चीनमा बढे एचआईभी सङ्क्रमित र एड्स रोगी

चीन

तस्बिर स्रोत, Science Photo Library

चीन सरकारले आफ्नो देशमा एचआईभी सङ्क्रमित र एड्स लागेका मानिसहरूको सङ्ख्यामा १४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार आठ लाख २० हजारभन्दा बढी मानिस त्यसबाट प्रभावित भएका छन्।

सन् २०१८ को पहिलो तीन महिनामा मात्रै एचआईभीका ४० हजार नयाँ सङ्क्रमित थपिएका छन्।

तीमध्ये अधिकांशमा यौनसम्बन्धबाट सङ्क्रमण भएको पाइएको छ।

कारण

यो विगतको भन्दा सङ्क्रमण हुने कारणमा आएको परिवर्तन हो।

सामान्यतया पहिला-पहिला चीनका केही भागमा रगतबाट एचआईभीको सङ्क्रमण हुने गर्थ्यो।

तर अहिले मानिसहरूमा त्यसरी सङ्क्रमण हुने क्रम लगभग शून्यमा झरेको युनान प्रान्तमा आयोजित एउटा पत्रकार सम्मेलनमा चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताए।

चीन

तस्बिर स्रोत, Getty Images

यद्यपि वर्षैपिच्छे एचआईभी सङ्क्रमितहरूको सङ्ख्या एक लाखले बढ्ने गरेको पाइएको छ।

सुरक्षा

चीनमा यौनसम्बन्धबाट एचआईभी सङ्क्रमण समलिङ्गी तथा तेस्रोलिङ्गी मानिसहरूमाझ प्रमुख विषयको रूपमा रहिआएको छ।

सन् १९९७ मा त्यहाँ समलिङ्गी सम्बन्धलाई आपराधिक कृत्य नमान्ने नियम आयो, तर समलिङ्गी तथा तेस्रोलिङ्गीप्रतिको विभेद चाहिँ बढेको बताइन्छ।

अध्ययनहरूका अनुसार एकअर्कासँग शारीरिक सम्बन्ध बनाएका ७० देखि ९० प्रतिशत पुरुषहरू अनुदारवादी मूल्य-मान्यताका कारण अन्त्यमा महिलासँग नै बिहे गर्ने गरेको देखिएको छ।

त्यस्ता शारीरिक सम्बन्धमा पर्याप्त सुरक्षा नअपनाइँदा सङ्क्रमण फैलिने गरेको बताइन्छ।