसरी हातैले ढल वा नाली सफा गर्ने काम अहिले भएको भन्ने विवरण नरहेको” उनले बताएका थिए।

हातैले नाली सफा गर्ने काम पूर्ण रूपमा बन्द गर्न गठित संस्था सफाइ कर्मचारी आन्दोलनका अनुसार भारतभरि ७,७०,००० भन्दा बढी मानिसहरू त्यस्तो कार्यमा संलग्न छन्।

सरसफाइ कर्मचारी

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, हजारौँ भारतीयहरूले नाली र सेप्टिक ट्याङ्क हातैले सफा गर्छन्

नाली वा ढलमा विषाक्त ग्यासका कारण निसास्सिएर मृत्यु हुने उमेश र मोसेसजस्ता थुप्रै मानिसहरूको मृत्यु भएको विवरण भारतका विभिन्न सहरहरूबाट आउने गर्छ। गत जुलाईमा सरकारले विगत पाँच वर्षमा नाली सफा गर्ने क्रममा ३३९ जना मानिसहरूको मृत्यु भएको जनाएको थियो।

सरसफाइ कर्मचारीहरूको अवस्था हेर्ने सरकारी निकाय सफाइ कर्मचारीहरूको राष्ट्रिय आयोग (एनसीएसके)को एक प्रतिवेदनअनुसार सन् १९९३ देखि सन् २०२० सम्ममा ९२८ नाली सफा गर्ने मानिसहरूको मृत्यु भएको थियो। त्यसरी मृत्यु हुनेमा गुजरात र तामिलनाडु राज्यका धेरै छन्।

यो सङ्ख्या पनि कम हुन सक्छ किनभने धेरै मानिसहरूको जिम्मेवारी अधिकारीहरू वा ठेकेदारले लिएका हुँदैनन्।

"फलस्वरूप, राज्य प्रशासनले यी मृत्युहरूको गणना कहिल्यै पनि गर्दैन र कसैले क्षतिपूर्ति पनि पाउँदैनन्," एनसीएसकेले आफ्नो प्रतिवेदनमा भनेको छ।

प्रदर्शन

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, हातैले नाली सफाइ गर्ने कामको विरोधमा थुप्रै प्रदर्शनहरू हुँदै आएका छन्

समाधानका लागि 'अपर्याप्त' प्रयास

सफाइ कर्मचारी आन्दोलनका राष्ट्रिय संयोजक बेजवाडा विल्सनले सफाइ कर्मचारीको यकिन सङ्ख्या कति छ भनेर गणना गर्न सरकारले इच्छाशक्ति नदेखाएको बताएका छन्।

"सरकारले त्यस्ता कर्मचारीको सङ्ख्या गणना गर्न प्रहरीहरू नियुक्त गरेको छ। तर धेरै मानिसहरू आफू नाली सफा गर्छु भन्ने कुरा बताउन चाहँदैनन् त्यसैले पनि सङ्ख्या भएको भन्दा कम हुन आउँछ," उनले भने।

सत्तारूढ भारतीय जनता पार्टीको भ्रातृ सङ्गठन शेड्यूल्ड कास्ट फ्रन्टका अध्यक्ष लालसिंह आर्याले भने त्यस्तो कुरा अस्वीकार गर्दै सरकारले हातैले नाली र ढल सफा गर्ने काम उन्मुलन गर्न इमानदार प्रयास गरेको बताएका छन्। ('शेड्यूल्ड कास्ट्स' भनेको विगतदेखि नै सुविधाहरूबाट वञ्चित रहेको समुदाय हो जसमा धेरैजसो यस्तै सरसफाइ गर्ने मानिसहरू पर्छन्।)

"सरकारले ढलहरू सफा गर्नका लागि नयाँ प्रविधि अपनाउन बजेट छुट्टाउने गरेको छ र सफाइको काम गर्ने मानिसलाई रोजगारीको अर्को विकल्प दिने व्यवस्था गरेको छ," उनले भने।

"तर यो अभ्यास अझै बाँकी छ भने थप कदमहरू चाल्नैपर्ने देखिएको छ," आर्याले भने।

अभियानकर्मीहरूले लगाएका आरोपहरूबारे सामाजिक न्याय र सशक्तीकरण मन्त्रालयलाई बीबीसीले इमेलमार्फत गरेको प्रश्नमा कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

राज्य सरकारहरूले मशीनले फोहोर हटाउने र सुरक्षा सामग्री लगाउने कुरामा जोड दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानले यो विषयलाई करिब एक दशकअघि मूलधारमा ल्याइदिएको थियो तर अभियानकर्मीहरूले अझ धेरै गर्न बाँकी रहेको बताउँदै आएका छन्।

धेरै ठेकेदार र सङ्घसंस्थाले कामदारहरूलाई सुरक्षाका लागि लगाउनुपर्ने सामग्री लगाउन दिँदैनन् वा उनीहरूसँग सफाइ गर्ने यन्त्र हुँदैन।

ढलहरू पनि मशीनले सफा गर्न मिल्ने गरी बनाइएका हुँदैनन्।

क्षतिपूर्तिको लामो पर्खाइ

रत्नाबेन

तस्बिर स्रोत, PAVAN JAISWAL/BBC

तस्बिरको क्याप्शन, रत्नाबेनले आफ्नो पतिको मृत्युपछि पाउनुपर्ने क्षतिपूर्ति अझै पनि नपाएको बताइन्

नाली सफाइका क्रममा आफन्त गुमाउने परिवारहरूले क्षतिपूर्तिका लागि लड्नुपर्ने अभियानकर्मीहरू बताउँछन्।

"मैले धेरै परिवारका सदस्यहरू भेटेको छु जसलाई क्षतिपूर्ति दिने भनिए पनि उनीहरूले पाएका छैनन्," मानव गरिमा नामक गैरनाफामूलक संस्था चलाउने अभियानकर्मी पुरुषोत्तम भाघेलाले भने।

रत्नाबेन त्यस्तैमध्येकी एक हुन् जसका पति शम्भुभाइको सन् २००८ मा विषाक्त ग्यासका कारण गुजरातको अहमदावाद सहरको एउटा निजी कारखानामा ज्यान गएको थियो।

त्यसको १५ वर्ष भइसक्दा पनि उनले अझै जिल्ला प्रशासनबाट आफूलाई दिने भनिएको क्षतिपूर्ति पाउन सकेकी छैनन्।

"जब मेरा पतिको निधन भयो, मलाई पैसा, सरकारी जागिर, घर र बच्चाहरूका लागि राम्रो विद्यालयको सुविधा दिने भनेर ठूला वाचाहरू गरिएका थिए। तर त्यो कुर्दाकुर्दै म बुढी भइसकेँ," फोहोर उठाउने रत्नाबेनले भनिन्।

उनले लगाएका आरोपबारे बीबीसीले सोधेको प्रश्नको अहमदाबादका जिल्ला सङ्कलकले कुनै प्रतिक्रिया जनाएका छैनन्।

सफाइ कामदारले हातैले ढल सफा गर्ने काम छोड्न चाहे पनि जातीय विभेद र हेयभावका कारण उनीहरूले त्यो छोड्न नसकेको विल्सन बताउँछन्।

"यसले गर्दा उनीहरूले गुजाराका लागि अर्को विकल्प पाउने भए पनि सामाजिक पुनरुत्थान थप कठिन बनाएको छ," उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।