पोप बेनेडिक्टप्रति भ्याटिकनमा अन्तिम श्रद्धाञ्जली प्रकट गर्ने क्रम सुरु

तस्बिर स्रोत, Reuters
भ्याटिकनमा राखिएको भूतपूर्व पोप बेनेडिक्ट सोह्रौँको शवमा दशौँ हजार मानिसहरूले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने अपेक्षा गरिएको छ।
नयाँ वर्षको अघिल्लो दिन उनको ९५ वर्षको उमेरमा निधन भएको थियो।
कमजोर स्वास्थ्य अवस्थाका कारण उनले झण्डै एक दशकअघि आफ्नो पदत्याग गरेका थिए।
बिहीवारको अन्तिम संस्कार कार्यक्रमको नेतृत्व पोप फ्रान्सिसले गर्नेछन्।
योसँगै कुनै पोपलाई उनका उत्तराधिकारीले समाधिस्थ गरेको घटना यो नै पहिलो हुनेछ।
भावपूर्ण श्रद्धाञ्जलि

तस्बिर स्रोत, VATICAN PRESS OFFICE
भ्याटिकनमा बिहानैदेखि सेन्ट पिटर्स स्क्वायरको छेउछाउ मानिसहरू पङ्क्तिबद्ध हुन थालेका छन्। त्यसको सुरुमै थिए फिलिपिन्सका ३० वर्षीय फादर अल्फ्रेडो इल्नर।
पूर्वपोपका सैद्धान्तिक विचारहरूको अध्ययन र त्यसबाट मोहित भएको बताएका उनले बेनेडिक्ट सोह्रौँको मृत्युसँगै शून्यता महसुस गरेको बताए।
पङ्क्तिको केही पछाडिपट्टि सिस्टर मरिआना प्याट्रिसिभिक थिइन्।
क्रोएसियाकी नन् उनले दिवङ्गत पोपको योगदानप्रति आफू कति धेरै धन्य भएको बताउँदै विश्वविद्यालयमा उनको विचारबारे छलफल नहुने कुनै विषय नभएको बताइन्।
अमेरिकाबाट आएका फादर रिचर्ड कुन्स्टले पोपको शव नजिक पुग्दा उनका लागि लागि प्रार्थना गर्नुका साथै आफ्नो देशमा क्यान्सरका कारण जीवनको अन्तिम क्षणमा रहेका एक साथीप्रति चमत्कार होस् भन्ने कामना गर्ने बताए।
ऐतिहासिक विगत

तस्बिर स्रोत, Reuters
सन् २०१३ मा बेनेडिक्ट सोह्रौँ ६०० वर्षपछि राजीनामा दिने पहिलो पोप बनेका थिए। उनले बिग्रँदो स्वास्थ्य अवस्थालाई त्यसको कारण बताएका थिए।
उनको शव सेन्ट पिटर्स ब्रासिलिकामा खुला शव पेटिकामा राखेर तीन दिनका लागि देखाइनेछ।
त्यहाँ प्रत्येक साँझ ७ बजेसम्म मानिसहरूलाई उनीप्रति सम्मान व्यक्त गर्न दिइनेछ।
भूतपूर्व पोपलाई ब्रासिलिकामुनि समाधिस्थ गरिनु अघिको अन्तिम संस्कार समारोह सेन्ट पिटर्स स्क्वायरमा हुनेछ।
आइतवार भ्याटिकनले उनको शवका तस्बिरहरू सार्वजनिक गरेको थियो। जसमा उनी शोकमा लगाइने विशेष पहिरनसाथ देखिएका थिए।
संसारभरबाट उनीप्रति सम्मान व्यक्ति गरिँदैछ र अन्तिम संस्कार समारोहमा हजारौँको भिड जम्मा हुने ठानिएको छ।

तस्बिर स्रोत, Reuters
विश्वभरिबाट सम्मान
यसअघि सन् २००५ मा अन्तिम पटक पोप जोन पोल द्वितीयको अन्तिम संस्कार समारोह आयोजना हुँदा इतिहासकै सबैभन्दा विशालमध्येको एक इसाई भेला आयोजना भएको थियो।
त्यसमा सहभागी हुन झण्डै ४० लाख मानिसहरू रोम पुगेका थिए।
भ्याटिकनका प्रवक्ता माटिओ ब्रुनीले पत्रकारहरूलाई बताए अनुसार बेनेडिक्टले आफ्नो अन्तिम संस्कार सामान्य रूपमा होस् भन्ने चाहेका थिए।
अतिथिहरूको सूची अझै सार्वजनिक गरिएको छैन तर भ्याटिकनले त्यसमा इटली र बेनेडिक्ट जन्मिएको देश जर्मनीका प्रतिनिधिमण्डल समावेश हुने जनाएको छ।
पोप फ्रान्सिसले आफ्ना "प्रिय" पूर्ववर्तीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले भूतपूर्व पोपको "गिर्जाघरप्रतिको जीवनभरको प्रतिबद्धता"को प्रशंसा गरे।
इटलीका प्रधानमन्त्री जोर्जु मुलोनीले उनलाई "इतिहासले कहिल्यै नबिर्सने एक महान् व्यक्ति" बताएका छन्।
विश्वको सबैभन्दा ठूलो क्याथोलिक देश ब्रजिलमा नवनियुक्त राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले "पवित्र फादरका अनुयायी तथा प्रशंसकहरूप्रति समवेदना" प्रकट गरेका छन्।
पोप बेनेडिक्ट एकजना विवादित पात्र थिए र केहीले उनलाई पादरीहरूमाथि लागेका यौन दुर्व्यवहारका आरोपसँग जुझ्न असफल भएको भन्दै आलोचना समेत गर्छन्।

तस्बिर स्रोत, Reuters








