दशैँ: वृद्धाश्रममा न्यास्रिन्छन् वृद्धवृद्धा

वृद्धवृद्धा
तस्बिरको क्याप्शन, आफन्तकोमा जाने ठाउँ नभएपछि कतिपय वृद्धवृद्धा वृद्धाश्रममा नै दशैँ मनाउँछन्।

वर्ष दिनको दशैँ मनाउन सबै आ-आफ्नो घर जाने गर्दछन्।

तर चितवनको देवघाट वृद्धाश्रममा रहेका केही वृद्धवृद्धाहरूले वृद्धाश्रममा नै दशैँ मनाउने गरेका छन्।

कौवालाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तै वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूको निम्ति वर्ष दिनको चाड खल्लो हुने गरेको छ।

आफन्तकोमा जाने ठाउँ नभएपछि वृद्धाश्रममा नै दशैँ मनाउने गरेकी मकवानपुरकी तुलसादेवी पराजुलीले भनिन् "यहाँ दशैँ मनाउन नानीले जमरा लाउनुहुन्छ। अनि सबैजना मिलेर टिका लगाउने गर्छौँ त्यहीँ हलमा बसेर।"

सम्झना

देवघाटको चितवनतर्फ दुईवटा र तनहुँतर्फ एउटा गरी तीनवटा वृद्धाश्रम सञ्चालित छन्।

ती वृद्धाश्रममा करिब १ सय वृद्धवृद्धाहरू रहेका छन्।

चाडबाडको बेलामा आफन्त, माइत र आमाबुवाको याद आउने गरेको नवलपुरकी दुर्गा लामिछानेले बताइन्।

बृद्धबृद्धा
तस्बिरको क्याप्शन, घरमा मनाएका विगतका दशैँहरू सम्झँदै वृद्धाश्रममा न्यास्रिन्छन् कतिपय वृद्धवृद्धाहरू।

उक्त वृद्धाश्रममा बाल विधवादेखि छोराछोरी नभएका वृद्धवृद्धाहरू रहेका छन्।

विगतको दशैँ

उक्त वृद्धाश्रममा रहेका लमजुङका श्यामबहादुर थापाले विगतको दशैँ सम्झँदै भने "घरमा माछामासु, तरकारी खाइन्थ्यो। अब तीर्थको खाना खान थालियो। ती सबै छाडियो।"

वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई दशैँको बेला वृद्धाश्रमले नै दशैँ मनाउने व्यवस्था मिलाउने गरेको रोटरी करुणालय देवघाटका व्यवस्थापक दिल्लीप्रसाद ढुंगानाले बताए।

उनले भने "जसको कोही छैनन् उनीहरूका लागि हामी यहीँ जमरा लाएर दशैँ मनाउने व्यवस्था गर्छौँ। तर दशैँको माहोलमा त्यति चहलपहल भने हुन्न।"

वर्ष दिनको चाडबाडमा आफन्तसँगको विछोडले वृद्धवृद्धाहरूले न्यास्रो मान्ने गरेको उनले बताए।